राजेश घिमिरे
भरतपुर, ४ मंसिर
धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्दै गर्दा स्थानीयबासीले निर्माण स्थलमा डोजर चलाए । उनीहरु चाहन्थे रंगशाला निर्माण गर्दा आफ्नो घरजग्गामा कुनै क्षति नपुगोस् । रंगशाला निर्माणका लागि छुट्याइएको जमिनलाई टिनको बारले घेरेर अहिले चालू अवस्थामा रहेको सडकलाई स्थानीयबासीको जमिन काटेर फराकिलो बनाउने योजना बनेपछि स्थानीयबासी आक्रोसित बनेका थिए ।
रंगशाला निर्माणस्थल रहेको क्षेत्रमा अब स्थानीय निकायको उपनिर्वाचन हुँदैछ । भरतपुर महानगरपालिका वडा नम्बर १६ का निर्वाचित अध्यक्षको निधन भएपछि रिक्तस्थानमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । निर्माणाधीन रंगशालाका कारण पीडित बनेको बताउँदै आएको समूहले उक्त निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको छ । रंगशालामासँग जोडिएको सडकको छेउमा १८ परिवारको बसोबास छ । यीमध्ये प्रायः परिवारका सदस्यले रंगशालामा डोजर चलाएको मुद्दामा तारेख धाइरहेका छन् । उनीहरु आफूले त निर्वाचन बहिस्कार गर्ने मनस्थिति बनाइसके, वडाका अन्य मतदातालाई पनि यस पटक निर्वाचनमा कसैलाई पनि भोट नहाल्न आग्रह गर्दैछन् ।
पछिल्लो स्थानीय निर्वाचनमा कम्युनिष्ट पार्टीका उम्मेदवारलाई भोट दिएका स्थानीय श्याम अधिकारीले यसपालि भोट नदिने मनस्थिति बनाएका छन् । “मैले त भोट नदिने मनस्थिति बनाइसकें । सडकका कारण पीडित बन्दै गरेका १८ वटै परिवार भोट नदिन सहमत भइसकेका छौं”, उनले भने, “हामी वडाका अन्य मतदाताकोमा पनि पुगेर भोटको औचित्य नभएको बताइरहेका छौं ।” उनले अमूूक राजनीतिक पार्टीको विरोधभन्दा पनि प्रवृत्तिको विरोधमा पीडित परिवार लागेको बताए । उनका अनुसार रंगशालामा डोजर लगाएको घटनापछि प्रहरी नियन्त्रणमा परेर मुद्दा चलाइएपछि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतले स्थानीयको घरजमिनमा कुनै क्षति नपुग्ने गरी डीपीआर निर्माण गर्ने आश्वासन दिएका थिए । तर, डीपीआरले रंगशाला बाहिरको सडकबारे केही नबोलेपछि स्थानीय आक्रोशित छन् ।
रंगशालाबाट पीडित बनेको बताउने स्थानीयमध्ये अधिकांश कम्युनिष्ट पार्टी सम्बद्ध छन् भने केही अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गरेका पनि छन् । उनीहरु सबैको एक स्वर छ–“हाम्रो भावना नबुझ्नेलाई भोट किन दिने ?” अधिकारीले ‘नो भोट’ अभियानमा स्थानीयबासीको सकरात्मक प्रतिक्रिया पाएको दाबी गरे । “वर्षौंदेखि आफ्नो पार्टी भनेर लागिपर्दै आइयो । अहिले आएर त्यही पार्टीले आफैंलाई थुन्यो”, उनले थपे, “थुन्नेलाई किन चुन्ने ?”
स्थानीय रमेश घिमिरेले पनि यसपालि भोट नदिने सोच बनाएका छन् । उनको परिवारका एक सदस्य पनि रंगशालामा डोजर लगाएको घटनामा पक्राउ परेका थिए । “बाटोको विषयमा केही निर्णय होला भन्ने सोचेका थियौं”, उनले भने, “केही पनि नभएपछि यसपालि भोट हालिन्न होला ।” विगतमा नेपाली कांग्रेसलाई भोट दिएकाहरुसमेत यसपालि भोट दिनुको अर्थ नरहेको भन्दै ‘नो भोट’ अभियानमा आन्तरिकरुपमा सक्रिय भएका छन् ।
रंगशाला भत्काएको विषयमा मुद्दा चलाइएका उनीहरुको आगामी तारेख मंसिर २९ गते छ । धुर्मुस–सुन्तली फाउण्डेसनले दिएको उजुरीको आधारमा तोडफोडमा संलग्नमाथि मुद्दा दर्ता गरिएको थियो । फाउण्डेसनले मुद्दा फिर्ता लिएपनि रंगशालाको आडमा रहेको सडक छेउमा घर भएकाहरुलाई तारेखमा बोलाइएको भन्दै स्थानीयबासीले पीडितलाई मुद्दा लगाएर झन् पीडित बनाइएकाले निर्वाचनमा सहभागी हुनुको अर्थ नभएको निष्कर्षमा पुगेको बताए ।
भोट माग्न पुगेका नेपाली कांग्रेसका उम्मेदवार अमृत हमाललाई रंगशाला पीडितहरुले रंगशाला र सडकको विषयमा पार्टीको लिखित आधिकारिक निर्णय लिएर आउन सुझाउँदै फर्काइदिएका थिए । “निरन्तरताको क्रमभंग गर्ने समय यही हो”, एक स्थानीयले भने, “नत्र जनतालाई जे गरे पनि हुन्छ भन्ने नजिर स्थापित हुँदै जान्छ ।” तत्कालीन नेकपा एमालेका उम्मेदवारलाई मतदान गरेका एक स्थानीयले मनले नचाहँदा नचाँहदै पनि यसपालि आफ्नै पार्टीलाई हराउन लाग्नुपर्ने बाध्यता आइलागेको बताए । “सकेसम्म कसैलाई भोट नदिन र दिइहाले पनि नेकपालाई नदिन आग्रह गर्दै अभियान चलाएका छौं”, उनले भने । उनले नेपाली कांग्रेस जिम्मेवार राजनीतिक दल भएरपनि यस विषयमा आधिकारिक धारणा ल्याउन नसकेकाले उसलाई भोट दिनुको पनि अर्थ नरहेको टिप्पणी गर्दै भने, “हाम्रो समस्या नसुन्नेलाई भोट दिएर के काम ?”
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले निर्वाचन बहिस्कार घोषणा गरिसकेको छ । उक्त पार्टीका कार्यकर्ताले पनि भमनपा–१६ मा ‘नो भोट’ अभियान चलाइरहेका छन् । उनीहरुले पनि रंगशाला निर्माणको क्रममा भएको विवाद देखि विकास निर्माणमा भएका अलमललगायतका विषयलाई मुद्दाको रुपमा उठाउँदै कुनैपनि पार्टीले जनताको एजेण्डा बोक्न नसक्ने भन्दै मतदान बहिस्कार गर्न आह्वान गरिरहेका छन् ।





