धु्रवराज खनाल
रत्ननगर, ३० कार्तिक
जंगली जनावरबाट हुने सम्भावित क्षतिको बीमा सुरु भएको छ । रत्ननगर नगरपालिकाको नेतृत्वमा स्थानीय बाघमारा मध्यवर्ती सामुदायिक वन, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र अर्थ इन्स्टीच्युटको साझेदारीमा बीमा कार्यक्रम सुरु गरिएको हो । मध्यवर्ती क्षेत्र वरपरका विपन्न वर्गलाई लक्षित गरि यो कार्यक्रम सुरु गरिएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले बताए । पहिलो चरणमा सौराहा नजिकै रहेको बद्रेनीका १ सय ४९ घरका लागि बीमा गरिएको उनले बताए ।
जंगली जनावरबाट हुने मानवीय, भौतिक, घर पालुवा जनावर, बालीनालीको क्षतिको बीमा गरिएको हो । शिखर बीमा कम्पनी मार्फत बिमा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाको २५ प्रतिशत, अर्थ ईस्टिच्युटको २५ प्रतिशत, बाघमारा मध्यवर्ती सामुदायिक वन र मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको २५ प्रतिशत र उपभोक्ताको २५ प्रतिशत गरि ७ लाख २५ हजारको बिमा गरिएको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले बताए ।

बीमा कार्यक्रम मार्फत व्यक्तीको मृत्यु भएमा १० लाख, घाईते भएमा १ लाख घर तथा भौतिक संरचनामा क्षती भएमा १० लाख, घरपालुवा जनावरको मृत्यु भएमा १२ देखि ४० हजार सम्म र बालिनालीमा क्षती भएमा क्षति भएको ७५ प्रतिशत बिमा मार्फत राहत पाउने छन् । मध्यवर्ती क्षेत्रका बासिन्दाहरु घाँस दाउरा गर्न जंगल जाँदा जंगली जनावरको आक्रमणबाट मृत्यु भएमा कतैबाट राहात नपाउने भएपछि यस्तो कार्यक्रम सुरु गरिएको हो ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनका अनुसार वन्यजन्तु र मानव बीचको द्वन्द न्यूनिकरण गर्न यो कार्यक्रमले योगदान पु¥याउने छ । “जंगल जाँदा मानिस घाईते वा मृत्यु भएमा कहि कतैबाट राहात पाउदैनथे, अब यो कार्यक्रमले राहात मिल्ने छ”, मेयर वनले भने, “पहिलो चरणमा वद्रेनीका बासिन्दामा गरेपनि विस्तारै मध्यवर्ती क्षेत्रका अन्य क्षेत्रमा विस्तार गरिने छ ।” ३ नम्वर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले वद्रेनीका स्थानीयलाई बीमा लेख हस्तान्तरण गरेका थिए ।
सो अवसरमा मुख्यमन्त्री पौडेलले बीमा कार्यक्रमले स्थानीयलाई संरक्षणमा अझ जागरुक बनाउन मद्यत गर्ने भन्दै यसमा स्थानीयलेनै स्वामित्व लिनु पर्ने धारणा राखे । रत्ननगरका मेयर नारायण वनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश साँसद कृष्ण प्रसाद खनाल,मुख्यमन्त्रीका प्रमुख राजनितिक सल्लाहारका जेएन थपलिया, नेपाली कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरे, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती, रत्ननगर ७ का वडाध्यक्ष राजन भट्ट, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुंगाना,अर्थ इन्स्टीच्युटका प्रतिनिधी अनुपमा पन्त लगायतले मन्तव्य राखेका थिए ।





