क्रुरता बाधक हो – बिवु

लेखराम सापकोटा

युवा लेखक नानी बिवु जन्मजात अल्पदृष्टीविहिन हुन् । उनका आँखाका नानी हल्लिइरहन्छन्, यसकारण पनि उनको आँखाको थप उपचार संभव छैन । उनी आँखाको साहराले सोझै पढ्न सक्तिनन् । कुनै पनि किताबलाई मोबाइलको क्यामेराले फोटो लिन्छिन् र जुम गरेर पढ्ने गर्छिन् । उनले आफ्नो अप्ठ्यारो सुनाइरहँदा दुई सय बढी संख्याको माहोल चुपचाप उनलाई सुनिरहेको थियो । पैंतीस हजारभन्दा बढी शब्दको उपन्यास उनले मोबाइलमै लेखिन्, त्यो पनि बडो कष्टका साथ । लेख्न पढ्न उनलाई भनेजस्तो सजिलो छैन । निकै नै दु:खकष्ट झेलेर तयार गरेको उनको उपन्यास `अनुक्रोश´ को शनिबार विमोचन गरिएको छ । गैंडाकोटस्थित होटेल द नारायणीमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी, गैंडाकोट नगरपालिकाकी उपप्रमुख बिष्णुमाया कँडेल सापकोटा, स्रस्टाहरु शान्ति शर्मा, तर्कना शर्मा, बिएन पुस्तक संसारका सूर्य बिसी र लेखक नानी बिवुले संयुक्तरूपमा पुस्तकको विमोचन गरे ।


विमोचन लगत्तै उपन्यासकार बिवुले समाजमा मुखले जे भने पनि व्यवहारमा नारीप्रति नारी नै बढ्ता क्रूर हुने धारणा राखिन् । उनले ‘अनुक्रोश’ उपन्यासमा यस कुराको यत्रतत्र पुष्टि गरेकी छन् । यसले नारीलाई अगाडि बढ्न बाधा पुग्ने उनले बताइन् । पुस्तकमाथि शान्ति शर्मा र तर्कना शर्माले टिप्पणी राखे । तर्कना शर्माले समाजसँग लड्नु परेका अन्तर्द्वन्द्वका कथालाई पुस्तकमा राम्रोसँग उतारिएको बताइन् । महिनावारी, छुवाछूत, बिरालोले बाटो काट्ने जस्ता अन्धविश्वासलाई उपन्यासको कथामा उनिएको छ । अर्का समीक्षक शान्ति शर्माले पुस्तकमा शाश्वत प्रेमलाई विजयी गराएर लेखकले प्रेमको सम्मान गरेको बताइन् । गैंडाकोट नगरपालिकाकी उपप्रमुख बिष्णुमाया कँडेल सापकोटाले हरेक व्यक्तिभित्र केही न केही क्षमता भए जस्तै नानीमा पनि अद्भुत क्षमता भएको दाबी गरिन् । नानीको सिर्जनात्मक विकासका लागि उनले नगरपालिकासँग पहल गरेर सहयोग उपलब्ध गराउने वचन दिइन् । प्रमुख अतिथि रहेका गोविन्दराज बिनोदीले उपन्यासको सुरुवात बेदनामय भए पनि सुखान्त भएको बताए । बिनोदीले बिवुको साहसको निरन्तरताको कामना गरे । पुस्तकका सन्दर्भमा बोल्दै डा. मतिप्रसाद ढकालले उपन्यासले नेपालको शैक्षिक सन्दर्भ कस्तो छ भन्ने कुरालाई पनि समेटेको बताए । कुलतले समाजलाई कता तिर लैजाँदै छ भन्ने बिसयमा लेखक बिवुले बडो मेहनतका साथ लेखेको ढकालले बताए । डा. एकनारायण पौडेलले पुस्तकमा अस्तित्ववादी सोचलाई समेटेर लेखकले उपन्यासलाई बलियो बनाएको दाबी गरे । कार्यक्रम बिएन पुस्तक संसारको आयोजना र सम्पूर्ण किताब नारायणगढको व्यवस्थापनमा गरिएको थियो । अनुक्रोश बिवुको पहिलो कृति हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट