
‘लो री पवनहरीह काथा सुने यावह, यापन दुधपुत लेले । लो री पवनहरीह काथा सुने बैठह, यापन दुधपुत लेले ।’ — धनुबाण तेर्साउदै, फलाक्दै तीन पटकसम्म जग्गेको फन्का लगाए गाउँका सम्हनीया । धेरै सामग्रीले सजिएको थियो जग्गे । पीपलको हाँगालाई गाडेर पीपलको रुखको परिकल्पना गरिएको थियो । बाँसका चोइलाबाट बनाईएको चराको गुँडझै देखिने वस्तु पीपलको हाँगामा झुण्ड्याइएको थियो । सोही गुँडमा चिलको परिकल्पना गरी बनाईएको माटाको डल्लो पनि राखिएको थियो । स्याल्निको प्रतिक माटोको डल्लोलाई चाहि त्यहीँ पीपल फेदमुनी राखिएको थियो । हामी सबै व्रतालुहरु सोही जग्गे वरिपरि कथा सुन्नभनी डमाडम बसेका थियौ । केहीछिनमै जिम्दारबा आएर आमुन्ने सामुन्ने हुनेगरी बसे । अनी सुरु भयो तिनका मुखारबिन्दबाट जितियाको कथा । “एका परिकल्पनामा उचरिङवा दानो र मुसरीया दानोले गाउँ बसाँउदै थिए । आफ्नो घर बनाउनका लागि घरसाङ्हा ल्याउन उ वनतिर जाँदै थियो । उचरिङवा दानोलाई खोला तरेर वन जाँदै गरेको सोही खोलामा नुहाउन मेसो गर्दै गरेको मुसरिया दानोले देख्यो र बोलाउदै भन्यो, “कल्की से उचरिङवा दानो कहाँ जादै हो ?” खोला तर्दै गरेको उचरिङवा दानो टक्क रोकियो र भन्यो, “कल्की से मुसरिया दानो मोई वन जादै छु, घरसाङ्हा ल्याउनलाई ।”
— ‘मोरलागि दतियोन ल्याईदेऊ है ।’
— ‘यपने घरकलागि खाम्हा, बेलसी, खर, पाट ल्याउदैमा धरमर हुन्छ, कसरी तेरो लागि दतियोन ल्याउँ म ?’
— ‘ल्याएनस् भने यतिकुरा बुझ् । तेरो घरसाङ्हा काटेर दतियोन बनाउछु म ।’ बेवास्ता गर्दै उचरिङवा दानो खोलो त¥यो । वन पुगेर आफ्नो घर बनाउन चाहिनेजति सामग्री बोकेर फर्कियो । खोला किनारमा मुसरिया दानो कुरेर बसेको थियो । नभन्दै दतियोन ल्याएको हुँदैन उसले । दुवै बिच भनाभन भयो । आक्रोशित हुँदै दुवै पैठेजोरी खेले । उचरिङवा दानोले मुसरीयादानोलाई मार गिरायो । मुसरिया दानोको छाला काढेर आफ्नो गाउँको क्षेत्रफल विस्तार ग¥यो र शहरमा परिणत पनि । त्यहि शहरका राजमा दरिएका थिए हर्दत कुँवर । हरदत कुँवरका छोरा शिवदत कुँवरको बिहे हुने प्रसंग बाट कथाले मूल रुप लियो । राजाले आफ्ना नजिकका सबै प्रजालाई मदिरा बनाउनका लागि चामलका कनिका पठाएका हुन्छन् तर आफ्नै नजिककै छिमेकी मस्वासी बुढीलाई फंचका अर्थात् कनिका पठाउन भुलेका थिए । भोली जस्तो बिवाह, आज मात्रै ती बुढीलाई पंmचका पठाउँछन् । सो पंmचका, सुकाईवरी पकाए पश्चात् मात्र मदिरा बनाउनका लागि योग्य हुन्छ । तर दुर्भाग्य, मस्वासी बुढीले फंचका सुकाउने बेलामै झरी पर्न सुरुग¥यो । त्यतिञ्जेल सम्ममा गाँउका सबैले दरवारमा मदिरा पठाई सकेका हुन्छन् । झरीले गर्दा मस्वासी बुढीबाट मदिरा बन्न असम्भव देखियो । मस्वासीलाई जसरी हुन्छ मदिरा बनाउनु थियो । फंचका सुकाउनकै लागि मात्रै भएपनि उनको आँगनमा घाम चाहिएको थियो । र त सूर्य भगवानसंग सेज भाकल गर्न बाध्य भइन् । सूर्य भगवानबाट बुढीको अनुनयको कदर भयो अनि मात्र फंचका सुकाउन सफल भईन् । जसै असम्भव सम्भवमा परिणत भयो । फलस्वरुप दरवारमा मदिरा पठाईन् । तर आफुले सूर्य भगवानलाई सेज भाकल गरेकोमा भित्रभित्रै डराईरहेकि थिईन् । भाकल गरे अनुरुप आफु सुत्ने ठाँऊ, घरअाँगन लिपपोत गरी चोख्याउनु पर्ने भयो । किनकि स्वयं भगवान त्यहाँ प्रकटभई उनीसंग एकरात विताउनेछन् । त्यसैको बन्दोवस्तको लागि आफू सुत्ने खटियाँमा दरी बिछ्याईन् सो माथि सुर्ती, तमाखु, पान, सुपारी आदि राखिन् । भगवान आउने बाटोमा खरानी छर्किन् । डरले आफू छिमेकीका घरमा बास बस्न गईन् । यता भगवान मध्यरातमा मस्वासी बुढीको आँगनमा प्रकट भए । छाप्रो भित्र प्रवेश गरे । तर मस्वासी बुढीलाई देखेनन् । त्यसपछि खटिया माथि राखिएको पान, तमाखु, सुपारी खाई भगवान बाहिरिए । सोचे, ‘मस्वासी बुढी भएको भए मनोकांक्षा पुरा हुनेगरी केहि बरदान दिनेथिए तर ठीकै छ केही न केही दिएरै जानुपर्छ ।’ त्यसपछि तिनै बुढीको छाप्रो पछाडि मुत्र बिसर्जन गरे अनि बिलिन भए ।
एकाविहानै मस्वासी बुढी आफ्नो छाप्रोमा आईन् । देखिन्, आपूmद्वारा छरिएका खारानीमा खराउका डामहरु । जसबाट भगवान आएको प्रमाणित भयो । भगवान आएका तर आपूm छाप्रोमा नरहेकोले ती बुढी मनमनै दुखी भईन् । पछुतो मान्दै, बिहानको खाना बनाउने तयारीमा जुटिन् । तर तिहुन पाईनन् । छिमेकमा तिहुनको लागि भनसुन गरिन् । कही पाईनन् । के उखमुखि भयो कुन्नी ! छाप्रो पछाडि गईन् । देखिन् हरियाँ लहलहाउदै गरेका लट्टेका साग । अकस्मात् ती साग देखेर बुढी छक्क परिन् । टिपिन् अनि केलाईवरी पकाएर भात संगै खाईन् ।”
“दिन बित्दै गयो । मस्वासी बुढीका पेट बढ्न थाले । गाँउलेहरुले सुईघुई गर्न थाले । बुढी बिचलित हुन थालिन् । कुनै अनिष्ट कदम पो उठाउने हो कि भनी भगवानलाई पनि सुर्ता भयो । बुढीको सपनामा आए, “छाप्रो पछाडी उम्रेको साग नै तिम्रो लागि बरदान थियो । तिम्रो पेटको सन्तान त्यसैको उपज हो । त्यसैले सम्हालेर राख, तिम्रो लागि एकदिन गाछि झै साथी र हाथिको लाठी बन्ने छ ।” भन्ने आकाशबाणीका साथ बुढी बिउझिन् र सोही गरिन् । फलस्वरुप एउटा बालकको आमा बनिन् । जुन बालक समयको रफ्तार भन्दा चाँडो बढ्दै गयो । बालक अत्यन्तै चमत्कारी, तेजश्वी, प्रतापी र वीर भएको खुलासा हुँदैगयो ।”
“एकदिन गोठालो जाँदा गोठालाहरु धनुबाँण हान्ने होडवाजी गर्दैथिए । आ–आफ्ना धनुबाट एउटा चिन्हमा बाँणहरु बर्षाउदै गरेका देखिए । तर कसैलेपनी त्यो चिन्हमा बाँण प्रहार गर्न सकिरहेका थिएनन् । जुन परैबाट मस्वासी बुढीका छोराले देखिरहेका थिए । ती बालकले बाँण प्रहारगर्दै गरेका केटाहरु नजिक गई भने, “मर्केफेनी एक मौका दे न रे । मोईपनि प्रयास गरी हेर्छु ।”
“यति सुनेपछि सबैले हाँसेर खिल्ली उडाउदै भने, “हामी त सके छैन । तोई कुन मर्दको बेटा होस् रे ! हाम्रोसंग मुकाबिला गर्न खोज्ने ?”
“कथिक मर्दको बेटा रे ! ए, इय त बिना बापक नणेठ (आयाकिएको) पो त ! तोई जाबो नाथे छुसी, पउलाले के सक्छस् रे ! अलि उता जा” भन्दै अर्कोले घच्यायो ।
अरु गोठाला केटाहरु अट्टाहाँस हाँस्न थाले ।
“दे न दे रे एकचोटी हेरो । इय कपुतले धनुबाण सही निसानामा प्रहार गर्न सक्छ कि सक्दैन ! हाम्पनि हेरो न रे” भन्दै त्यो हुलको एउटा नाईके केटोले नाकको पोर्रा फुलाउदै आफ्नो धनुबाँण थमाईदियो ।
जब त्यो केटोबाट बाँण प्रहार भयो । त्यहाँका सबै गोठालाहरु चकित भए । निसाना ठीक ठाउँमा लागेको थियो । त्यसपछि त झन के खोज्छस् कानो, आखो भैहाल्यो ! सबै गोठालाहरु ऊ माथिनै खनिए ।
‘ए पउला, (कपुत) ! तोर इय हिम्मत ! तोरसे यो कसरी सम्भव भयो हँ रे ?’
त्यस्तैमा नाईके केटोले उसको कठालो समात्दै भन्यो, “हाम्ले गर्न नसकेको काम तोई कसरी गर्न सकिस् रे ? तोई कुने होस् ? तोर कथी पहिचान छ रे ? कुन लडभङ्गाको छिर्का होस् ? लो कह् ! तोइलाई था छैन भने जा तोर महतारी(आमा)लाई सोध् । तोर बाप को हो ?”
………………………………………………………………..
साच्चै कटुसत्य ! को हुन् मेरा बा ? अहिले सम्म खोई मैले देखेको ! बाको मायाँ कस्तो हुन्छ ? खै मैले भोगेको ? मेरो पहिचान के हो ? गम्भीर सोचमा डुब्दै त्यो केटो आपूm आफै धनुबाँणरुपी प्रश्न चिन्ह बन्यो । घरमा पुगेपछि गोठालामा भएका बृतान्त रुँदै सुनायो । गोठालाहरुका सबै प्रश्नका बाँणहरु मस्वासी बुढीका छातीमा वर्सिए । आखिर ती बुढीका मुटु छियाछिया भइगए । रगतका छिटाका माध्यमबाट सत्य तथ्य छरपष्टिन थाले, “तोर बाप उनै हुन् जो बल्दै उठ्छन् र बल्दै डुब्छन् ।’ आकाश तर्फ देखाउदै, “उह् उनै हुन् तोर बाप । सूर्य भगवान् ।”
बलक हैरान हुँदै बोले, “मोई भेट्न चाहन्छु । मोर सबे प्रश्नका जबाफ उनैसे सुन्न चाहन्छु ।” हठ गरे बालकले । मस्वासी बुढीले छोरालाई जति सम्झाए पनि धरै पाइनन् । आखिर पठाउन बाध्य भईन् ।
बिहान सबेरै, बाटाछेउमा उम्रेका साग र कनिकाबाट बनेका खाजाको पोको बोकी मस्वासी बुढीका छोरा घरबाट बाहिरिए । लामोबाटो पार गर्दैगर्दा ती बालक, बालक रहेनन् केटोमा परिणत भए अनि केटोबाट वयस्क युवकमा पनि । यसैबिच बाटामा ती युवक, अनेक समस्यामा पिल्सिएका नर नारी, जीव जन्तु, वनस्पति आदि संग जम्काभेट हुँदै, तिनीहरुका बिलौना सुन्दै विभिन्न सन्देश बोकेर आफ्ना पिता सूर्य भगवानसँग भेट गर्न सफल भए । आफ्ना पिता सूर्य भगवानका दाहिने जाँघमा बस्दै स्वयं आफ्नो नाम र पहिचान मागे । बाटामा भेटिएका विभिन्न समस्याका निराकरण र तिनका लागि उपयोगी सन्देशहरु माग गरे । सूर्य भगवानले आफ्ना छोराको नामाकरण गर्दै जगत उपयोगी सन्देश दिए अनि छोरालाई बिदा गरे । पिताबाट आफ्नो नाम र पहिचान प्राप्त भएपछि ती युवक फुर्कदै घरतर्फको बाटो समाते । फर्कदै गर्दा बाटामा भेटिएका सबै नर नारी, जीव जन्तु, वनस्पतीका समस्याका समाधान बताउदै र आफ्ना पिताका सन्देश सुनाउँदै, “आफ्नो नाम जीतवाहन भएको र जीतीया पर्वको दिनमा यहि नामबाट आस्था अनि विश्वास पूर्वक व्रत बसेमा व्रतालुहरुका मनोकांक्षा पुराहुने वताए । र घरमा फर्के ।”
“आखिरीमा मस्वासी बुढीका छोरालाई उनको आफ्नै आँट, साहास र दृढ अठोटले पराक्रमी, तेजश्वी अनि विजयी बनायो । तिनै तेजश्वी युवकका पराक्रमको गाथा र सूर्य भगवानले पठाएको सन्देश बमोजिम सबै राज्यबासी जनमानसले जीतीया पर्व मनाँउदैछन् हालसम्मपनि । जीतवाहनको नाममा सम्पूर्ण नारीहरु जीतीया पर्वको व्रत बस्दैछन् जसरी तीमीहरु व्रत बसेका छौं । यो परम्परा सदियौ देखि चल्दै आएको हो । त्यसैले आफ्नो रीतीरिवाज, संस्कृति जोगाउदै जानुपर्छ, छोड्नु हुदैन” भन्दै हामी सबैतिर हेरे जिम्दारबाले । हामी सबैले मासको दालरुपी अक्षेता जग्गेतीर छक्र्यौ । जिम्दारबाले लोटाबाट पानी पिउँदै पुनः कथालाई अगाडि बढाए ।
यही जीतवाहनको नाममा राजा हरदत कुँवरका राज्यमा रहेका सम्पूर्ण नारीहरुले झै नजीकैको जंगलछेउमा बस्ने पोथी चिल र स्याल्निले पनि जितिया व्रत बसेका हुन्छन् । यी दुवैले जंगल छेउकै खोला नजिकै दुधाशंख पीपलको हाँगा र फेदमा आफ्ना बासास्थान बनाएका हुन्छन् । सबै नारीले झै यी दुवैले पनि उपासको अघिल्लो दिन नुहाईधुवाई गरी चोखो खाना खाएका हुन्छन् ।
उपासको दिन, एकाबिहानै हरदत कुँवरको चोला बदलियो । गाउँ शोक मग्न बन्यो । तैपनी गाउँका नारीहरु उपसमा थिए । चिलो र स्याल्नीले पनि केही नखाई आस्था पुर्वक उपासे । दिनभरी दुवैले लुकेर गाउँ–गाउँ चाहार्दै जितिया पर्वको झम्टा, बदहा गीतको रमाईलोमा समय व्यतित गरे । साँझ परेपछि बदहा र जितियाका गीत गुनगुन गर्दै आ–आफ्ना बासास्थानमा फर्के ।
उता त्यही नजिकै खोलामा हरदत कुँवरको लास जलिरहेको थियो । स्याल्नीको ओडारमा लासको गन्ध आईरहेको थियो । व्रत बसेकी स्याल्नी अब भोकाउन थालिन् ।
— “अरी चिलोदिदी रात कस्के काटके री ? बरु भुखवा बिस्रावके, बदहा गाओ न !”
— “बन्तई शीरीनीया बहिनी गाओ न तौ !”
“जब स्वामी जईबे पुरुवे रे वनिजिया
हरे ओतहिसे यानी रे दिहे टिकुली रे सनेसवा २
जाहुँ जुग जियबो रि धनि पलटी घर रे आई
हरि ओतहि से यानि रे देबो टिकुलि रे सनेसवा २
जाहुँ स्वामी जईबे रे पछिए रे बनिजिया
हरे ओतहुसे यानि रे दिहे कजरा सनेसवा २
जाहुँ जुग जियबो रे धनि पलटी घर आई
हरि ओतहिसे यानि रे देबो कजरा रे सनेसवा २
जब स्वामी जईबो रे उतरे बनिजिया
हरे ओतहिसे यानि रे दिहे चुरिया रे सनेसवा २
जाहुँ जुग जियबो रि धनि पलटी घर रि आई
हरि ओतहि से यानि रे देबो चुरिया सनेसवा २
जब स्वामी जईबे दखिने बनिजिया
हरे ओतहिसे यानि रे दिहे सिनुर रे सनेसवा २
जाहुँ जुग जियबो रि धनि पलटी घर रि आई
हरि ओतहि से यानि रे देबो सिनुर रे सनेसवा २”
ती दुबै दिदीबहिनी रातमा एक–आपसमा आ–आफ्नै स्थानबाट जितियाको बदहा गीत गाउदै रात गुजारेर बसिरहेका थिए । घरिघरी गप्पीसप्पी पनी मार्दै थिए । मध्यरात भयो । रात छिप्पी सकेकोले जल्दा जल्दैको लास छोडेर गाउँलेहरु गाउँ फर्के । यता स्याल्नी भोकले चुरचुर भएकी हुन्छे । रुखमाथी गुँडमा बसेकी चिलो दिदी जागेकै छिन् की निदाई सकिन् भनेर जाँच्न स्याल्नीले “चिलो दिदी ! चिलो दिदी !!’ भनी पुकारीन् । गुँडकी चिलो जागेकै भएपनी नसुने झै गरिन् । उसलाई आफ्नी बहिनी स्याल्नीको चर्तीकला हेर्नु थियो । चिल्लो नबोलेपछि स्याल्नीलाई दिदी निदाई सकेको आभाष भयो । सुटुक्क ओडारबाट बाहिरिईन् । खोलामा झम्लङ्ङ फाल हानिन् । जिउ भिजाइन् । अनि जल्दै गरेको लास माथि जिउ झट्कारिन । आगो निभ्यो । र लासलाई ओडारमा ल्याई पेटभरी खाईन् । माथि चिलोले सबै थाहा पाईरहेकी हुन्छिन् ।
केहि काल पश्चात् ती दुवै दिदीबहिनीको चोला बदलियो । सोही देशमा, राजाका पोखरीमा ती दुबै फुलभई उम्रे । चिल्लो रातो गुलाव भई फक्रईन् भने स्याल्नी सेतो कर्ची फूल । एकदिन राजा र मन्त्री पोखरीमा स्नानगर्दै गर्दा ती फूललाई देखे । राजाले रातो गुलावलाई र मन्त्रीले सेतो कर्चीलाई आ–आफ्ना कोठामा सजाए ।
जब राजा र मन्त्री राती निदाउँथे । ती दुई दिदीबहिनीले सुन्दर कन्यारुप धारणगरी आ–आफ्ना राजा, मन्त्रीका सेवामा जुट्थे । एक रात दुवै राजा र मन्त्रीले सुटुक्क चाल पाए । फूलबाट सुन्दर बाला धारण गरी राजा र मन्त्रीको सेवामा जुटे पश्चात् सधैं झै दरवारको सरसफाई, चुल्होचौकोको व्यवस्था गर्दै गरेको अवस्थामा राजा र मन्त्रीले आ–आफ्ना फूललाई बल्दै गरेको पानसमा झोसेर नष्ट गरे । ती बालाहरु पुनः आफ्नो रुपमा परिणत हुन सकेनन् र दुवैजना राजा र मन्त्रीका अर्धाङ्गीनि भई बसे । चिल्लो ‘रानी’ बनिन् भने स्याल्नी ‘मन्त्राणी’ । दिन वित्दै गयो । रानीका सातजना राजकुमार जन्मे सकुसल र हृष्टपुष्ट भई हुर्के तर मन्त्राणीका सन्तान जन्मदै मर्दै गरे । रानीका सात राजकुमार सकुसल तर आफ्ना सातैवटै नरहेकाले मन्त्राणीलाई सहिनसक्नु भयो । आफ्नी दिदी रानीसँग निहुँ खोज्न थालिन् । “होई न होई तोइले नै मोर सन्तान खाकी होस् ।’ भनी आरोप लगाउन थालिन् । रानीले बहिनीलाई धेरै सम्झाई बुझई गर्दापनि नमानेपछि आफ्ना राजकुमारहरु बहिनी मन्त्राणीलाई सुम्पिन चाहिन् । तैपनि मन्त्राणीले निहँु खोजीरहिन् । रानीले आपूmहरुका पूर्व जन्ममा भएका घटनाहरु सम्झाउँन खोजिन् । तै पनि बुझिनन् । आखिर उपाय नै लागेन । रानीले गाउँका सबै गाउँलेलाई भेला गराईन् । खन्नका लागि फरुवा र दुईजना रुख चढ्न सक्ने माहिरको व्यवस्था गरिन् । राजपरिवार र सम्पूर्ण मास जंगलतिर उर्ले । खोला तरेपछी जंगल सुरु हुँदाहुँदैको दुधाशंख पीपलको फेदमा पुगे । जहाँ ती दुवैका बासास्थान हुनेगथ्र्यो, पूर्व जन्ममा । सोही पीपलमाथी दुईजना रुखहरलाई चढ्न लगाईन् जहाँ चिलको गुँड रहेको थियो । र दुईजनालाई पीपलको फेद खन्न लगाईन् जहाँ स्याल्नीको ओडार थियो । दुवैकाम एकसाथ भयो । पीपल माथिबाट चिलको गुँड सकुसल झारियो । त्यहाँ मासका दाल हरिया भई मौलाएका थिए भने ओडार खन्दा हड्डी नै हड्डी मात्र भेटिए । रानीले आफ्नी बहिनी मन्त्राणीलाई त्यो सबै औल्याउँदै उसले पूर्व जन्ममा गरेको करतुतलाई चित्रपटमा देखाएझै गरी छर्लङ्ग परिन् । मन्त्राणीलाई, आपूm रीतिरिवाज र धर्मपालना गरी विधिवत व्रत नबस्नाले यो हविगत भोग्नुपरेको हो भन्ने प्रष्ट भयो । जसले तिनलाई घोर आत्मग्लानी बनायो । जुन सहनगर्न सकिनन्, मन्त्राणीको छाती फाटेर देहावसान भयो ।
अन्त्यमा जिम्दारबाले सबै व्रतालुलाई कुकर्म गरेमा कुभलो हुने र असल कर्म गरेमा भलो हुने सन्देश दिए र समापन गर्दै भने, “सुनलहरा–सुनलहरीके सोनक माला, हुकलहराके हुकाक माला, कहलहराके काठक माला, बोल भैया राम राम ।” कटुवाल बा उठेर पीपलको हाँगाबाट धनुबाँण झिके । अनि धनुमा बाँणको ताँदो हालेर चारैतिर तेर्साउँदै जग्गेलाई तीन फन्को घुम्दै फलाके, ‘लोरी पवनहरीह यापन यापन दुधपुत लेले उठह ।’
(मनोज अज्ञात टुकी उपन्यासका लेखक हुन् ।)





