अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्न सिएमसी तयार
विप्लव काफ्ले
भरतपुर, ४ असोज
बढी शूल्क लिएको आरोप लगाउँदै चितवन मेडिकल कलेज भरतपुरमा चर्किएको आन्दोलन रोकिएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलबाट ५ बुँदे सहमति बनेपछि आन्दोलन स्थगित भएको हो । भदौ ५ देखि आन्दोलन सुरु गरेका विद्यार्थीहरु १५ गतेदेखि सडकमै उत्रिएका थिए । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई विद्यार्थी, अभिभावक सहितको टोलीले यही २ गते ज्ञापनपत्र बुझाउँदै अवैध रुपमा लिइएको शुल्क फिर्ता गराउन पहल गर्न अनुरोध गरेका थिए ।

सिडिओकै अग्रसरतामा जिल्ला प्रशासन कार्यालयमा शनिबार करिव ८ घण्टा वार्ता भएको थियो । “अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति भएको छ”, विद्यार्थी नेता प्रकाश चन्दले कायाकैरनसँग भने, “अहिलेको आन्दोलन फिर्ता भएको छैन, स्थगित मात्रै हो ।” अभिभावक, प्रमुख जिल्ला अधिकारी सहित बसेर भएको सहमति कार्यान्वयन हुनेमा आशावादी रहेको बताए । “अतिरिक्त शुल्क तिरेको रसिद माग गर्छौँ, रकम फिर्ता हुनेमा ढुक्क भएरै आन्दोलन रोकेका छौँ”, उनले भने, “रकम फिर्ता नगर्ने, रसिद नदिने काम भएमा पुनः सशक्त आन्दोलनमा जाने छौँ ।” नेपाल सरकारसँग इन्स्टीच्यूट अफ मेडिसिन(आइओएम)ले तोकेभन्दा बढी शुल्क फिर्ता वा समायोजन गर्ने प्रतिवद्धता आएको बताए ।
उपत्यका बाहिर एमबिबिएस पढ्न ४२ लाख ४५ हजार शुल्क तोकिएपनि विना रसिद २० लाखसम्म बढी शुल्क तिर्नुपरेको विद्यार्थीले सीएमसीलाई आरोप लगाउँदै आएका थिए । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कलेजले आइओएमले तोके भन्दा बढी असुल गरेको शुल्क फिर्ता एंव समायोजन गर्ने सहमति भएको बताए । ६ सदस्यीय समिति मार्फत प्रतिवेदन पेश गर्ने निर्णय भएको छ । “३० कार्यदिनभित्र बढी शुल्क फिर्ता वा समायोजन गर्ने सहमति भएको छ”, उनले भने, “पढाई सुचारु गर्ने समझदारी भएको छ ।” १९ दिनदेखि अवरुद्ध बनेको पठनपाठन आइतबारदेखि सुचारु हुदैछ ।
उनले कार्तिक १८ गतेभित्र स्नातक तहका विद्यार्थीबाट बढी असुल गरेको शुल्क फिर्ता वा समायोजन गर्ने समझदारी भएको बताए । विद्यार्थीले कलेज प्रशासनसँग राखेका आन्तरिक सुधारका मागबारे कलेज प्रशासन, अभिभावक र विद्यार्थीबीच आपसी समन्वयका आधारमा समाधान गर्न सुझाएको बताए । कलेजले असुल गरेको बढी शुल्कबारे एकिन गर्न टेकप्रसाद चापागाईको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनेको छ । कार्यदलमा विद्यार्थी, सिएमसीका प्रतिनिधि, अभिभावक, जिल्ला प्रशासनका अधिकृत, शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधि लगायत सहभागि छन् । चितवन मेडिकल कलेजका अस्पताल निर्देशक डा. दयाराम आचार्यले सबै पक्षबीच सहमति बनेपछि पठनपाठन सुचारु हुने वातावरण बनेको बताए । “अतिरिक्त शुल्कबारे अध्ययन गर्न कार्यदल बनेको छ, छानविन हुनेछ”, उनले भने, “प्रतिवेदनका आधारमै शुल्क फिर्ता वा समायोजनबारे निर्णय हुन्छ ।” उनले अतिरिक्त शुल्क तिरेका विद्यार्थीले रसिद नपाएको भए लिन आग्रह गरे । आन्दोलन चर्केपछि कलेज प्रशासनले भदौ २७ गतेदेखि शैक्षिक कार्यक्रम बन्द गरेको थियो । अब आइतबारदेखि सबै शैक्षिक कार्यक्रम सुचारु हुने कलेजले जनाएको छ ।
यसअघि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एमविविएसको अध्ययनका लागि चितवन मेडिकल कलेज भरतपुरलाई सरकारले तोकेकोभन्दा बढी लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको थियो । त्रिविले विज्ञप्ति जारी गर्दै एमविविएस अध्ययनका लागि कलेजलाई २०७५ असोज २८ गते मन्त्रिपरिषद्ले तोकेको शुल्क लिन अनुरोध गरिएको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए ।





