वन्यजन्तुलाई तर्साएर होइन, मुक्ति दिएर पर्यटक तानौं
प्राकृतिक स्रोतमा नेपाल विश्वमै धनी देश हो । वन्यजन्तुको दृष्टिले पनि नेपाल अग्रपंक्तिमा आउँछ । यहाँका राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा विश्वका अन्य देशमा नपाइने दुर्लभ जनावरहरु छन् । यसका अलावा पशुपालनमा पनि नेपाल अगाडी नै छ । कतिपय ठाउँमा त जंगली जनावरलाई पनि घरपालुवा बनाएर पाल्न थालिएका छन् । यसका उद्देश्य विभिन्न छन् । कसैले सोख, मनोरञ्जनका लागि त कसैले मासुका लागि । तर यो क्रममा प्रायःले पशुको अधिकारलाई फिटिक्कै याद नगर्ने गरेका छन् । पछिल्लो समयमा यस बिषयमा आवाज बढ्न थालेको छ । जनावरको अधिकार तथा कल्याणका लागि विभिन्न संस्थाहरु नै लाग्दै आएका पनि छन् । उनीहरुले विशेषत वन्यजन्तुको पालन पोषण गर्ने क्रममा उनीहरुको अधिकार हनन् नहुन् भन्ने विषयमा अभियाननै चलाएका छन् । यीनै मध्येका एक हुन् मनोज गौतम । उनी द जेन गूडअल इन्स्टीच्युट नेपालका कार्यकारी निर्देशक हुन् । पोखरा युनिभर्सिटीबाट वातावरण व्यवस्थापन र दीगो विकासमा स्नातक तथा अक्सफोर्ड युनिभर्सिटीबाट जैविक विविधता, संरक्षण तथा व्यवस्थापनमा स्नातकोत्तर गरेका गौतम वन्यजन्तु संरक्षण अभियानका विज्ञ मानिन्छन् । पछिल्ला दिनमा उनी लण्डनमा रहेको प्लानेट पेरेग्रीन नामक संस्थामार्फत वन्यजन्तु संरक्षणलाई पर्यटनसँग जोड्ने अभियानमा सकृय छन् । प्रस्तुत छ नवलपरासीको वासावसैमा पहिलो पटक गिद्ध रेष्टुरेन्ट स्थापना गर्नसमेत भूमिका खेलेका मनोज गौतमसँग राजेश घिमिरेले गरेको कुराकानी ।

के मा व्यस्त हुनुहुन्छ अहिले ?
–वन्यजन्तुको अधिकार तथा कल्याणका लागि काम गर्दैछु । पृथ्वीमा मानव र पशु बिचको सम्बन्ध गहिरो छ । मानव विकासक्रममा पशुपंक्षीको भूमिका निकै महत्वपूर्ण हुन्छ । मान्छेका लागि खतरा मात्रै होइन सुरक्षामा पनि पशुपंक्षीको भूमिका हुन्छ । मान्छेले विभिन्न प्रयोजनका लागि वन्यजन्तुको उपयोग गरिरहेका छन् । तर मानव र पशुपंक्षी बिचको अन्तरक्रियामा पशुले पीडा भोग्नु नपरोस भन्नेमा हामी सचेत छौं । हामी पशुको प्रयोगमै प्रतिबन्ध लगाउने तिर नभई बिस्तारै सुधार ल्याउँदै जानुपर्छ भन्ने अभियानमा छौं । वन्यजन्तुको प्रयोग नेपाली माटो सुहाउँदो हुनुपर्छ भन्ने लाग्छ । यसैलाई सार्थक बनाउने अभियानमा हामी छौं ।
तपाईले उठाउँदै आउनुभएको पशु कल्याणको विषयलाई आम मानिसले कसरी बुझ्ने ?
–वन्यजन्तुको प्रयोगलाई देशकै अर्थतन्त्रसँग जोडिएको छ ।
सामाजिक प्रकृया नै बनिसकेका कारण यसलाई नबिगारीकान पशु कल्याण तथा होस् भन्नेमा हामी छौं । त्यसैले हामीले अहिले पशुपंक्षीले पाँच किसिमको मुक्ति पाउनुपर्छ भन्ने गरेका छौं । १. भोक र प्यासबाट मुक्ति २. डर र त्रासबाट मुक्ति ३. चोटपटक र रोगबाट मुक्ति ४. भौतिक पीडाबाट मुक्ति र ५. प्रजाती अनुसारको व्यवहार नगरिने अवस्थाबाट मुक्ति । अहिले जति पनि वन्यजन्तु मान्छेले पालन गरिरहेका छन् तिनीहरु सबै यी दुव्र्यवहार सहन बाध्य छन् । उनीहरुलाई यसबाट छुटकारा दिनुपर्छ । यसैलाई आत्मसाथ गरेर युरोपियन देशहरुले धेरै काम गरिसके । तर यहाँ मान्छेले पालेका पशुमा मात्रै होइन चिडियाखाना तथा वन्यजन्तु उद्धार केन्द्रमा समेत जनावरको अवस्था बिजोग छ । अब नेपालले पनि यस बिषयमा सोच्नुपर्छ । यस अभियानलाई मैले पशु कल्याण भन्ने गरेका छु ।
सरकारले पनि यस बिषयमा ध्यान दिएन भन्ने तपाईको आशय हो ?
–हो । अहिले सम्मको अवस्थालाई हेर्दा सरकारको ध्यान यता पुग्नै सकेको छैन । सामुदायिक वन तथा सहकारी संस्थाहरुले चिडियाखाना तथा वन्यजन्तु उद्धार केन्द्रहरु सञ्चालन गरेका छन् । तर यसले जनावरलाई थप पीडा दिइरहेको छ । उद्धारको नाममा वन्यजन्तु माथिको दुव्र्यवहार बढेको छ । कहिलेकाहिँ गोही, अजिंगरहरु छाडिएका खबरहरु सुन्न पाइन्छ । यी कुरा ठीक छन् । तर नियामक निकायले जति प्रयास गर्नुपर्ने हो गर्न सकेको छैन । मुक दर्शक बनेर बसेको जस्तो देखिन्छ । भारत, पाकिस्तानलगातका देशबाट वन्यजन्तुको अबैध आयात भइरहेको छ । वन्यजन्तुको अबैध कारोबारमा गिरोह नै लागेको छ । यस विषयमा सरकारी निकाय सचेत हुनु आवश्यक छ ।
तपाईहरुले चितवनको हात्तीपालन तथा यससँग सम्बन्धित व्यवसायको बिषयमा बढी जोड दिनुभएको छ नि ?
–चितवनको हात्तीसँग सम्बन्धित गतिविधि विश्वमै परिचित छ । चितवनको सौराहा क्षेत्रको एउटा पुस्ताले हात्तीसँग सम्बन्धित पर्यटन व्यवसायमै समय बिताइसक्यो । यो अबधिमा उनीहरुले राम्रो आर्थिक प्रगति पनि गरे । सुरुआती दिनमा यस सम्बन्धी प्राविधिक ज्ञानको कमीले गर्दा केही समस्या भयो होला तर समयक्रमसँगै उनीहरुले धेरै कुरा सिके । अहिले धेरै प्रगति भइसकेको छ । तर, हात्तीलाई मनोरञ्जनको साधन बनाइरहँदा यसलाई पनि मायाँ गर्नुपर्छ भन्ने भावना चाहि चाहिँदो रुपमा विकास हुन सकेको छैन । हात्तीको छावालाई जन्मिए देखि क्रुर व्यवहार गर्न सुरु गरिन्छ । हात्ती सफारीको क्रममा उस्तै क्रुर व्यवहार गरिन्छ । यसले पर्यटकलाई सोच्न बाध्य बनाएको छ । केही वर्ष यता हात्ती सफारीमा सहभागि हुनेको संख्या निकै घटेको छ । सबै भन्दा बढी पैशा खर्च गर्ने युरोपियन पर्यटकले त हात्ती सफारी गर्नै छोडिसके । अहिले स्थानीय, भारतीय र चिनियाँ पर्यटकहरु मात्रै हुन्छन् । उनीहरु पनि घट्दैछन् । हात्ती चढ्दा उसलाई कुटेको देखेर धेरै मान्छे रोएका छन् । बिस्तारै हात्तीलाई गरिने निर्दयी व्यवहार बन्द गरिनुपर्ने आवाज व्यापक भइरहेको छ । त्यसैले ‘अब पनि हात्तीलाई दुःख दिएरै मनोरञ्जन लिनुपर्छ’ भन्ने सोच हटाउनुपर्छ ।
यतिका वर्ष देखि चल्दै आएको व्यवसाय बन्द गर्न सम्भव होला ?
-कम्बोडियामा हात्ती सफारी बन्द भइसक्यो । यसको विकल्पमा नयाँ गतिविधिहरु त्यहाँ भइरहेका छन् । यहाँ पनि हामीले यस विषयका व्यवसायीहरुसँग पटक–पटक छलफल गरेका छौं । उहाँहरु पनि यस विषयमा सकरात्मक बन्दै हुनुहुन्छ । यसकालागि उहाँहरुलाई हामीले उपयुक्त विकल्प पनि दिएका छौं । जसको माध्यमबाट सौराहाको हात्ती केन्द्रित पर्यटन विश्वकै नमूना बन्न सक्छ ।
के हो त्यस्तो विकल्प ?
–हामीले हात्ती पाल्दै आएका पर्यटन व्यवसायीहरु सामू ‘स्यान्च्यूरी’ अबधारणा प्रस्तुत गरेका छौं । यो हात्तीलाई निश्चित भूभाग छुट्टाएर उसको गतिविधिका लागि खुल्ला गर्ने अवधारणा हो । जहाँ तोकिएको क्षेत्र भित्र हात्तीको हरेक किसिमको गतिविधि हुन्छन् । तोकिएको क्षेत्र भित्रका गतिविधिहरु हेर्ने अवसर पर्यटकले पाउँछन् । थाइल्याण्डमा यो अबधारणा अत्याधिक सफल भएको छ । त्यहाँ पर्यटकले एक सय डलर खर्च गरेर हात्तीका गतिविधिहरु हेर्ने गर्दछन् । यहाँका व्यवसायीहरुले पनि त्यो हरेर फर्कनुभयो । हामीले उहाँहरुलाई यस अबधारणामा जाँदा यहाँको पर्यटनको विकासमा थप टेवा पुग्ने कुरामा विश्वस्त बनाउन खोजिरहेका छौं । स्यान्च्यूरी अबधारणा हात्तीले चेनमा बाँधिनु पर्दैन, पिटाई खानु पर्दैन । ऊ जंगलमै रहे सरह हुन्छ ।
व्यवसायीहरुको धारणा के रह्यो यस अबधारणामा ?
–सौराहामा हात्ती सञ्चालन सहकारी संस्थाले हात्ती सफारीमा एकरुपता ल्याएर राम्रो काम गरेका छ । केही हद सम्म भनेपनि हात्तीको खानामा एकरुपता ल्याइएको छ । तर अब यसलाई परिवर्तन गर्नुपर्छ, त्यो एकता हात्तीलाई दुःख नहुने अभियानमा प्रयोग गर्नुपर्छ भन्ने हाम्रो कुरा हो । हामीले भनेको कुरा उहाँहरु बुझ्दै हुनुहुन्छ । लगानी, जमिन, भौतिक संरचनालगायतका विषयमा उहाँहरु छलफलमा हुनुहुन्छ । सरकारले पनि यसमा सहयोग गरोस् भन्ने चाहना उहाँहरुको छ । हामीले लगानीका लागि पिर नगर्नुस् आवश्यक परे हामी विदेशी लगानी पनि ल्याउन सक्छौं भनेका छौं ।
सरकारको कस्तो सहयोग अपेक्षा गरिएको हो सरकारी निकायलाई जानकारी छ ?
–हामीले जानकारी गराएका छौं । उहाँहरुले जमिन उपलब्ध गराउने सम्बन्धमा, कानूनी अड्चनमा लचिलो बनेर सहुलियत दिन आग्रह गर्नुभएको छ । सरकार पनि यस विषयमा सहजिकरण गर्न तयार छ । सरकारले पर्यटन वर्ष घोषणा गरेर महत्वकांक्षी योजना अघि सारेको छ । यस्ता योजना सफल बनाउन पनि अब सरकारले परम्परागत पर्यटन व्यवसायलाई समय सापेक्ष बनाउँदै लैजानमा ध्यान दिनुपर्छ ।





