
चितवनमा कथा लेखनको अवस्था कस्तो छ ?
तुलनात्मक रूपमा हेर्ने हो भने चितवनमा अन्य विधा (कविता, गजल आदि) का तुलनामा कथा विधामा कमै कलम चलेको देखिन्छ । फुटकर रूपमा कथा लेख्नेहरूको संख्या कम छैन तर कथा विधामा नै समर्पित साहित्यकारहरू धेरै हुनुहुन्न । जे जति सक्रिय हुनुहुन्छ उहाँहरूले राम्रै लेखिरहनु भएको छ ।
कथा लेखनको विकासका लागि के गर्नुपर्ला ?
पहिलो कुरो त कथा लेखनको विकासका लागि कथा लेखनमा रुचि राख्ने प्रतिभाहरूले धेरैभन्दा धेरै कथाहरू लेख्न थाल्नुप¥यो । परिमाणात्मकतालाई भन्दा बढी गुणात्मक पक्षलाई ध्यान दिनुप¥यो । हाम्रोमा धेरैभन्दा धेरै विधामा कलम चलाएँ भने ठूलो साहित्यकार हुन्छु भन्ने भ्रम लेखकहरूमा देखिन्छ । त्यो भ्रम त्याग्नुप¥यो । एउटा विधामा सफल हुने साहित्यकार अर्को विधामा पनि सफल नै हुन्छ वा हुनुपर्छ भन्ने छैन । यो कुरो लेखकले बुझ्नु जरुरी छ । कथा विधामा रुचि राख्ने कथाकारहरू आंशिक कथाकारका रूपमा मात्र नदेखिई पूर्णकालीन लेखकका रूपमा आउनुप¥यो । जो कथा लेख्नुहुन्छ उहाँहरू अरुका समसामयिक कृतिहरू त्यति पढ्नुहुन्न । एउटा लेखकले सफल हुनका लागि धेरैभन्दा धेरै अरुका कृति पढ्नु पनि पर्छ । अरुको कथा कृति पढ्नुको मतलव आजको कथा लेखनको स्थिति बोध गर्नु पनि हो, प्रतिभालाई तिखार्नु पनि हो । जसलाई पूर्वेली साहित्यकारहरू व्युत्पत्ति भन्थे । प्रतिभालाई व्युत्पत्तिले निखार्छ । अर्को कुरा जसरी अरु विधाका साहित्यकारहरूले लेख्नेहरूका बीच संम्पर्क सेतुका रूपमा संस्था निर्माण गर्नुभएको छ (जस्तै गजलमञ्च चितवन) यस्तै सम्पर्क सेतुको काम गर्ने कथा मञ्च हुनु राम्रो हो । यो हाम्रोमा छैन । यस्तो मञ्च स्थापना भयो भने विधागत गतिविधिहरू बढ्छन् । जब गतिविधिहरू बढ्छन् तब लेखिने क्रम, छापिने क्रम, सुन्ने र सुनाउने क्रम, समालोचनाका गतिविधिहरू बढ्न थाल्छन् । स्तरीयताका प्रश्नहरू पनि उठ्न थाल्छन् । लेख्ने भोकको साथसाथै स्तरीय बन्ने भोकले पनि लेखकलाई छुन थाल्छ । स्तरीयताको भोक लेखकमा जब बढ्न थाल्छ तब कथाका क्षेत्रमा विकास कसरी होला भनिरहनु पर्दैन । गुणात्मक मूल्यका कथाहरू लेखिन र प्रकाशित हुन थाले पछि कथा लेखनमा विकास हुन्छ ।
कथा र लघुकथाको तात्विक भिन्नता के छ ?
आख्यान विधाका प्रविधाहरू हुन् — कथा र लघुकथा । कथा निकै बूढो, पुरानो र छिप्पिएको प्रविधा हो तर लघुकथा कथाभन्दा धेरै पछि सुरु भएको प्रविधा हो । लेख्ने र पढ्ने दुबैले लघु आकारको कथा र लघुकथामा फरक छ भन्ने मानसिकता लिएर लघुकथामा प्रवेश गर्नुपर्छ । लघुकथामा घटनाको विस्तार वर्जित छ । निर्माण उपकरण भने कथा र लघुकथामा समान नै हुन्छन् तर निर्माण उपकरणको उपयोगको मात्रामा भने फरक हुन्छ । यसलाई अलि व्यावहारिक रूपले बुझाऊँ — एक तले घर निर्माणको लक्ष लिनेले जग जुन किसिमले हाल्छ, निर्माण सामग्रीको उपयोग जसरी गर्छ पाँचतले घर निर्माण गर्नेले त्यही किसिमको जग र निर्माण सामग्रीको उपयोग गर्दैन । एक तले घरका लागि भनेर हालिएको जग र उपयोग गरिएको निर्माण सामग्री पाँच तले घरका लागि अपर्याप्त हुन्छ भने पाँच तले घरका लागि हालिने जग र उपयोग गरिने निर्माण सामग्री एक तले घरका लागि अनावश्यक हुन्छ । हो, लघुकथा र कथा लेखनमा निर्माण सामग्रीको उपयोगको यस्तै मात्रात्मक भिन्नता छ । कथा छोट्याएर लघुकथा बन्दैन र लघुकथा तन्काएर कथा बन्दैन । धेरैजसोमा आख्यानको प्रविधात्मक भेद उपन्यास र कथा हो, कथाको प्रविधात्मक भेद लघुकथा हो भन्ने भ्रम छ । यो भ्रम नवोदितमा मात्र छैन स्थापितहरूमा पनि छ तर आख्यानका उपन्यास, कथा र लघुकथा गरी तीन प्रविधा छन् भन्नु न्यायोचित कुरा हो । सम्बन्धका हिसावले कथा विधाअन्तर्गतको छोटा कथासँग लघुकथाको निकटतम सम्बन्ध छ तर छोटा कथा लघुकथा भने होइन ।
चितवनमा कथा कत्तिको पढिने गरिएको छ ?
लेखरामजी, यसको जवाफ त मैले तपाईंबाट नै खोज्नुपर्छ होला । यसको तथ्याङ्क मसँग छैन । तपाईं सफल पुस्तक व्यवसायी हुनुहुन्छ । चितवनमा कथाका पुस्तकहरू कत्तिको बिक्छन् मैले तपाईंलाई नै सोधें । किनकि तपाईंको उत्तरबाट यस क्षेत्रमा कथाको लोकप्रियता ज्ञात हुन सक्ला ।
मलाई जहाँसम्म लाग्छ आजकल पठन संस्कृति बढेको छ ।
तपाईं कस्ता किताब पढ्न रुचाउनुहुन्छ ?
मलाई आख्यान मन पर्छ र यसमा पनि लघुकथा । पढ्न त उपन्यास र कथा पनि पढ्छु तर उपन्यास छानेर मात्र पढ्छु किनकि उपन्यास पढ्न लामो समय लाग्छ । छनोटमा गल्ती भयो भने समय खेर मात्र जान्छ । मलाई कविता पनि मन पर्छन् । कविता लेख्नेहरूको बाढी छ तर राम्रा कविता निकै कमले मात्र लेख्छन् । म कविता लेख्दिन किनकि म राम्रो कविता लेख्न जान्दिन । तर राम्रो कविता पढ्न पाएको दिन आफूलाई धन्य ठान्दछु । अटोवायोग्राफीका रचनाहरू पनि मन पर्छन् मलाई । प्रायः भेटेसम्म यस्ता रचनाहरू पनि पढ्ने गर्छु । म भाषाको विद्यार्थी पनि भएका कारण भाषिक पुस्तकहरू पनि मेरा रुचि क्षेत्रभित्र पर्छन् ।
किताब छनोट गर्ने आधार केलाई मान्नुहुन्छ ?
किताब छान्ने आधार त एउटा रुचिक्षेत्र नै हो । म लेखकको नाम हेरेर किताब छान्दिन । सुरु सुरुमा म लेखकको नाम हेरेर किताब छान्थें तर यसरी किताब छान्दा धेरैपल्ट धोखा खाएको छु । एकपल्ट राम्रो किताब लेख्नेले अर्कोपल्ट पनि राम्रो किताब लेख्छ भनी ठान्नु गलत हो । उदाहरणका रूपमा मैले कृण धराबासीको राधा उपन्यास पढें । धेरै आकर्षक लाग्यो । उनको लेखनशैली त्यहाँ ज्यादै उच्चस्तरको छ । उनले पौराणिक पात्र राधालाई नायिका बनाएका छन् त्यसमा । पुराणले जहाँबाट राधाको चर्चा छाड्छ त्यहीबाट यो उपन्यास सुरु भएको छ । पौराणिक विषयमा लेख्नेहरूले पुराणसार लेखेर वाह वाह कमाएका छन् यहाँ । यो गलत हो । पौराणिक विषयमा लेख्नेहरूले यो किताब पढ्नु राम्रो हुन्छ भन्छु म । धरावासीले कृष्णलाई कंशसँग युद्ध गराउँदा सुदर्शनचक्र औंलामा बोकाएका छैनन् । छापामार शैलीमा युद्ध गरिएको छ त्यहाँ । यसैले यो स्वभाविक बनेको छ । यो पछि धराबासीको गेस्टापो पनि पढें जसले मलाई हिटलर सम्बन्धी जिज्ञासाहरू मेटाउन सफल भयो । यी दुई किताबका आकर्षणले म अझै पनि तानिन्छु । यी दुई कृतिबाट प्रभावित भएकाले मैले उनको टुँडाल पनि किनेर ल्याएँ तर ५÷६ पाना भन्दा बढी पढ्न सकिन र थन्क्याएर राखेको छु । यसैले लेखकका नामका आधारमा कृति छनोट गर्नुहुन्न भन्ने मेरो मान्यता हो । कृति छान्दा पुस्तक पल्टाएर एकदुई पेज पढेपछि छान्नु उपयुक्त हुन्छ तर आजकल ठूला प्रकाशन गृहले कृति प्लास्टिकभित्र बन्द गरेर पठाउँछन् । यो पाठकहरूप्रति प्रकाशनगृहको दादागिरी हो । मैले धेरैपल्ट प्लास्टिकबन्द किताब किनेको छु तर फुकाएर पढ्दा धेरैपल्ट जिल्लिएको पनि छु । यस्ता किनेर जिल्लिएका पुस्तकहरू मसँग धेरै छन् जसले मेरा दराजको बाह्य आकर्षणको काम गरेका छन् ।
खासगरी एउटा किताब कति बसाइमा पढिसक्नुहुन्छ ?
यसको कुनै सीमा छैन । किताबको आकर्षणले तान्दै गयो भने आकारमा ठूला कृतिहरू पनि निकै छिटो पढिसकिन्छ । आकर्षित गर्न नसकेर बीचमै छाड्नु परेका उदाहरणहरू पनि छन् ।
किताब पढ्न रुचि राख्ने तर किताब छनोट गर्न नसक्नेलाई तपाईंको सुझाव के रहन्छ ?
किताब पढ्न खोज्नेहरूले आफ्नो रुचिक्षेत्र अनुरूपको किताब छान्नुपर्छ । कसैको सिफारिसलाई मात्र आधार मानेर किताब किन्नुहुन्न । सिफारिसकर्ताले आफ्नो रुचिक्षेत्रको किताब सिफारिस गर्छ । कसैलाई मन परेको किताब अर्कोलाई पनि मन पर्छ नै भन्ने छैन । अर्को कुरा रुचिक्षेत्रको किताब भए पनि पढ्ने किताब छान्दा त्यसको भाषाशैली आदि हेरेर लिनु राम्रो हुन्छ । कहिलेकाहीं चर्चा र विश्लेषणलाई पनि आधार मानेर पढ्ने किताब छान्न सकिन्छ तर आजकल चर्चा र विश्लेषण पनि स्वस्थ छैनन् । यसैले चर्चाका आधारमा किताब छान्नु पनि जोखिमरहित छैन ।
युवा पुस्ताले पढ्नै पर्ने किताब कुन कुन होलान् ?
यी यी किताब पढ्नुस् भनेर किटान गर्नु त आवश्यक छैन किनकि मेरो रुचि र तपाईंको रुचि फरक हुनसक्छ । तर यति चाहिं भन्न सकिन्छ कि आजकल युवा केन्द्री भनेर लेखिएका धेरै किताब सही छैनन् । तिनले युवा उन्मादका कुरा लेखेका छन् । एउटा पठ्ठो युवा वा युवतीको भावनालाई आकर्षित गरेर किताबको व्यापार गरेको देख्दा दुःख लाग्छ । यस्ता किताबबाट प्राप्त गर्ने कुरा केही हुँदैन । एउटा राम्रो किताबले त मान्छेको बाटो बदलिदिन सक्छ । यसैले युवा पुस्तालाई अनुत्पादक विषयका, सस्ता लोकप्रियताका, पैसा कमाउने उद्देश्य मात्र राखेर लेखिएका चटपटे जस्ता किताबबाट बच्नुस् भन्छु म । कहिलेकाहीं झुक्किएर किनिएका भए पनि त्यस्ता किताब आए पठनसूचीबाट हटाइदिनुहोस् भन्ने मेरो सुझाव छ ।
पूर्वी चितवनमा साहित्यिक गतिविधि कुन रूपमा रहेको पाउनुहुन्छ ?
मनग्गे छैनन् । साहित्यिक क्षेत्रमा काम भएका छन् तर फुटकर काम बढी छन् । फुटकर यसकारण कि संस्थागत काम कम छ । पूर्वी चितवनमा वाल्मीकि साहित्य सदनले राम्रो काम गरेको छ । यसले एउटा सम्प्रेषण नामक साहित्यिक पत्रिकालाई निरन्तरता दिएरहेको छ । वर्षको एकपटक साहित्यकारहरूलाई सम्मान गर्ने परम्परालाई यसले जिवितै राखेको छ । रत्ननगर नगरपालिकाले यस क्षेत्रको साहित्यिक क्रियाकलापलाई मलजल गरेको छ । यसले वाल्मीकि साहित्य सदनसँग सहकार्य गरेर साहित्य क्षेत्रमा गरेको साहित्यिक क्रियाकलाप पर्याप्त नभए पनि प्रशंसनीय भने छ ।
यो क्षेत्रमा साहित्यिक गतिविधि बढाउन के गर्न सकिएला ?
वेला वेलामा साहित्यिक गोष्ठीहरू सञ्चालन गरिनुपर्छ । नयाँ लेखकहरूलाई प्रोत्साहन दिनुपर्छ । साहित्यिक प्रकाशनको काम बढ्नुपर्छ । म त यस भेगमा चितवन साहित्य परिषद् जस्तै एउटा अभिभावक संस्था बन्नुपर्छ भन्ने ठान्छु । यो काम वाल्मीकि साहित्य सदनले गर्न सक्छ मेरो विश्वास हो ।
नयाँ पुस्तालाई के भन्नुहुन्छ ?
लेखन क्षेत्रमा लाग्नेहरू अध्ययनशील पनि हुनुपर्छ । समकालीन साहित्यिक गतिविधिप्रति जानकार नहुँदा कस्तो लेखिंदै छ र म कहाँ छु भन्ने ज्ञान हुन्न । साहित्यको समकालीन ज्ञानले लेखकलाई हानि गर्दैन सहयोग नै पु¥याउँछ । साहित्यिक साधना भनेको क्षणिक साधना होइन । यो दीर्घकालीन तपस्या हो । साहित्य साधना गर्नु भनेको वस्तुको विज्ञापन गरेजस्तो होइन । साहित्य चर्चाका लागि मात्र होइन स्वान्त सुखाय बन्नुपर्छ । अर्को कुरा साहित्यमा कल्पनाको प्रयोग हुन्छ तर कल्पना अयथार्थ बन्नु हुँदैन । साहित्यले मानवहित पनि बोकेको हुनुपर्छ । मान्छे नछोइएका लेखन साहित्यिक लेखन होइन । यसैले साहित्यमा लाग्नेहरू सस्तो चर्चाका पछाडि नदौडिनुहोस् भन्ने मेरो धारणा हो । राम्रो लेख्न सकियो भने चर्चा आर्फै चल्छ ।




