गाँजा नष्ट गर्न पहाड उक्लियो प्रहरी

भरतपुर, २७ भदौ
चितवनका पहाडी इलाकामा गाँजाको खेती बढ्दै गएपछि प्रहरीको टोली गाउँ उक्लिएको छ । राप्ती नगरपालिकाको वडा नम्बर १२ र १३ मा व्यावसायिकरुपमै गाँजाखेती भइरहेको जानकारी पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली नियन्त्रण अभियानसहित त्यसतर्फ लागेको हो ।


राप्ती नगरपालिकाको उच्च पहाडी क्षेत्रमा प्रशासनको पहुँच निकै कम पुग्ने गरेको छ । पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको ईलाका प्रहरी कार्यालयले जिल्लाकै उच्च क्षेत्रमा रहेको पहाडी भूभाग समेत हेर्नुपर्ने हुन्छ । यसैको फाइदा उठाउँदै त्यस क्षेत्रमा गाँजा खेती व्यापक बनाइएको थियो । जिल्लाको पहाडी क्षेत्रमा गाँजाखेती गर्दै बढ्दै गरेको समाचार केही दिनअघि कायाकैरनले प्रकासन गरेको थियो । चेपाङ बाहुल्य पहाडी क्षेत्रमा धान, मकै तथा कोदोको खेती नै छाडेर गाँजाखेती गरिएको छ ।
प्रहरीको सानो टोली यसअघि पनि उक्त क्षेत्रमा पुगेको थियो । सो क्रममा केही परिमाणमा गाँजा नष्ट गरेपनि प्रहरी टोली फर्किएपछि खेती पहिलेभन्दा व्यापक भएको थियो । इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक र सशस्त्र प्रहरीका प्रहरी निरीक्षकसहितको टोलीले गाँजा खेती नष्ट गर्नुका साथै स्थानीयलाई सचेत बनाएर फर्कने मिसन लिएको चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले बताए । चितवनमा लागूपदार्थको दूव्र्यसनी, ओसारपोसार तथा खेतीलाई नियन्त्रण गर्न अभियानै सञ्चालन गरिएको मल्लले दावी गरे ।
गाँजाखेती गरिएको क्षेत्रतर्फ जाँदै गरेको टोलीमा ४ दर्जनको हाराहारीमा प्रहरीहरु छन् । उक्त टोलीले केही दिन उतै रहेर खेती नष्ट गर्नुका साथै आगामी दिन यसतर्फ नलाग्न स्थानीयलाई सचेत बनाएर फर्कने इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले बताए । गाँजा खेती नष्ट गरेरै फर्कने मिसनका साथ बन्दोबस्तीका सामानसहित प्रहरी सम्बन्धित क्षेत्रमा पुगेको उनले बताए ।
राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा स्थानीयलाई आर्थिक प्रलोभनमा पारेर गाँजा खेती गर्ने गिरोह नै संलग्न रहेको प्रहरीको आशंका छ । चितवन प्रहरीका प्रवक्ता डीएसपी एकनारायण कोइरालाले उक्त गिरोहको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताए । चितवनको राप्ती नगरपालिकाका साथै कालिका नगरपालिका तथा इच्छाकामना गाउँपालिकाको पहाडी क्षेत्रमा केही वर्षयता गाँजाखेती गर्ने क्रम बढ्दै गएको छ ।
प्रहरीका अनुसार जिल्ला प्रहरीमा दर्ता भएका उजुरीमध्ये सबैभन्दा बढी लागूऔषधसम्बन्धी छ । २०७६ असार यता लागूऔषधसम्बन्धी २१ उजुरी दर्ता भएको १७ वटा मुद्दा फछ्र्यौट भइसकेका छन् । यस अवधिमा ३२ जना व्यक्तिहरुलाई पक्राउ गरी कारबाही गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट