प्रहरीले ल्यायो चाडपर्व केन्द्रित सुरक्षा योजना:कालोबजारी र ठगी नियन्त्रणमा जोड

राजेश घिमिरे
भरतपुर, २७ भदौ
चितवन प्रहरीले चाडपर्व केन्द्रित गरेर विशेष सुरक्षा योजना ल्याएको छ । दशैं, तिहार, छठलगायत महत्वपूर्ण चाडपर्वलाई लक्षित गरेर अपराधिक घटना हुनसक्ने खतरा औंल्याउँदै प्रहरीले सुरक्षाका लागि विशेष योजना ल्याएको दावी गरेको छ ।

भयरहित वातावरणमा चाडपर्व मनाउने अवस्था सिर्जना गर्न अपराधिक गतिविधि तथा दुर्घटना न्यूनीकरणमा विशेष जोड दिइने जिल्लाका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए । अपराधिक गतिविधि न्यूनीकरणका लागि प्रहरीको स्रोतसाधनको अधिकतम उपयोग गर्ने लक्ष्य लिइएको उनले बताए । “यसका लागि सादा पोशाकका प्रहरी परिचालन गर्ने, गाडी, मोटरसाईकल तथा पैदल गस्तीलाई बढाइनेछ”, मल्लले भने, “जिल्लाका प्रवेश नाकाहरुको चेकजाँचमा कडाइ गरिनेछ ।” प्रहरीले चाडपर्वको समयमा हुने ठगी, डकैती तथा जुवातासमा नियन्त्रण गर्न विशेष तयारी गरेको जनाएको छ ।
अत्यावश्यक वस्तुको आपूर्तिमा सहज बनाउँदै कालोबजारी नियन्त्रण गर्न सम्बन्धित निकाय तथा संस्थाहरुसँग समन्वय गर्ने योजना प्रहरीले बनाएको छ । अत्यावश्यक वस्तुको बिक्री वितरणमा मनपरी हुँदा चाडपर्वको समयमा सर्वसाधारण ठगिएको भन्दै यसलाई कम गर्न विशेष ध्यान दिने प्रहरीले जनाएको छ । लागूऔषध तथा अवैध मदिराको उत्पादन र प्रयोग नियन्त्रण गर्ने पनि प्रहरीको योजना छ । राजमार्ग तथा अन्य सडकको सवारी आवागमनमा अवरोध आउन नदिन ‘प्रहरी स्कर्टिङ’को व्यवस्था मिलाउने तयारी गरिएको मल्लले बताए ।
सार्वजनिक सवारीसाधनको भाडामा गरिने मनपरीलाई नियन्त्रण गर्न भरतपुर बसपार्क, पोखरा बसपार्क र पुल्चोकमा ‘हेल्पडेक्स’ राख्न लागिएको जिल्ला प्रहरीका प्रवक्ता एकनारायण कोइरालाले बताए । “साथै आर्थिक चहलपहल बढी हुने बजारका बैंक तथा सुन पसलहरु रहेका क्षेत्रमा सादा पोशाकमा प्रहरी परिचालन गरिनेछ”, प्रवक्ता कोइरालाले भने ।
७ सय १५ जनाको प्रहरी जनशक्तिलाई आवश्यकता हेरेर अधिकतम प्रयोग गरिने प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले बताए । घटना भएलगत्तै सक्दो छिटो सम्बन्धित ठाउँमा पुग्ने गरी क्वीक रेसपोन्स टीम(क्यूआरटी) परिचलन गरिने उनले बताए ।


३८ वटा सीसीटीभी क्यामेरा सञ्चालनमा

प्रहरीले जिल्लाका विभिन्न स्थानमा राखिएका सीसीटीभी क्यामराहरुको मर्मत गरेर पुनः सञ्चालनमा ल्याएको जनाएको छ । भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा वर्षौंअघि जोडिएका क्यामेराहरु बिग्रिएर थन्किएका थिए । पुरानालाई मर्मत गरेर तथा केही नयाँ थप गरेर पुनः सञ्चालनमा ल्याइएको प्रहरी उपरीक्षक मल्लले बताए । पर्यटकीय क्षेत्र सौराहामा पनि सीसीटीभी क्यामेरा जडान गर्ने काम सुरु गरिएको जानकारी दिँदै उनले क्यामेरा जडान कार्यलाई विस्तार गर्दै लगिने बताए ।
प्रहरीले हाल चाडपर्व केन्द्रित गरेर ल्याएको योजनालाई लम्ब्याएर ‘भिजिट नेपाल २०२०’ अभियानसम्म जोड्ने लक्ष्य राखेको छ । सुरक्षाको योजनालाई दीर्घकालीन बनाउन नागरिक–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउने जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट