भरतपुर अस्पतालद्वारा २४ करोड माग

विप्लव काफ्ले
भरतपुर, १३ भदौ
भरतपुर अस्पतालले स्वास्थ्य मन्त्रालयसँग करिब २४ करोड रुपैयाँ बजेट माग गरेको छ । बिरामीको चाप अत्यधिक बढेपछि सेवा सुधार गर्न थप बजेट माग गरेको हो । केही महिना मन्त्रालयमा बुझाइएको विवरणअनुसार भौतिक पूर्वाधार निर्माण तथा विस्तारका लागि ११ करोड ५० लाख माग गरिएको छ ।
नयाँ ईमर्जेन्सी ब्लक बनाउन ४ करोड, ए ब्लकको चौंथो तला थप गर्न २ करोड ५० लाख, कर्मचारी आवास भवन निर्माण गर्न ३ करोड, ओभरहेड ट्यांकी बनाउन २ करोड माग गरिएको छ । “सुत्केरी महिलाका लागि बेड पाउनै मुस्किल छ”, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले भने, “बिरामीको चाप सबै वार्डमा बढेको छ, भवन संरचना बनाउनुपर्ने देखिन्छ ।” उनले गुरुयोजनाकै आधारमा भौतिक संरचनाका लागि बजेट व्यवस्था गर्न मन्त्रालयमा अनुरोध गरिएको बताए । “१२ बेडको आकस्मिक कक्ष छ”, उनले भने, “६० बेडको बनाउने लक्ष्य छ, जीर्ण भवनमा सञ्चालनमा रहेकाले नयाँ इर्मजेन्सी ब्लक बनाउन पहल गरेका हौँ ।”


थप सेवा सञ्चालनका लागि ६ करोड ४० लाख माग गरिएको उनले बताए । “बाल सघन उपचारका लागि पीआईसीयू बनाउन बजेट माग गरेका छौँ”, उनले भने, “३ करोड बजेट मागेका छौँ ।” आकस्मिक ल्याबका लागि पहल भइरहेको बताए । आकस्कि कक्ष, आईसीयू, एनआईसीयूका बिरामीलाई छिटोछरितो सेवा दिन आकस्मिक ल्याबको परिकल्पना गरिएको बताए । आकस्मिक कक्ष भवन मर्मत, मेसिनरी औजार मर्मत गर्न १ करोड माग गरिएको छ ।
त्यस्तै मेसिनरी औजार तथा उपकरण खरिद गर्न ५ करोड १५ लाख बजेट माग गरिएको छ । अस्पतालमा हाल एक मात्र डिजिटल एक्स–रे मेसिन रहेकाले थप एउटा मेसिन राख्न पहल भएको छ । १ करोड ५० लाख माग भएको छ । ईएनटी माइक्रोस्कोप मेसिनका लागि ४० लाख, इएनटी डिभाइडर खरिद गर्न १० लाख बजेट आवश्यक परेको छ । यी मेसिन हालसम्म अस्पतालमा छैनन् । युएजी मेसिन २ थान खरिद गर्न ८० लाख बजेट माग भएको छ । प्यासेन्ट मनिटर २० थानका लागि ५० लाख, इन्डोस्कोपीका र कोलोनोस्कोपी स्कोपका लागि १५–१५ लाख, भेन्टिलेटर ४ थान खरिद गर्न ८० लाख, ल्याप्रोस्कोपी मेसिन खरिद गर्न ७५ लाख बजेट माग भएको छ । “बिरामीको चाप बढेकाले सेवा सुधार्न थप बजेट मागेका छौँ”, उनले भने, “बजेट आएमा सेवा प्रवाहमा छिटै सुधार हुनसक्ने देखिन्छ ।”
भरतपुर अस्पतालमा विगतमा ३० विघा ११ धुर जग्गा रहेकोमा हाल ११ विघा मात्रै छ । जग्गा पर्याप्त नभएपछि गुरुयेजनाअनुसारका भौतिक पूर्वाधार गर्नसमेत जग्गा अभाव देखिन्छ । २०६१ सालमा गुरुयोजना तयार भएको थियो । यसलाई हेल्थपोष्ट हुँदै २०१४ सालमा अस्पताल भवन बनाउन सुरु भएको थियो । २०१८ सालमा २५ शैयाको अस्पताल बनाइएको भरतपुर अस्पताल हाल केन्द्रीय सरकारमातहत छ । विशिष्ट विशेषज्ञ अस्पतालमा स्तरोन्नति गर्ने निर्णय मन्त्रिपरिषद्ले गत फागुन ३ गते गरेको थियो ।
निगरानीमा चिकित्सक र कर्मचारी
मेसु तिवारीले अस्पतालका चिकित्सक तथा कर्मचारीमाथि निगरानी बढाइएको बताए । निजी अस्पताल तथा क्लिनिकहरुमा बढी समय दिने गरेको गुनासो आएपछि निगरानी बढाइएको उनले बताए । “डिजिटल हाजिरीमार्फत नियमन गरेका छौँ”, उनले भने, “हाजिरी गरेपनि अस्पतालभित्रै बसेर सेवा दिएको वा नदिएकोबारे निगरानी बढाएका छौँ ।” जिल्ला प्रशासन कार्यालयको अगुवाइमा गत हप्ता भएको छड्के चेकजाँचमा २८ जना चिकित्सक तथा कर्मचारी ढिलो अस्पताल आएको, नभेटिएको पाइएको थियो ।
प्रशासनले स्पष्टीकरण मागेको छ । “ढिलो आएका, अस्पताल समयमा नभेटिएकालाई लिखित जवाफ मागेका छौँ”, उनले भने, “जवाफ आएलगत्तै प्रशासनलाई जानकारी गराइनेछ ।” बिहान १० बजेदेखि ३ बजेसम्म अनिवार्यरुपमा भरतपुर अस्पतालभित्रै बिरामी चेकजाँच नगरेको पाइए कारबाहीका लागि पहल हुने बताए । “चिकित्सक, कर्मचारी सबै जिम्मेवार बन्नुपर्छ”, उनले भने, “लापरवाही गर्नेमाथि कारबाही हुनेछ ।” अस्पतालमा हाल ६ सय कर्मचारी छन् । जसमध्ये १ सय ७५ जनाको स्थायी दरबन्दी छ । अस्पतालले सरकारबाट ५ सय स्वीकृत पाइसकेपनि औपचारिकता पाउन सकेको छैन । अस्पताल विकास समितिबाट ३ सय, सरकारबाट ३ सय शैया नै सञ्चालनमा छ । सरकारी स्वीकृतअनुसार शैया बढेपछि अस्पतालको शैया ८ सय पुग्नेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट