चेपाङको भविष्य खोज्न चुनौती

ध्रुवराज खनाल
रत्ननगर, २५ साउन
पत्रकारिता क्षेत्रमा समेत क्रियाशील रहेका बेला चेपाङ बालबालिकाको शिक्षामा खटिएका चितवनका केपीकिरण शर्मालाई नचिन्ने विरलै होलान् । उनले चेपाङ बालबालिकाको शिक्षाका लागि गामवेशीको चेपाङ संरक्षण केन्द्र सञ्चालन गरेर आवासीय सुविधासहित अध्ययन गराइरहेका छन् । यसकै कारण उनी अहिले देश विदेशमा चिनिएका छन् ।
चितवनको पहाडी भेग जहाँ सीमान्तकृत चेपाङ समुदायको वाहुल्यता छ । ७ वर्षसम्म दुबईमा रोजगारी गरी फर्केपछि चेपाङको हितमा लाग्ने अठोट लिई उनले ‘गामवेशीको खबर’ पत्रिका निकाले । पहिलो अंकमै चेपाङका विषयले प्राथमिकता पायो । चेपाङ बस्ती घुमेका उनले त्यहाँ समस्याका चाङ देखे र उनको ध्यान चेपाङ बालबालिकालाई शिक्षा दिनुपर्छ भन्नेमा केन्द्रित भयो ।
२०६५ सालमा साउनमा स्वदेश फर्किएका शर्माले पत्रकारितामार्फत सीमान्तकृत जाति चेपाङको कथा–व्यथा बाहिर ल्याउन तथा भौगोलिक विकटता र खाद्यान्न अभावका कारण शिक्षाबाट वञ्चित चेपाङ बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने प्रयास थाले । उनले सुरुमा २५ जना चेपाङ बालबालिकालाई पिठुवामा रहेको तत्कालीन विन्देश्वरी निम्न माध्यमिक विद्यालयमा पढाउन थाले ।
सामान्य परिवारका शर्माले सहयोग जुटाएर चेपाङ बालबालिकालाई पढाएका हुन् । त्यसपछि रत्ननगर–१३, जयमंगलामा थप बालबालिका ल्याएर आफ्नो अभियान विस्तार गरे । व्यक्तिको घरमा राखेर पठनपाठन सम्भव नभएपछि केपीकिरणले रत्ननगर–११, मंगलपुरमा गामबेशीको चेपाङ संरक्षण केन्द्र स्थापना गरी आवासीय सुविधासहित पठनपाठनमा लागे ।
स्थानीय पञ्चतेज ज्योति आधारभूत विद्यालयको जग्गामा टहरो निर्माण गरेर आश्रम बनाए । अहिले केही भौतिक संरचना थपिएका छन् । तर, खाद्यान्न अभावको चरम अभावबीच संरक्षण केन्द्र गुज्रिरहेको छ । दीगो आर्थिक स्रोत नहुँदा खाद्यान्न अभाव हुँदै आएको चेपाङ संरक्षण केन्द्रका अध्यक्षसमेत रहेका केपीकिरण शर्माले बताए ।
दैनिक सहयोग संकलन गरेर चेपाङ बालबालिकालाई आवासीय सुविधासहित अध्ययन गराइरहेको केन्द्रमा अहिले चरम खाद्यान्न अभाव भएको शर्माको भनाइ छ । केन्द्रमा अहिले १६५ जना बालबालिका छन् । चितवन, मकनवापुरका चेपाङ बालबालिका यहाँ आवाससहित अध्ययन गरिरहेका छन् ।
उनीहरुका लागि एक दिनमा करिब ९० किलो चामल तथा त्यही अनुपातमा दाल, तरकारी चाहिन्छ । पर्याप्त सहयोग नजुटेका कारण अहिले दैनिक गुजारा चलाउन मुस्किल परेको अध्यक्ष शर्माले बताए । “भएको सबै खाद्यान्न सकियो”, उनले भने, “यी बालबालिकाको भोक टार्न हारगुहार गरिरहेको छु ।” छिटफुट सहयोग आइरहेको भएपनि त्यो पर्याप्त नभएको उनले बताए । “बालबालिकाको संख्या धेरै छ”, उनले भने, “सानो परिमाणको खाद्यान्नले धान्न मुस्किल भयो ।”
संरक्षण केन्द्रमा अध्ययन गरेकामध्ये अहिले एक जना छात्र सिभिल ईञ्जिनियर अध्ययन गरिरहेका छन् भने एक छात्रा स्टाफ नर्स सकेर जागिरको तयारीमा छिन् । संरक्षण केन्द्रमा खाद्यान्न अभाव रहेको थाहा पाएपछि लायन्स क्लब अफ सौराहाले शनिबार खाद्यान्न सहयोग गरेको छ । क्लबका अध्यक्ष शिरलाल परियारको नेतृत्वमा क्लबका पदाधिकारी र सदस्यहरु संरक्षण केन्द्र पुगी १५ दिनका लागि पुग्ने खाद्यान्न सहयोग गरेको केन्द्रका अध्यक्ष शर्माले बताए ।
यसैबीच संरक्षण केन्द्रले चितवनका युवा अभियन्ता अर्जुन भुषाललाई केन्द्रको दूत घोषणा गरेको छ । शनिबार आयोजित कार्यक्रममा केन्द्रका अध्यक्ष शर्माले उनलाई केन्द्रसँग सहकार्य गरी अघि बढ्ने गरी दूत घोषणा गरिएको बताए । सो क्रममा उनलाई सामाजिक अभियानमा प्राप्त गरेको सफलताको कदर गर्दै सम्मानसमेत गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट