जथाभावी फोहर गर्नेलाई जरिवाना लगाइँदै

विप्लव काफ्ले
भरतपुर, २५ साउन
भरतपुर अस्पताल अगाडिको बाटो छेउमा फोहर जलाइँदै थियो । फोहर जलाउने काम गरेको त्यो पसललाई महानगरले ५ हजार रुपैयाँ जरिवाना लियो । मालपोत कार्यालय परिसरभित्रको क्यान्टिनले साँझ फोहर जलाउँदै गरेको पाएपछि महानगरको टोली पुग्यो । अबदेखि जथाभावी फोहर नजलाउने सहमति गरेर छाडियो ।
वीरेन्द्र क्याम्पस पछाडिको एक पसलले फोहर जलाएकै बेला फेला पारेपछि ५ हजार जरिवाना गरियो । आन्तरिक राजस्व कार्यालय अगाडिको चोकमा रहेको फलफुल तथा तरकारी पसलले उखुका बोक्रा, प्लाष्टिक जलाएको भेटेपछि ५ हजार रुपैयाँ तिर्नुप¥यो । “साँझपख जथाभावी फोहर जलाउने गरेको भेटेका छौँ”, भरतपुर महानगरका सामाजिक विकास महाशाखा तथा आर्थिक विकास महाशाखाका उपसचिव प्रधुम्नप्रसाद उपाध्यायले भने, “सौन्दर्यताका लागि बिगार्ने काम गर्नेलाई आर्थिक ऐन २०७६ अनुसार कारबाही गरिनेछ ।”
बुधबारदेखि आकस्मिक अनुगमन सुरु भएको छ । उनका अनुसार फोहरमैला व्यवस्थापनमा असर पार्ने काम गरेमा १ हजारदेखि ५० हजार रुपैयाँसम्म, अनुमति नलिई विज्ञापन सामाग्री राखेमा, फूटपाथमा पसल र व्यापारिक सामाग्री राखेमा समान जफतसहित, निषेधित क्षेत्रमा पार्किङ गरेमा ५ देखि १५ हजार रुपैयाँसम्म जरिवाना लगाइनेछ ।
अनावश्यक ठाउँमा हर्न बजाएमा १० हजार रुपैयाँ, निषेधित ठाउँमा ठेला राखेमा ५ देखि २० हजारसम्म जरिवाना लगाइनेछ । “पहिलो चरणमा आकस्मिक अनुगमन टोली परिचालन गरेका छौँ”, उपाध्यायले भने, “सुन्दर, स्वच्छ शहर बनाउने अभियान चलाएका हौँ ।” महानगरले सूचनाका लागि टोलफ्री नम्बर १६६०५६५२२२२ समेत सञ्चालनमा ल्याएको छ । महानगरको फेसबुक, ट्वीटर वा कार्यालयको नम्बरमा समेत जानकारी दिएमा टोली कारबाहीका लागि फिल्डमा तत्कालै जानेछ ।
“वडाका टोल सुधार समितिले नै कारबाही गर्न सक्नेछन्”, उनले भने, “वडा कार्यालयमार्फत जरिवाना रसिद टोल सुधार समितिलाई वितरण गरिनेछ, प्रमाण भेटेमा कारबाही गर्न अनुमति दिने तयारी छ ।” उनले यो अभियानमा नगरबासी, सरसफाइ अभियन्तालाई समेत सहभागी गराइने बताए । जरिवाना गर्ने कर्मचारीलाई महानगरले १० प्रतिशत प्रोत्साहन रकमसमेत दिने जनाएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले आर्थिक ऐन कार्यान्वयन गराउन टोली नियमित परिचालन गरिने बताए । “जरिवानाबारे हरेक दिन माइकिङ गरेका छौँ”, उनले भने, “२ हप्ता नगर प्रहरीको गाडीमार्फत माइकिङ गरिसकेका छौँ, सार्वजनिक सूचना जारी गरेका छौँ, अब जथाभावी फोहर फाल्ने, बाल्ने, सतही ढलमा शौचालय मिसाएमा, गाइवस्तु छाडा छाडेमा कारबाही गर्नेछौँ ।”
महानगरमा १३ जना नगर प्रहरी–सुरक्षा गार्ड छन् । सरसफाइका १२ जना कर्मचारी छन् । जसमध्ये ३ जना सुरक्षा गार्डका रुपमा महानगरको गेटमा खटिन्छन् । प्रमुख प्रशासकीय अधिकृत, उपमेयरको कार्यकक्षमा १–१ जना खटिन्छन् । २ जना चालक छन् । “विगतमा फोहर जथभावी फाल्ने र फुटपाथमा पसल गर्नेलाई मात्रै कारवाही गर्दै आएका थियौँ”, नगरप्रहरी इञ्चार्ज मित्रबहादुर तामाङले भने, “अब ५० हजारसम्मको कारवाही ‘अन द स्पट’ गर्ने प्रावधान छ ।” उनले दैनिक ३ सिफ्टमा नगरप्रहरी परिचालन हँुदै आएको बताए । महानगरको नगरप्रहरी फूटपाथ व्यवस्थापनमा खटिँदै आइरहेको छ । “एउटा मात्रै पुरानो पीकअप भ्यान छ”, उनले भने, “२९ वटै वडामा पुग्न कठिन छ, नगरबासी नै जागरुक बने सफाइको अभियान सफल बन्छ ।”

नगर प्रहरी थपिँदै
भरतपुर महानगरले नगर प्रहरी थप्दैछ । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले ११ जना नगर प्रहरी थप्न लागेको जानकारी दिए । १–१ जना नगर प्रहरी निरीक्षक र सहायक नगर प्रहरी निरीक्षक र ९ जना नगर प्रहरी जवान राख्न लागिएको छ । जसमध्ये नगर प्रहरी निरीक्षकमा १ जनाको नाम नै संक्षिप्त सूचीमा परेको छ । सहायक नगर प्रहरी निरीक्षकमा ८ जनाको नाम शारीरिक परीक्षणमा सहभागी हुन पाउनेछन् ।
यस्तै नगर प्रहरी जवानमा ८६ जनाले दोस्रो चरणको परीक्षा दिन पाउनेछन् । भदौ ४ गते जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर–१० मा शारीरिक परीक्षण हुनेछ । महानगरले असार १८ गते नगर प्रहरीका लागि सूचना निकालेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट