त्रिशुली नदीमा बस खस्दा पाँच जनाको मृत्यु, भरतपुरमा ईनारमा डुबेर महिलाको ज्यान गयो

धादिङ, २४ साउन

आज बिहान धादिङको बेनिघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको यात्रु बस दुर्घटनामा मृतकको सङ्ख्या पाँच पुगेको छ । मोडमा पुगेपछि सिधै त्रिशूली नदीमा खसेको बस सडकबाट करीब १०० मिटर तल पानीमा डुबेर दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा सर्लाही जिल्ला निवासी ३५ वर्षीय अजय दास, २५ वर्षीय विजय कुर्मी र नाम वतन नखुलेको एक जना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनुभयो । यसैगरी नदीले बगाएर लगेको अवस्थामा मुग्लिन नजीकैबाट दुई जनाको लास प्राप्त भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा १६ जना घाइते भएकाले उपचार भइरहेको छ । घाइतेको राजमार्ग सामुदायिक अस्पताल मलेखु, प्राथमिक स्वास्थ्य केन्द्र गजुरी, राजमार्ग सामुदायिक अस्पताल गजुरी र ट्रमा सेन्टर काठमाडाँैमा उपचार भइरहेको छ । गजुरी अस्पताल धादिङमा उपचारपश्चात् डिस्चार्ज भएका घाइतेहरु सर्लाही जिल्ला गमहरिया नपा–८ बस्ने ३६ वर्षीय दिनेश ठाकुर, सर्लाही जिल्ला हरिपुर–७ बस्ने ३४ वर्षीय भोगेन्द्र चौधरी, सर्लाही जिल्ला औरही गापा–७ बस्ने १५ वर्षीय राहुल महत्तो मध्यम, सर्लाही जिल्ल्ला हरिपुर नपा–९ बस्ने अमृत लामा, सर्लाही जिल्ला कबिलासी लाठी गापा–६ बस्ने ३१ वर्षीय भुपेन्द्रकुमार यादव, सर्लाही जिल्ला कविलासी गापा–४ बस्ने ३३ वर्षीय विजय राय यादव, भारत विहार सीतामणि पनौलीथाना–४ बस्ने ४२ वर्षीय भिरेन्द्र ठाकुर रहेका छन् । काठमाडौँ ट्रमा सेन्टरमा उपचार भइरहेको घाइतेहरु भारत सीतामणि घर हुने ४० वर्षीय धिरेन्द्र ठाकुर, जिल्ला सर्लाही कविलास गापा–४ बस्ने अं ३२ वर्षीय विजय यादव, जिल्ला सर्लाही हरिपुर गापा–४ बस्ने २८ वर्षीय प्रमोद कुँवर, सहचालक सर्लाही जिल्ला मलङ्गवा नपा–११ बस्ने १६ वर्षीय सिकिन्द्रकुमार महतो, सर्लाही जिल्ला विष्णु गापा– ५ बस्ने २१ वर्षीय कुश रन्जम महतो, सर्लाही जिल्ला ब्रह्मपुरी बस्ने १६ वर्षीया श्वेता रौनियार, सर्लाही जिल्ला हरिपुर घर हुने बस चालक ४० वर्षीय जीवन विक, सर्लाही जिल्ला ब्रह्मपुरी–६ बस्ने २२ वर्षीय राकेश बैठा र अन्य दुई जनाको नाम खुलेको छैन ।

ना६ख ७४६९ नंको बस आज बिहान ३ बजेको समयमा नदीमा खसेपछि केही व्यक्ति पौडेर ज्यान बचाएका थिए । राति पौडेर ज्यान बचाए पनि बिहान ७ बजे मात्र दुई जनाको नदी किनारको खाँेचबाट उद्धार गरिएको थियो । यात्रु बसमा मलङ्गवाबाट ३९ यात्रु र हरिपुरबाट दुई यात्रु चढेको यातायात समितिले जनाएको छ । सोही गाडीमा सवार बी१६ नं सिटका यात्रु समिमराज अन्सारीका अनुसार सबै सिट भरिएर चार जना मानिस मुढामा बसेको र सवारी चालक दलका सदस्यबाहेक क्याबिनमा अन्य चार जना रहेका थिए ।

उनीहरु सबैको टिकट नभएको बताइएको छ । यातायात समितिले ३८ जनाको चलानी गरी पठाइएको स्पष्ट पारेको छ । उनीहरु सबैको उद्धार नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र रेडक्रसका स्वयंसेवक राजमार्ग उद्धारकर्ताहरुले गरेका थिए । रातिको समय भएकाले उद्धारमा समस्या आएको थियो । प्रहरीले चालक निदाएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ । रासस

 

ईनारमा डुबेर महिलाको मृत्यु

यसैबीच ईनार माथि चढेर कपडा सुकाउने क्रममा ईनार भित्र खसेर एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गैंडाकोट घर भई हाल भरतपुर महानगरपालिका–९ आदर्शचोकस्थित माइती घरमा बस्दै आएकी ४० बर्षीया ईन्द्रकला भुषालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । कपडा सुकाउन ईनार माथि चढ्दा ईनारको ढकनी भाँचिएर भुषाल तल खसेको प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयको टोलीले ईनार भित्र पसेर उनलाई बाहिर निकालेपनि बचाउन नसकिएको उनले बताए ।

करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एक युवकको चितवनमा मृत्यु भएको छ । अन्नपूर्ण पोल्ट्री फार्ममा वेल्डिङ गर्ने क्रममा खैरहनी नगरपालिका–१ का २९ वर्षीय अनिश महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान ९ः२० बजेको समयमा करेन्ट लागेर घाइते भएका महतोको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

 

दुर्घटनामा दुई जना घाइते

त्यस्तै, शुक्रबार विहान भरतपुरको हाकिमचोकमा म्याजिक गाडी र मोटरसाइकल ठोकिँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ । ना १ ज ५३५४ नम्बरको म्याजिक र ना ११ प १६३ नम्बरको मोटरसाइकल ठक्कर खाँदा प्रेमबस्ती बस्ने १६ बर्षीय सन्देश थापा र १७ बर्षीय मनिष न्यौपाने घाइते भएका हुन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट