विप्लव काफ्ले
जिबी सुनार चितवनमा हुने अधिकांश सांगीतिक कार्यक्रमको स्टेजमा उक्लिन्छन् । स्वरका धनी छन् । मेहनती छन् । विदेश जाने पासपोर्ट थन्काएपछि उनी सांगीतिक दुनियामा चम्केका हुन् ।
कञ्चनपुरको लालझाडीमा २०४४ सालमा जन्मेका उनको कर्मथलो चितवन हो । उनी भरतपुर–१५ स्थित फूलबारीमा आफ्नै कमाइले बनाएको घरमा बस्छन् । सानामा देउसी भैलोमा रमाउँथे । त्योबेला उनको गाउँमा लोकदोहोरीको खासै माहोल थिएन । हरेक तिहार उनको प्रतिभा देखाउने माध्यम बन्थ्यो । आफैले मादल बजाउँथे, भट्याउँथे, नाच्थे । कक्षा ७ मा उनको नेतृत्वको समूह जिल्लास्तरीय बाल गायन प्रतियोगितामा पहिलो भयो ।
जिबी स्कूलको वार्षिकोत्सवमा हरेक पटक मञ्चमा पुग्थे । उनलाई एसकुमारका गीत खुबै मन पर्थे । सुनाउँथे । उनलाई कञ्चनपुरको विजय माविमा गणित पढाउने शिक्षक दलबहादुर सार्कीले काखमा लिएर पूजामा गाइने दोहोरीमा सहभागी गराउँथे । “सरको काखमा बसेर मैले कयौंपटक दोहोरी गाउँथे, आफूभन्दा ठूला दिदी, र आमाहरुसँग सवाल–जवाफ गर्थें”, विगत सम्झदै जिबीले भने, “लाज मान्दै गाउँथे, त्यही अभ्यासले मलाई गीतसंगीतमा लाग्ने प्रेरणा दियो ।”
उनले स्कूले जीवनमै बाल गीत तथा गजल लेखेका थिए । पढाइ पनि अब्बल । ३ देखि १० कक्षासम्म उनी निरन्तर कक्षा प्रथम भए । एसएलसीमा ४३ जनाले परीक्षा दिएकोमा ३ जना मात्रै पास भएका थिए । जसमा उनी स्कूल प्रथम भए । “धेरैलाई विज्ञान र गणित विषय लाग्यो, मेरो पनि राम्रो नतिजा आएन”, उनी भन्छन्, “छात्रवृत्तिमै स्कूले पढाइ सकेको थिएँ ।”
उनको परिवार आर्थिक रुपमा कमजोर थियो । घरमा २ दाइ १ दिदी छन् । “ट्युसन पढाएरै मैले ११ र १२ पढेँ”, उनले भने, “प्लस टु सकेपछि ब्याचलरको पढ्ने पैसा भएन ।” उनले कैलाली बहुमुखी क्याम्पसमा गणित विषय लिएर प्लस टु सकेका हुन् । कक्षा १२ ले ११ लाई गरेको स्वागत कार्यक्रममा उक्लिएको मञ्च त्यसबेलासम्मकै ठूलो थियो उनका लागि । त्योबेला दोहोरी गीत गाउँदा निकै ताली पाएका थिए ।
घरायसी वातावरण बिग्रेपछि उनी भारत गए । “घरमा थाहा नदिई मुम्बई गएँ, अफिस ब्वाईको काम पाएँ”, उनी भन्छन्, “कमाएर फर्र्किपछि पढ्ने सपना थियो ।” उनका ठूला दाइ पहिल्यै शारदानगरमा बस्दै आएका थिए । आमा पनि कञ्चनपुरबाट चितवन झरिन् । भारतबाट फर्केपछि उनले २०६५ सालमा बिहे गरे । कमाएको पैसाले फूलबारीमा घर बनाए । फेरि भारत गए । त्यहाँ रहँदा उनमा जण्डिस देखियो । निको भएपछि नेपाल आए । “३ वर्ष जति भारत बसेँ, नेपाल आएपछि फेरि ट्युसन पढाउन थालेँ”, उनी भन्छन्, “भारतमा संगीतको कोर्ष गरेको थिएँ, त्यही सीपका आधारमा जागिर खोजेँ ।”

करिब २०६७ सालतिर चारतले दोहोरी साँझ भरतपुरमा जागिर खुलेको थाहा पाए । १ सय २० जनाले निवेदन दिए । छनौट भए । दोहोरी साँझमा काम पाए । “सानैदेखिको रहर पनि पूरा भयो, स्वर पनि निखार्ने मौका पाएँ”, उनी भन्छन्, “धेरै कलाकारसँग चिनजान पनि भयो ।” सुरु–सुरुमा दोहोरीमा गाउने कलाकार भनेर हेप्दा निकै निराश पनि बने । “कुनै कार्यक्रमलाई बूकिङ आउँथ्यो, दोहोरीमा गाउने भनेपछि भनेजस्तो पारिश्रमिक पाइन्थेन”, उनी भन्छन्, “पेसा नै छोडौँजस्तो लाग्थ्यो ।”
कमाइ खासै नभएपछि विकल्प सोच्दै थिए । उनका ठूलो दाइ कतारमा थिए । “पासपोर्ट बनाउ, भिसा पठाइदिन्छु भन्नुभयो”, उनी सम्झन्छन्, “रातारात पासपोर्ट बनाएँ, तर पछि ‘ब्याक’ हटेँ, जान्न भनिदिएँ ।” गीतसंगीतकै क्षेत्रमा जम्ने इच्छा पलायो । “२–३ वर्षमै निराश भएर हुँदैन भन्ने लाग्यो, अझै कडा परिश्रम गर्न थालँे”, उनले भने, “अहिले खुसी छु ।” २०७० सालदेखि उनले स्टेज कार्यक्रममा ‘अफर’ पाउन थाले ।
२०७२ सालममा ‘झल्को आउँछ माछीलाई खोलीको’ बोलको गीत रेकर्ड गराए । जुना डिसी र उनी मिलेर एल्बम निकाले । मौलिक लोकदोहोरी सो गीतले उनलाई चिनाउन सघायो । त्यही वर्ष ‘माइतैमा अँध्यारो चेली नहुँदा’ गीतमा स्वर दिए । २०७३ मा ‘अहिलेको तीजैमा’ बोलको गीत निकाले । त्यसमा पनि जुना डिसीले साथ दिइन् । ‘सुन हे सुन’ बोलको बाल गीत लेखे, संगीत भरे ।
२०७४ सालमा ‘फुरुरु नाच बरिलै’ बोलको गीत जुनासँगै मिलेर निकाले । २०७५ मा अनिल सुनार र शान्तिश्री परियारको स्वर रहेको दिलको कुनामा बोलको लोकदोहारी, प्रदीप मरहठ्ठाको स्वर रहेको ‘मादलको तालै राम्रो’ बोलको आधुनिक गीत, निश्चल विकको स्वर रहेको ‘तिमीलाई माया गर्ने मान्छे हुँ’ बोलको आधुनिक गीत जिबीले लेखेका हुन् । यी गीतमा उनैले संगीत दिएका छन् ।
गतवर्ष नै ‘जीवनको रंग’ बोलको लोकदोहोरी गीत जुनासँगै मिलेर रेकर्ड गराए । उनले हालसम्म ४० बढी गीतमा शब्द र संगीत दिएका छन् । करिब एक दर्जन गीतको म्युजिक भिडियोमा निर्देशन गरेका छन् । आफ्नै स्वरमा करिब १५ वटा गीत निकालेका छन् । “गीत लेख्दा, संगीत सिर्जना गर्दा र स्वर भर्दा निकै खुसी लाग्छ”, उनी भन्छन्, “राम्ररी पढ्न पाएको भए यो रहरै मात्र हुन्थ्यो होला ।”
उनी भरतपुर–१० को ग्रीनल्याण्ड पब्लिक स्कूल र भरतपुरकै अर्किड स्कूलमा आधारभूत संगीत कक्षा लिन्छन् । बालबालिकालाई गायन कला उजागर गर्न सिकाउँछन् । उनले करिब एक वर्षसम्म चारतले दोहोरी साँझको व्यवस्थापनको जिम्मा पनि लिए ।
गतवर्ष मोटरसाइकल दुर्घटनामा उनको अनुहार, दुबै कुम र ओठमा चोट लाग्यो । ३ महिना पूर्णआराम गरेपछि फेरि पुरानै लयमा फर्किएका छन् । उनले घाउ निको भएपछि केही महिना दोहोरीमा संगीत दिने र कलाकार संयोजनको काम मात्रै गरेका थिए ।

उनी हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल चितवनको सचिव छन् । उनी स्कूले जीवनका फूटबल खेलाडी पनि हुन् । सानामा गाविसस्तरीय नृत्य प्रतियोगितामा पनि प्रथम भएका थिए । खेल, पढाइ, कला क्षेत्रमा सानैदेखि अब्बल थिए ।
चितवनमा ९ वटा दोहोरी साँझ सञ्चालनमा छन् । हरेकमा १२–१६ जनासम्म कलाकारले रोजगारी पाएका छन् । “दोहोरीमा काम गर्ने अधिकांश कलाकार प्रतिष्ठानमा आबद्ध छन्”, उनले भने, “वृत्तिविकास, विपतमा सहयोग, ऐक्यबद्धताका लागि प्रतिष्ठान क्रियाशील छ ।”
दोहोरी साँझमा गीत गाउने, नाच्ने कलाकारलाई हेर्ने नकारात्मक सोच विस्तारै सुधार हुँदै गएकोमा उनलाई खुसी लाग्छ । “प्रतिष्ठाको पेसा हो, सबै अनुशासित बन्नुपर्छ”, उनले भने, “लोकदोहोरीमा आकर्षण ल्याउने काममा दोहोरी साँझले पनि सघाएका छन् ।” उनले संगीत सिकाएका कयौंले काठमाडौंबाट गीत निकाल्ने गरेका छन् ।
“राष्ट्रिय र स्थानीय कलाकार भनेर विभेद अझै हटेको छैन”, उनी भन्छन्, “देशको राजधानी बस्ने सबै राष्ट्रिय कलाकार हँुदैनन्, राजधानी बाहिर पनि थुप्रै राष्ट्रिय कलाकार छन्, योगदानका आधारमा पारिश्रमिकको व्यवस्था हुनुपर्छ ।” जिबी सनार र जुना डिसी अतिथि कलाकारका रुपमा करिब तीन वर्ष कालिका एफएमको खेलौं दोहोरी कार्यक्रममा गुञ्जिन्थे । स्रोतासँग प्रत्यक्ष दोहोरी गाउँथे । करिब १ वर्ष सिनर्जी एफएममा लोकभाका कार्यक्रममा जिबीले स्रोताले गाउने गीतमा संगीत दिन्थे । दोहोरीसँगै गाउँथे ।
तीजको मार्मिक मौलिक कोशेली
जिबी सुनारले माइती र चेलीको निकटता झल्काउने मौलिक भाकाको तीजगीत बजारमा ल्याएका छन् । ‘माइतीको देशैमा’ बोलको गीतमा जीबी र आधुनिक गायिका अपेक्षा गीरीको स्वर छ । यो गीत जिबी आफैंले लेखेका हुन् भने संगीत पनि आफैंले सिर्जना गरेका हुन् ।
साहारा फिल्म एण्ड इन्टरटेनमेन्टले गीत बजारमा ल्याएको हो । गीतको म्युजिक भिडियो छायाँकन शक्तिखोर र भरतपुरको धावन रिक्रिएसन एण्ड पार्टी प्यालेसमा गरिएको छ । जसमा जीबीसँगै नायिका अप्सना थापा र सुन्दर डल्लाकोटीले अभिनय गरेका छन् ।
शिवन पोखरेलले निर्देशन गरेको म्युजिक भिडियो शिलन लम्सालले सम्पादन गरेका हुन् ।
“माइती जान नपाएको, लिन जान नपाएका पीडा पोखिएका छन्”, गायक जिबीले भने, “मौलिक कथा छ, सबैको मन जित्ने विश्वास छ ।” युट्युवमा ३९ हजार पटक भ्यूज भइसकेको छ । “रत्यौली, ठट्यौली र उच्छृंखल गीतले बजार पाएका छन्”, उनी भन्छन्, “मौलिक भाका जगेर्ना हुनुपर्छ, आधुनिकताको नाममा पुरानो संस्कृति मेट्न हँुदैन ।”
,,





