चितवनमै पहिलोपटक सीएमसीले सुरु गर्र्यो कलेजो प्रत्यारोपण ‘ओपीडी’ सेवा, प्रत्यारोपण छिट्टै सुरु हुने

राजेश घिमिरे
भरतपुर, १२ चितवन
चितवन मेडिकल कलेज(सीएमसी)ले चितवनमै पहिलोपटक हेपाटोलोजी तथा कलेजो प्रत्यारोपण बहिरंग (ओपीडी) सेवा सुरुआत गरेको छ । आइतबार विश्व हेपाटाइटिस दिवसको अवसरमा अस्पतालले यो सेवा सुरु गरेको हो ।

 
कलेजो प्रत्यारोपणको स्वीकृती पाइसकेको अस्पतालले आइतबार देखि हेपाटाइटिस तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. सागर पौडेलमार्फत ओपीडी सेवा दिनेछ । कलेजो सम्बन्धी रोगका दक्ष जनशक्ति तयार भइरहेको जानकारी दिंदै अस्पतालले छिट्ट कलेजो प्रत्यारोपण सुरु गर्ने जनाएको छ । राजधानी बाहिर कलेजो प्रत्यारोपणको मान्यता पाएको पहिलो अस्पताल भएकाले आगामी दिनमा अस्पताललाई कलेजो प्रत्यारोपणको हब बनाउने लक्ष्य राखेको चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्राध्यापक डा. हरिसचन्द्र न्यौपानेले जानकारी दिए । प्रत्यारोपणको तयारी करिब ८० प्रतिशत सकिएको उनले बताए । “निकट भविष्यमा नै कलेजो प्रत्यारोपण गरेर राष्ट्रियरुपमा नै स्वास्थ्य क्षेत्रमा नयाँ सन्देश दिने तयारी गरेका छौं”,उनले भने, “कलेजोका बिरामीहरुलाई जीवनप्रतिको नयाँ आशा जगाउने हाम्रो जमर्को छ ।”
यसैबीच, विश्व हेपाटाइटिस दिवसको अवसरमा चितवन मेडिकल कलेज(सीएमसी)ले आइतबार विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । विहान ‘वाकाथन’बाट कार्यक्रम सुरु गरेको चितवन मेडिकल कलेजले दिउँसो अस्पताल परिषरमै रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
हेपाटाइटिसको बिषयमा सचेतना फैलाउने उद्देश्यले विहान सचेतना र्र्याली ‘वाकाथन’ गरिएको अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्राध्यापक डा. हरिसचन्द्र न्यौपानेले जानकारी दिए । अस्पताल परिषरबाट सुरु भएको र्र्याली मालपोत चोक, भरतपुर अस्पताल, जनस्वास्थ्य कार्यालय, दिपेन्द्र चोक हुँदै विरेन्द्र क्यापस चोकबाट पुनः अस्पताल आइपुगेर समापन भएको थियो ।
त्यस्तै, रक्तदान कार्यक्रममा ७२ जनाले रक्तदान गरे । २१ जना महिलाको सहभागिता थियो । त्यसैगरी निशुल्क स्वास्थ्य शिविरमा ६७ जनाले उपचार गराएको चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए । विश्व हेपाटाइटिस दिवसको अवसरमा अस्पतालले हेपाटाइटिसका बिरामीको दर्ता शुल्क निशुल्क गर्नुका साथै अन्य जाँचमा ५० प्रतिशत छुट गरेको थियो ।
हेपाटाइटिस बी र सी बाट २५ प्रतिशत खतरानक रोग (लिभर सिरोसिस् र लिभर क्यान्सर) लाग्न सक्ने भएकाले समयमै रोगको पहिचान गराएर उपचार गराउनु आवश्यक रहेको डाक्टर सागर पौडेलले जानकारी दिए । “हेर्दा तन्दुरुस्त देखिने व्यक्तिको पनि कलेजो बिग्रिएको हुनसक्छ”, डा. पौडेलले भने, “कम्तिमा बर्षमा एक पटक कलेजोको जाँच गराउनु आवश्यक छ ।” सामान्य स्वास्थ्य सम्बन्धी सचेतना अपनाउँदा मात्रै पनि हेपाटाइटिसबाट बच्न सकिने चिकित्सकहरु बताउँछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट