विप्लव काफ्ले
भरतपुर, १२ साउन
चितवनका दुग्ध किसानले मूल्य बढाउन लागेका छन् । किसानले दूधको मूल्य बढाउन दबाब दिएपछि जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले मूल्य बढाउने तयारी गरेको हो । शुक्रबार बसेको संघको बैठकले प्रतिलिटर दूधमा १० रुपैयाँ बढाउने निर्णय गरेको अध्यक्ष रत्नमणी न्यौपानेले बताए ।
“१–२ दिनमै घोषणा गर्दैछौँ”, उनले भने, “लागत बढेको छ, किसानले मूल्य नपाएपछि बढाउन बाध्य भएका हौँ ।” महंगी बढेपछि दूध उत्पादनको लागतसमेत बढेको उनको भनाई छ । “दाना, चोक्कर, औषधि, प्राविधिक सबैको मूल्य बढेको छ”, उनले भने, “किसानले बेच्दा मुस्किलले ४९ रुपैयाँ पर्छ, उपभोक्ताले किन्दा ८० पर्छ, किसानलाई राहत दिन मूल्य बढाउन लागेका हौँ ।” डिडिसीले दूधको गुणस्तर राम्रो भएको भन्दै दिँदै आएको अतिरिक्त अनुदान पुनः दिनुपर्ने, विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिनुपर्ने, दुग्ध उत्पादक सहकारीलाई कर छुटको व्यवस्था गर्नुपर्ने लगायतका माग सहित आन्दोलनका कार्यक्रम घोषणा गरिने उनले बताए ।
संघका उपाध्यक्ष कृष्ण सापकोटाले भारतबाट कच्चा दूध आयात बन्द नगरेसम्म आन्दोलन नरोकिने बताए । “पाउडर दूध रोकियो, तर कच्चा दूध ल्याउन दिइएको छ”, उनले भने, “सरकारी बठ्याईंले किसान मारमा छन् ।” उनले मापदण्ड, गुणस्तर बिनै भारतबाट कच्चा दूध आयात गर्ने काम तत्काल रोकिनुपर्ने बताए । “भारतबाट ६५ रुपैयाँसम्ममा दूध उठाउने, तर यहाँ डिडिसीले ४५ रुपैयाँमा पनि उठाउन नमान्न गरेको छ”, उनले भने, “स्वदेशी किसानलाई प्रोत्साहन गर्नुपर्छ, यहीको उत्पादनलाई मूल्य दिनुपर्छ ।” उनका अनुसार दुग्ध विकास संस्थान (डिडिसी ) मा बेच्दा ४ फ्याट र ८.२ एसएनएफ भएमा गाईको दूधको मूल्य ४९ रुपैयाँ किसानले पाउँछन् । ५ फ्याट र ८.२ एसएनएफ भएमा भैसीको दूधको मूल्य ६५ रुपैयाँ पर्छ । उपभोक्ताले गाईभैसीको ‘मिक्स’ दूध ६० र भैसीको दूध ८० रुपैयाँमा किन्दै आएका छन् ।
राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य भगिरथ तिमिल्सिनाले दूध उत्पादन लागत ६३ रुपैयाँ परेको बताउँछन् । “प्रतिलिटर दूधमा १० रुपैयाँ घाटा छ, महंगी बढेको छ”, उनले भने, “उत्पादन लागतनै बढेपछि दूधको मूल्य बढ्नुु स्वभाविक हो ।” उनका अनुसार ४० केजी चोक्कर ११ सय रुपैयाँमा पाइने गरेकोमा हाल १ हजार ५ सय रुपैयाँ पुगेको छ । प्रति केजी दानाको २८ रुपैयाँ मूल्य थियो । हाल बढेर ३५ रुपैयाँ पुगेको छ । पराल प्रति केजीको १२ रुपैयाँ पुगेको छ । ज्यामी शूल्क ८ सय देखि १ हजार पुगेको छ ।
सहकारी संघका सचिव किशोर वगालेले दूध उत्पादन बढेपछि मूल्य नपाएपछि किसानमा निराशा छाएको बताउँछन् । “चितवन दूधमा आत्मनिर्भर घोषणा भएपछि देशभरीबाट बाच्छी, पाडी किन्न चितवन आउने क्रम बढेको छ, उत्पादन बढेको छ”, उनले भने, “दूध उत्पादन दाना चोक्करमा आधरित छ, जसको मूल्य बढ्दा लागत बढेको छ ।”
चितवनलाई यही जेठ २९ गते दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको थियो । जिल्लामा दैनिक आवश्यक पर्ने न्यूनतम दूधभन्दा १ लाख ३४ हजार लिटर बढी उत्पादन भएको तथ्यांक सहित आत्मनिर्भर घोषणा गरिएको थियो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनको तथ्यांक अनुसार दैनिक २ लाख ८९ हजार ३ सय ३९ लिटर दूध उत्पादन हुने गर्छ । उत्पादित दूधमा भैसीको तुलनामा तेब्बर बढी गाईको देखिन्छ । चितवनलाई दैनिक १ लाख ६५ हजार ७५ लिटर दूध चाहिने अध्ययनले देखाएको थियो । १ व्यक्तिलाई न्यूनतमा २ सय ५० मिलिटिरका आधारमा जिल्लालाई आवश्यक परिणाम निकालिएको थियो । उत्पादित दूधको ५७ प्रतिशत चितवनमै र बाँकी ४३ प्रतिशत अन्य जिल्ला खपत हुन्छ । “घाँस खेती गर्न जग्गा प्रयाप्त छैन, भाडा पनि महंगिएको छ”, अध्यक्ष न्यौपानेले भने, “घाँसमा आधरित पुशपालन गर्न राज्यले अनुदानका कार्यक्रम अपुग छन् ।” प्रति लिटर दूधमा भरतपुर महानगरले १ रुपैयाँ, माडी नगरपालिकाले ३ रुपैयाँ अनुदान दिने गरी बजेट विनियोजन गरिसकेका छन् । प्रदेश–३ ले प्रति लिटर दूधमा १ रुपैयाँ अनुदान दिन १२ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । अन्य स्थानीय तहले पनि दूध बिक्रिका आधारमा अनुदान दिने तयारी गरिरहेका छन् । चितवनमा १ सय ३८ वटा दुग्ध सहकारी छन् । जसमध्ये १ सय ४ वटा संघमा आवद्ध छन् ।
पशु आहार व्यवस्थापनमा पशुपालकको चिन्ता
शिव शर्मा
भरतपुर, १२ साउन
पशुपालकहरुले पशुपालनका लागि आहारको व्यवस्थापनको बिषयमा कठिनाई भइरहेको बताएका छन् । उन्नत प्रजातिका दुधालु गाई पाल्नेक्रम बढेसंगै तिनीहरुको आहार मुख्य चिन्ताको बिषय बन्दै गएको छ । न्यून उत्पादन, उच्च माग, अनियन्त्रित र बिचौलियाले ग्रस्त बजारका कारण अहिले पशु आहारमा भारी मूल्य बृद्धि भएको छ । अहिले कच्चा पदार्थकोरुपमा प्रयोग हुँदै आएको मकैको मूल्य बढेसंगै दानामा भएको मूल्य बृद्धिले पशुपालक किसानको ढाड सेकाएको छ । पशु आहारकोरुपमा प्रयोग हुँदै आएको दाना, चोकरको मूल्यमा अहिले ३० प्रतिशत सम्म बृद्दि भएको छ ।
पशु आहार पशुपालक कृषकका लागि समस्याकोरुपमा देखिंदै गएपछि अन्नपूर्ण दूग्ध उत्पादन सहकारी संस्था गीतानगरमा पूर्ण मिश्रण सहितको पशु आहार उत्पादन सम्बन्धी छलफल भएको छ । बहुकृषि पशु आहार उत्पादन समूहको आयोजनामा व्यवसायिक किसान केन्द्रित अन्तरक्रिया एवम् छलफल थालिएको हो । छलफलमा चितवन भित्र र बाहिरका कृषकको सहभागिता थियो । सो अवसरमा पशुपालक किसानले दूध बिक्रीबाट भएको आम्दानीको ७० प्रतिशत लागत आहारमा खर्च गर्नुपरेको बताएका थिए । २४ घण्टामा एउटा दुधालु गाई भैसीलाई आवश्यक पर्ने पोषण तत्वको मात्रा समिश्रण गरि ब्लक निर्माण प्रविधिमार्फत तयार गरिएको आहार नै पूर्ण मिश्रण सहितको आहार हो । न्यून लागतको आहार व्यवस्थापनका लागि पूर्ण मिश्रण सहितको आहार (डि.टि.एम.आर.) कृषकका लागि निकै फलदायी हुने अन्नपूर्ण दुग्ध उत्पादन सहकारीका अध्यक्ष भगिरथ तिमिल्सेनाले बताए । “उत्पादन लागतका कारण किसानहरु पेशाबाट पलायन हुने सम्भावना बढेको छ । किसानको गोठ–गोठमा पुनः मिश्रण सहितको पशु आहार पु¥याउन सके किसानको आर्थिक आय आर्जनमा समेत वृद्धि हुनेछ”, अध्यक्ष तिमिल्सेनाले भने, “यो पशु आहार पशुपालनका लागि नयाँ आयाम बन्न सक्छ ।” २० देखि ३० प्रतिशत लागत घटाउन आफुहरु केन्द्रित भएको उनले बताए ।
भरतपुर महानगरपालिका भेटेरिनरी शाखा प्रमुख डा. सुरेन्द्र यादबले महानगरले पूर्ण मिश्रण सहितको पशु आहारको लागि समन्वय गर्ने गरि योजना बनाएको बताए । पराल, घाँस, भुस, हे, साइलेस मिलाएर हाइड्रोलिक प्रविधिमार्फत ब्लक तयार गरि पूर्ण मिश्रण सहितको पशु आहार तयार गरिन्छ । उनका अनुसार एउटा दुधालु गाईलाई तौलको आधारमा सामान्यतया २० किलो घाँस, ५ किलो सुख्खा पराल र ३ किलो दाना आवस्यक पर्दछ । दानाको मूल्य बढ्दै जाँदा स्थानीय स्तरमा उत्पादित कच्चा पदार्थको प्रयोगमार्फत पूर्ण मिश्रण सहितको पशु आहार बनाइने हुँदा लागत न्यूनीकरण गर्न सकिने प्रमुख यादवको बुझाइ छ ।
अत्याधिक लागत आहारमा खर्च हुने हुँदा आम्दानी र बचतमा क्रमशः गिरावट आएको छलफलमा सहभागी किसानहरुले बताएका थिए । न्यून लागतमा पूर्ण खाध्य तत्व भएको आहार प्रयोगगर्न सके आफुहरुको उत्पादन समेत वृद्धि हुने उनीहरुको भनाइ छ ।
अन्तरक्रियामा कास्की जिल्लाबाट ६ किसान सहित ४० जनाको सहभागीता थियो । सोहिक्रममा स्वच्छ दूधको उत्पादनका लागि किसानलाई ४ सय आल्मुनियमका क्यान र दुध छान्ने जाली वितरण गरिएको छ । अन्नपूर्ण दूग्ध उत्पादन सहकारीले प्लास्टिक क्यानको प्रयोग न्यूनीकरणका लागि क्यान वितरण सुरु गरेको अध्यक्ष तिमिल्सेनाले बताए । उनका अनुसार प्लास्टिकका भाडामा अप्रसोधित दूध लिएर हिँड्दा दूध बिग्रिने, भाडा सफा नहुने गर्दछ । जसका कारण दूधमा अम्लियपन बढ्न गइ गुणस्तरमा कमी आउँछ । भरतपुर–६ केशरबागमा रहेको अन्नपूर्णले अहिले दैनिक ५ हजार लिटर दूध संकलन गर्ने गरेको छ । अन्नपूर्ण दूग्ध उत्पादन सहकारी संस्थाले विविधिकरण मार्फत बजारीकरण गरि उपभोक्ता समक्ष दूधको बिक्री वितरण गर्दै आएको छ ।





