पिउने पानीको व्यवसायमा १३ करोड बढीको लगानी थपियो

राजेश घिमिरे
१२ साउन ।
सरकारले पिउने पानीको गुणस्तरमा कडाई गरेपछि चितवनलाई केन्द्र बनाएका पानी उद्योगहरुको लगानीमा १३ करोड भन्दा बढी थपिएको छ । सामान्य मेसिनको प्रयोग गरेर पानीको उत्पादन तथा बिक्री वितरण गर्दै आएका सबैजसो उद्योगहरुले अहिले लगानीमा वृद्धि गरेका छन् ।
चितवन तथा नवलपुर क्षेत्रमा २० वटा पानी उद्योगहरु सञ्चालन भइरहेका छन् । जसमध्ये १७ वटाले बोतलमा पानी भरेर बिक्री गर्छन् भने बाँकीले जारमा । गत बर्ष नेपाल सरकारले निर्देशिका जारीगर्दै बोतलमा पानी बिक्रीगर्नका लागि पूर्णरुपमा स्वचालित मेसिन(फुल्ली अटोमेटिक) हुनुपर्ने सहितको मापदण्ड जारी गरेको थियो । त्यसलगत्तै यहाँका सबै उद्योगहरुले ७० देखि ८० लाख सम्म लगानी थप गरेको नेपाल बोटल वाटर उद्योग संघ चितवन–नवलपुरका अध्यक्ष केशव घिमिरेले बताए । घिमिरेको पानी उद्योग नारायणगढको पोखरा वसपार्क नजिकै छ । उनले २० लिटरको जारमा ‘अमृत’ ब्राण्डको पानी बिक्रीगर्दै आएका छन् । जारमा पानी बिक्री गर्नेलाई सरकारले जारी गरेको निर्देशिकाले पूर्णरुपमा स्वचालित मेसिन अनिवार्य राख्न बाध्य गरेको छैन । तर उनले पानीमा गुणस्तर कायमगर्न करिब ५० लाख रुपैयाँ लगानी थप गरे । “स्वस्थ पानी पिउन पाउनु जनताको अधिकार पनि हो । सरकारले बाध्य नपारे पनि मैले मेसिनमा लगानी गरेको छु”, घिमिरेले भने, “पानीको स्वच्छता सम्बन्धी सचेतना कार्यक्रम नै गर्नेगरेका छौं ।” संघले गुणस्तरमा कमी नहोस् भनेर हरेक कुरामा ध्यान दिने गरेको उनले बताए ।
निर्देशिकाले पानी उद्योगहरुले सकेसम्म आफ्नै ल्याव र टेक्निसियन राखेर निरन्तर जाँचगर्न भनेको छ । निर्देशिकाले ४ महिनामा एक पटक जाँच गराउन भने अनिवार्य गरेको छ । यहाँका केही उद्योगहरुमा ल्याव त छ तर टेक्निसियनको अभाव छ । तरपनि पानी उद्योगहरुले १० देखि १५ दिन भित्रमा एक पटक पानीको जाँच गराइरहेको अध्यक्ष घिमिरे बताउँछन् । “भरतपुरस्थित क्षेत्रीय खानेपानी परीक्षण प्रयोगशालामा पानीको जाँचगरी अध्यावधिक गर्ने गरिएको छ”, उनले भने, “पिउन योग्य भएमात्रै स्टिकर टाँसेर उपभोक्त समक्ष पु¥याइन्छ ।”
संघका उपाध्यक्ष सोमप्रसाद काप्री विभिन्न समस्याका बाबजुत पनि पानी उद्योगहरुले लाखौं रुपैयाँ लगानी थप गरेर स्तरीय पानीको बिक्री वितरण गर्दै आएको बताए । “सरकारले अनिवार्य भनेपछि केही बाहेक सबै उद्योगहरुले पूर्णरुपमा स्वचालित मेसिन जडान गरे”, उनले भने, “नगर्ने बन्दै भए ।” तर सरकारले भने उद्योगहरुको हितमा कुनै कामगर्न नसकेको गुनासो उनले गरे । “यसै पनि चल्न गाह्रो भइरहेको उद्योगलाई लाखौं लगानीगर्न बाध्य गरायो । हामीले जसोतसो लगानी ग¥यौं तर हाम्रो लगानीको सुरक्षागर्न राज्यले कुनै काम गरेन”, काप्रीले गुनासो सुनाए । थपे, “राज्यको काम निर्णय गरेर लाद्ने मात्रै भयो । व्यवसाय कसरी चलिरहेको छ हेरेन ।” उनले मेसिन थप भन्ने, कर यति बढ्यो भन्ने उत्पादनमा के कस्तो भइरहेको छ भनेर नहेर्नु दुखद भएको बताए । तर पनि व्यवसायीहरुले पानीको गुणस्तरमा निकै ध्यान दिइरहेको उनको दाबी छ ।
जिल्ला प्रशासन कार्यालयको खाद्य निरीक्षण ईकाईका खाद्य निरीक्षक प्रदिप काफ्ले पूर्णरुपमा स्वचालित मेसिन जडान पछि चितवन क्षेत्रका पानी उद्योगहरुको गुणस्तरमा वृद्धी भएको बताए । पहिलेका मेसिनहरुबाट उत्पादित पानीको गुणस्तरमा धेरै प्रश्नहरु उठेपनि सरकारले निर्देशिका जारी गरेपछि गुणस्तरमा सुधार आएको उनले बताए । “निर्देशिकामा मेसिन बाहेक ल्याव, परीक्षण, पूर्वाधार, जनशक्ति, पोशाकलगायतका धेरै कुराहरु समेटिएका छन्”, उनले भने, “सबै कुराहरु एकैचोटी नभएपनि मूख्य कुरामा प्रगती भएको छ ।” थप मापदण्डको बिषयमा उद्योगीहरुसँग छिट्टै छलफलगर्ने योजना रहेको उनले बताए । साथै सबै उद्योगहरुमा निरन्तर जाँचगर्ने उनले बताए ।
पानीको मूल्यमा वृद्धि गरिंदै
पानी व्यवसायीहरुले पानीको मूल्यमा वृद्धि गर्नुपर्ने बताएका छन् । चार बर्ष अघि तोकिएको मूल्यमा सँधै पानी बिक्रीगर्न नसकिने भन्दै उनीहरुले मूल्य वृद्धी आवश्यक भइसकेको बताएका छन् । “हामीले पानीको मूल्य लिने होइन”, अध्यक्ष घिमिरेले भने, “पानी उत्पादनगर्दा लाग्ने लागत त उठ्नुप¥यो ।” उनले हालको मूल्यले बैंकको व्याज तिर्न र उद्योगको खर्च धान्न मात्र पुगेको भन्दै मूल्य वृद्धिबारे छलफल भइरहेको बताए । बिगतमा २० देखि २५ रुपैयाँ प्रति बोतल पानी बिक्री गर्दै आएका व्यवसायीहरुले २०७२ सालमा उपभोक्त अधिकार संरक्षण मञ्चले मूल्य बढी भएको भन्दै उजुरी गरेपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी विनोद कुमार सिंहको आग्रहमा प्रति बोतल मूल्य १८ कायम गरेका थिए । अहिले पनि त्यही मूल्य कायम छ । पानी खुद्रामा प्रति कार्टुन १ सय ५० तथा थोकमा १ सय ४० रुपैयाँमा बिक्री हुँदै आएको छ । संघका उपाध्यक्ष काप्री भन्छन्, “सरकारले भने अनुसारको लाखौं मूल्यको मेसिन भित्र्याएर अन्य मापदण्ड पनि पुरा गरेपछि सरकारले पनि मूल्य बढाएर व्यवसायमा सहज बनाइदिनुपर्छ ।”
चितवनका उद्योगहरुले अहिले दैनिक करिब तीन हजार पाँच सय कार्टुन पानी उत्पादन गरिरहेका छन् । उनीहरुको लक्ष्य दैनिक ५ हजार कार्टुन पानी उत्पादन गर्ने छ । चितवनको मुग्लिङमा रहेका दुई उद्योगहरुले मूलकै पानी प्रशोधन गरेर बिक्री गर्छन् भने अन्यले बोरिङ्बाट निकालिएको भूमिगत पानीको प्रयोग गर्ने गरेका छन् । चितवनमा उत्पादित पानी चितवनका साथै नवलपरासी र मकवानपुरका केही क्षेत्रमासमेत बिक्री हुन्छ ।
mmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmm

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट