किताब बिक्न राम्रो ‘कन्टेन्ट’ चाहिन्छः लेखराम सापकोटा

 चितवनमा पठन संस्कृति प्रवद्र्धनमा लेखराम सापकोटाको उच्च योगदान छ । खासमा उनी पुस्तक व्यवसायी हुन् । नारायणगढमा सम्पूर्ण किताब र सुनगाभा बुक हाउस सञ्चालन गर्छन् । चितवन र आसपास क्षेत्रका पाठकका लागि उनले रोजाइँका सबैजसो साहित्यिक पुस्तक उपलब्ध गराउँछन् । उनी कायाकैरनको साहित्यिक परिशिष्टाङ्क ‘शनिबासरीय’ का संयोजक पनि हुन् । आज विश्व पुस्तक दिवस । यसै छेकोमा उनीसँग हामीले पुस्तक र पठन संस्कृतिबारे भलाकुसारी गरेका छौं ।

१) चितवनका पाठक कस्ता छन् ?
अजीवका छन् । कसले कस्तो किताब पढ्छ भनेर सबैलाई अनुमान गर्नै सकिन्न । कुनै पाठक रोजेको किताब पढेर सन्तुष्टि मिलेन भने दोस्रोपटक फरक धारको किताब पढ्न खोज्छ । कोही एउटै विधा पढ्छन् भने कोही फरक–फरक किताब पढिरहन्छन् ।

२) किताब आफैं किन्छन् कि किनाइन्छन् ?
धेरैजसो पाठकले आफैं किन्छन् । कोही भने अरुको सिफारिसमा पनि किनेर, खोजेर पढ्छन् ।

३) ‘पठन’ संस्कृति हो कि फेसन ?
संस्कृति हो । किताबमा रुचि भएकाहरुले छनोट गरेको किताब पढेरै सक्छन् । पढ्दापढ्दै कुनै किताबले तानेन भने उसले पढ्न छोड्दैन । तर, अर्को किताब समातेर पढ्न भने बस्छ ।

४) पढेर प्रतिक्रिया जनाउने कत्तिका छन् ?
छन् । तर, थोरै । केहीले पढिसकेपछि किताबको बारेमा उब्जेका धारणा सामाजिक सञ्जाल अथवा छापाका माध्यमबाट पनि सार्वजनिक गर्छन् भने धेरैले प्रतिक्रिया जनाउँदैनन् । किताब पढिसकेपछिका धारणा आवश्यक परेको बेला साथी सर्कलमा सुनाउँछन्, नभए मनमै राख्छन् ।

५) कस्ता किताब बढी बिक्छन्, हल्लाखल्ला गरिएका कि ‘कन्टेन्ट’ गतिलो भएका ?
कन्टेन्ट राम्रो भएका किताब नै बढी बिक्छन् । बढी हल्ला गरिएका किताबलाई आजभोलि आम पाठकले प्रतिक्रिया पर्खेर बस्न थालेका छन् । अहिले लेखकभन्दा पाठक धेरै चलाख भइसकेका छन् ।

६) पठनीय किताब कसरी छान्ने ?
पाठकको आफ्नो रुचि पनि हुन्छ । धेरैले आफ्नै रुचिको किताब छान्दछन् । बजारमा आउने गरेका प्रतिक्रियाका आधारमा पनि किताब छनोट गर्न सकिन्छ ।

७) विद्युतीय जमाना हावी हुँदै गएको बेला किताबको भविष्य कस्तो देख्नुहुन्छ ?
डिजिटल पढ्नेहरु विश्व बजारमा धेरै छन् । नेपालमा पनि यो प्रचलन भित्रिइसकेको छ । अपवादलाई छाड्ने हो भने हातमा किताब समातेर पढ्नुको छुट्टै मजा हुन्छ ।

८) तपाईंजस्तो किताब बेच्नेलाई अनलाइन वा विद्युतीय माध्यम कत्तिको चुनौतीपूर्ण लाग्छ ?
सूचना र प्रविधिले मान्छेलाई खिचिसकेको छ । मान्छे हिजोआज फुर्सदमा पनि देखिन्नन् । अनलाइन या विद्युतीय माध्यम मानिसलाई सजिलो माध्यम बनेको छ । हिजोको जस्तो पसलमा ग्राहक कुरेर मात्रै बस्ने जमाना छैन । हामीले पनि यही माध्यमलाई पछ्याउनुको विकल्प छैन ।

९) आजै किन्ने योजना बनाएकालाई केही पुस्तक सिफारिस गर्नुस् ।
नयाँ पनि राम्रा किताब आएका छन् । किताब पारखीलाई पुराना किताब पनि पढ्न अनुरोध गर्दछु । ‘शिरीषको फूल’, ‘बसाइँ’, ‘पाताल प्रवास’, ‘शोकमग्न यात्री’, ‘प्याज अब्स्ट्रयाक्ट चिन्तन’, ‘सोच’, ‘अन्तर्मनको यात्रा’, ‘पानीको घाम’, ‘अलिखित’ पाठकलाई राम्रो खुराक बन्छन् । नयाँ आएकामा ‘कोरियाना कफी गफ’ र ‘मैदारो’ राम्रा पुस्तक हुन् ।

१०) आज दिवस मौकामा केही विशेष छन् कि ?
हामी पुस्तक पढ्ने बानी बसालौं भन्नेमा जोड दिन्छौं । दिवसको विशेष मौकामा सम्पूर्ण किताबमा केही ‘सरप्राइज’ छन् । दिनभर आज पुस्तक र पठन संस्कृतिबारे छलफल गर्नेछौं । लेखक र पाठकको जमघट गराउँदैछौं । अनुकूल मिल्नेलाई निम्तो छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट