प्रगतिपथमा गामवेशी संरक्षण केन्द्रः जहाँ छन् सर्वोत्कृष्ट चेपाङ

 विनोदबाबु रिजाल
रत्ननगर, ३० चैत

कालिका नगरपालिका–१०, सिद्धिकी सिमरन चेपाङ वैरिया माध्यमिक विद्यालय पढ्छिन् । यसपालि कक्षा ८ को नगरस्तरीय परीक्षा दिएकी उनले ‘ए’ ग्रेड हासिल गरिन् । परीक्षामा सामेल ७२ जनामध्ये उनी उत्कृष्ट बनिन् । गतसाल पनि उनी पहिलो भएकी थिइन् ।

पूर्वी चितवनको गामवेशी चेपाङ संरक्षण केन्द्रमा आश्रित उनको स्टाफ नर्स बन्ने रहर छ । गाउँमा पढ्दा ३ घण्टा हिडेर विद्यालय पुग्नुपर्ने बाध्यता थियो । तर, केन्द्रमा आएपछि उनले पढ्ने धोको पूरा गर्न पाएकी छन् । वैरिया मा.वि.का प्रधानाध्यापक युवराज शर्मा पौडेलले निकै नै अनुशासित र मेधावी छात्रा भएको बताए । “उनको पढाइ गतिलो छ”, उनले भने, “निकै अनुशासित छिन् ।”

मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिकाका रुवेन चेपाङ कक्षा एकमा उत्तीर्ण मात्रै भए । पहाडी क्षेत्र, घको गरीबी त्यसमाथि निकै विकट ठाउँ भएकाले चामलको भात खान दशैं नै कुर्नुपर्ने बाध्यता थियो । गिठ्ठा भ्याकुरको भरमा उनी आधा घण्टाको बाटो हिडेर विद्यालय जान्थे ।

चेपाङ अभियन्ता केपीकिरण शर्मा घुम्दै जाँदा रुवेनका बाबुुसँग भेट भयो । चेपाङ बालबालिकालाई आवासीय सुविधासहित अध्ययन गराएको थाहा पाएपछि रुवेनलाई पनि शर्माको जिम्मा लगाए । गाउँमा कक्षा एक पढेका रुवेनलाई चेपाङ संरक्षण केन्द्रमा राखेर कक्षा २ मा भर्ना गरियो । गाउँको भन्दा केही पढाइमा निखारता आएपनि कक्षा २ बाट रुवेन उत्तीर्ण मात्रै भए । ३ कक्षामा पुगेपछि उनको पढाइ निखारिदै गयो । उनको निखारपना कक्षा ७ सम्म घटेको छैन । कक्षा ३ मा पहिलो, ४ मा दोस्रोे र ५ मा उनी पहिलो नै भए । गतसाल कक्षा ६ र यसपालि ७ मा पनि उनी पहिलो नै भए ।

हाल वैरिया माविमा अध्ययनरत रुवेनको पहाडमा हुँदा खान लाउनै समस्या थियो । तर, बेसी झरेर दुई छाक खान र राम्रो लुगा लगाउन पाउँदा खुसी छन् । सँगै पढाइमा अब्बल बन्दै जाँदा झनै खुसी छन् । “गाउँमा छँदा गिठ्ठा भ्याकुरको भरमा विद्यालय जानु पथ्र्यो, कहिले त खानै पाइन्थेन”, रुवेनले भने, “यहाँ खान लगाउन पाएको छु, पढाइमा राम्रै छ, रमाइलो लागेको छ ।”

संयोग कस्तो भएको छ भने रुवेनको कक्षामा दोस्रो र तेस्रो पनि चेपाङ नै छन् । सँगै बस्ने, सँगै पढ्ने राजेन्द्र र शिवराम दोस्रो र तेस्रो भएका छन् । गतसाल ६ कक्षामा पनि उनीहरु नै थिए । सो विद्यालयमा हुनेखाने, टाठाबाठाका छोराछोरी पनि पढ्छन् । बाहुन, क्षेत्री, चौधरीका छोराछोरी पनि अध्ययन गर्छन् । तर, उनीहरु सबैलाई पछारेर रुवेनले पहिलो स्थान हात पारे । उनलाई राजेन्द्र र शिवरामले पछ्याए ।

यस्तै रत्ननगर–११ स्थित पञ्चतेज ज्योति आधारभूत विद्यालयमा कक्षा ५ बाट निशान्त चेपाङ पहिलो भएका छन् । गतसाल ४ कक्षामा पनि उनी पहिलो नै भएका थिए । चेपाङ संरक्षण केन्द्रमा आएर अध्ययन सुरुआत गरेका निशान्त सुरुकै वर्ष पहिलो भएका थिए । भरतपुर महानगरपालिका–२९, कविलास घर भएका निशान्त कक्षा २ मा दोस्रोे र कक्षा ३ मा पुनः पहिलो भए । घरको समस्याका कारण निशान्तलाई पनि उनका बाबुले चेपाङ संरक्षण केन्द्रमा ल्याएका थिए ।

सिमरन, रुवेन र निशान्त मात्रै होइन, पञ्चतेज ज्योति र वैरियामा पढ्ने सबै चेपाङ विद्यार्थी उत्कृष्ट भएका छन् । पञ्चतेजको कक्षा २ मा इशाक चेपाङ पहिलो, शैलेन्द्र चेपाङ दोस्रो र प्रदीप चेपाङ तेस्रो भएका छन् । त्यस्तै कक्षा ३ मा रमिता पहिलो, राजकुमारी दोस्रो र प्रचण्ड चेपाङ तेस्रो भएका छन् । त्यस्तै कक्षा ४ मा योजकुमार पहिलो, किरण दोस्रो र बसन्ती चेपाङ तेस्रो भएका छन् ।

 

यस्तै वैरियमा माविमा कक्षा ६, ७, ८ र ९ मा केन्द्रकै चेपाङ विद्यार्थी पहिलो भएका छन् । ६ मा मातृका पहिलो हुँदा असीम चेपाङ दोस्रो भएका छन् । कक्षा ८ मा सिमरनलाई पछ्याउँदै सुनिल चेपाङ दोस्रो भएका छन् । कक्षा ९ मा ईश्वर चेपाङ पहिलो भएका छन् । चेपाङ केन्द्रबाट वैरियामा करिब ५० जना विद्यार्थी जान्छन् ।

आर्थिक अभावका कारण बिहान बेलुका छाक टार्न समस्या पर्दै आएको चेपाङ संरक्षण केन्द्रमा रहेका विद्यार्थीको शैक्षिक अवस्थाप्रति सञ्चालक केपीकिरण शर्मा निकै खुसी व्यक्त गर्छन् । “आर्थिक अभावबाट गुज्रिरहेका छौं, मागेरै बिहान बेलुकाको छाक टार्नुपर्छ, कहिलेकाँही दाताहरुले सहयोग गर्छन्”, केन्द्रका अध्यक्ष शर्मा भन्छन्, “अभावका बीचमा पनि चेपाङ विद्यार्थीको शैक्षिक गुणस्तरप्रति खुसी छु ।” केन्द्रमा चितवन, मकवानपुर र धादिङका १ सय २५ जना चेपाङ बालबालिका आवासीय सुविधासहित अध्ययन गरिरहेको उनले बताए ।

चेपाङ संरक्षण केन्द्रको संरक्षणमा आएका चेपाङ विद्यार्थीमध्ये एकजनाले स्टाफ नर्सको प्रवीणता प्रमाणपत्र तह सकिसकेकी छन् । इच्छाकामना गाउँपालिका हात्तीबाङकी सर्मिला चेपाङले पूर्ण छात्रवृत्तिमा नाम निकालेर स्टाफ नर्सको तीन वर्षे कोर्स सकेकी हुन् । उनी हाल काममा लागेकी छन् । इच्छाकामना–२, गाईथलीका होमराज चेपाङले भरतपुरको नारायणी पोलिटेक्निक इन्स्टिच्युटमा सिभिल ईञ्जिनियरिङ सकेका छन् ।

केपीकिरणको एकसूत्रीय अभियान चेपाङ बालबालिकालाई शिक्षाको उज्यालो घामबाट वञ्चित नगर्ने हो । अरबको खाँडीमा परिश्रम गरेर फर्किएका उनी यही सपना बोकेरै रातोदिन चेपाङका लागि कुदिरहेका छन् । उनी धेरैजसो समय गाउँ डुलिरहन्छन् । स्कूल नगएका चेपाङ बालबालिका भए केन्द्रमा ल्याइहाल्छन् । तिनलाई विद्यालय पठाउँछन् । नतिजा पनि राम्रो आएपछि त उनी झनै हौसिएका छन् । “एक दिन १ हजार चेपाङ विद्यार्थी पढाएर देखाउने सपना छ”, उनले भने, “सबै चेपाङलाई शिक्षाबाट वञ्चित हुन नदिने अभियानमा छु ।”

यो अभियानलाई नजिकबाट नियालिरहेका रत्ननगर–१० का वडाध्यक्ष केशव आचार्य चेपाङ पढाउने अभियानलाई पुण्यकार्यको संज्ञा दिन्छन् । “निकै संघर्ष गरेर होस्टल चलाइएको छ”, उनले भने, “संस्थागतरुपमा चलेको जस्तो व्यवस्थित गर्न नसकिएपनि केटाकेटीको नतिजाले निकै उत्कृष्टता दिएको छ ।” उनी वैरिया मा.वि.का व्यवस्थापन समिति अध्यक्ष पनि हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट