धु्रवराज खनाल
रत्ननगर, ५ चैत
रत्ननगरस्थित लाईसियम बोर्डिङले विद्यार्थी बसन्त थापाको जन्मदिन मनाउने तयारी गर्दै थियो । रत्ननगर–१०, कैलाशटोल निवासी १४ वर्षीय बसन्त कक्षा ८ मा अध्ययनरत थिए । सोमबारै १४ पूरा गरी १५ वर्षमा पाइलाका टेकेका थिए उनले ।
साथीहरुलाई चकलेट खुवाउने योजना बुनेर बिहानको अतिरिक्त कक्षा सकी घर फर्किदै थिए । तर, उनले न त चकलेट बाँड्न पाए, न त विद्यालयले जन्मदिन मनाउन नै । उनी कहिल्यै विद्यालय नफर्कने गरी विदा भए ।

खाना खान घर फर्कदै गर्दा विद्यालय अगाडि पूर्व–पश्चिम राजमार्गको निपनीचोकमा बोलेरो पिकअपको ठक्करबाट उनको मृत्यु भयो । साईकलमा घर फर्कदै गर्दा उनलाई जेब्रा क्रसिङमै ना.४ च ५००७ नम्बरको बोलेरोले ठक्कर दिएको थियो । बोलेरोको ठक्करले उनी सडकमा पछारिए । पछाडिबाट आइरहेको ना. ५ ख ७५९५ नम्बरको ट्रकले ठक्कर दिएपछि बोलेर फेरि अगाडि बत्तियो र बोलेरो उनको ज्यानमाथि चढ्यो । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
“बसन्त साह्रै अनुशासित र मिहनेती थिए”, उनी पढ्ने बोर्डिङका प्राचार्य बसन्त अधिकारीले भने, “विद्यालयको चलनअनुसार उनको पनि जन्मदिन मनाउने तयारी गरेका थियौं, तर पाइएन ।” ज्यान गुमाएका बसन्त अनुसाशित र जेहेन्दार विद्यार्थीमध्ये आफ्नो रोजाइँका रहेको प्राचार्य अधिकारीले बताए ।
बोलेरोको ठक्करबाट सहकर्मीको मृत्यु भएपछि उनका साथीहरु, आफन्त तथा स्थानीयबासीले करिब तीन घण्टा सडक अवरुद्ध गरे । ठक्करपछि आक्रोसित स्थानीयले बोलेरो जलाउने प्रयास गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा धकेलाधकेल भयो । स्थानीयले भने इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी दयानिधि ज्ञवालीले आफूहरुलाई दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।
त्यसपछि विद्यार्थी र स्थानीयले सडकमै बसेर गाडी चल्न दिएनन् । करिब तीन घण्टाको प्रयासमा पनि बाटो खुलाउन नमानेपछि प्रहरीले अन्ततः बल प्रयोग गरेर यातायात चलायो । स्थानीयबासीले ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको थियो । जिल्ला प्रहरी कार्यालय चितवन, इलाका प्रहरी कार्यालय टाँडी, इलाका प्रहरी कार्यालय खैरहनी, इलाका प्रहरी कार्यालय भण्डारा र सशस्त्र प्रहरीको टोलीले अवरुद्ध बाटो खुलाएको थियो । दुव्र्यवहार गरेको भन्दै डिएसपी ज्ञवालीले घटनास्थलमा आएर माफी माग्नुपर्ने उनीहरुको माग थियो ।
डिएसपी ज्ञवालीले भने आफूले कसैलाई दुव्र्यवहार नगरेको दावी गरेका छन् । “कसैलाई दुव्र्यवहार गरेको भए प्रमाण ल्याउनुस्”, डिएसपी ज्ञवालीले भने, “गल्ती गरेको भए बर्दी उतार्न तयार छु ।” गाडी जलाउने प्रयास गरेपछि सामान्य धकेलाधकेल भएको उनले बताए । आक्रोसित स्थानीयले बा. ३ ख २५६० नम्बरको मिनीबस र ना. ७ ख ९६०५ नम्बरको ट्रकको सिसा फुटाएका छन् । ठक्कर दिने बोलेरो र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् ।





