कथा : काजी बा

धनराज गिरी

कस्तो रहेछ प्रेमडाँडा ? हरेक मुखमा त्यही तीर्थको नाम छ । राजधानीमा कोही सिसिमुनि र कोही ऋषिमुनिहरुका बीचमा चर्चा भयो । चर्चा भइरहन्छ । यो सामाजिक सञ्जालको युगमा हरेक कुरा भूमण्डलीकृत हुन्छ । यो प्रेमडाँडा पनि वैश्वविक भयो ।

प्रेममय हृदय भएका सच्चाप्रेमीहरु यहाँ पुगे । यहाँ पुग्न नपाउनेहरु पुग्न लालायित भए । किनकि यहाँ अक्सिजनको मात्र होइन, स्नेहको पनि ‘ओभरडोज’ मिल्ने सम्भावना हुन्छ । सम्भावना मात्रै किन, ग्यारेन्टी हुन्छ । प्रेमडाँडालाई यति प्रसिद्ध बनाउने पात्र हुन् काजी बा ।
अद्भुत काजी बा । उनलाई आफ्नो तीन जन्मको कुरा थाहा छ । हेर्दा बाघ भने हुने, बोली पनि बाघ गर्जिए जस्तै । कमजोर मुटु हुने पात्र उनको सामुन्ने पर्दैनन् । हिनग्रन्थीको मालिकलाई उनी चिन्दछन् । उनको पहिलो जन्मको कथा द्वितीय विश्वयुद्धबाट सुरु हुन्छ । पहिलो जन्ममा उनका पिता प्रेमबहादुर खत्री भारतीय सेनामा थिए, एकदम बलिया । त्यही भएर यी काजी बा पनि बलिया । उनी पनि पितापथगामी भए, बन्दुक समाए ।

फौजी रवाफ पाइन्छ काजी बामा । उनको थेगो नै छ ‘फिर करेंगे नौकडी, फिर पकडेंगे बन्दुक ।’ साह्रै मन मिले उनको अर्को पनि थेगो छ ‘ये दिल मिले का मेला है ।’ हिनग्रन्थीका मालिकहरुका लागि उनको थेगो ‘बडे लोगों कि बडे बाते ये क्या समझेंगे ।’ कडा स्वभावका लाग्ने काजी बाको पहिलो जन्मका उपकथाहरु अचम्मका छन् । उनी अनेक किस्सा सुनाउँछन् । उनले बोल्न थालेपछि ध्यान दिएर सुन्नुपर्छ । कसैले अनुशासन भंग गरेमा उनी चस्मा फुकाल्दै, लगाउँदै आफ्नो असली फौजी स्वभाव देखाउँछन् ।

लाइन त्यहीँबाट सुरु हुन्छ जहाँ उनी खडा हुन्छन् । दोस्रो जन्ममा काजी बा सरस्वती माताको इमानदार पुत्र भए । पढे । मजासित पढे । अगाडि बढे । उनलाई यहाँ पनि सफलता मिल्यो । प्राथमिक विद्यालयबाट यात्रा सुरु गरेका काजी बा विश्वविद्यालयका प्रोफेसर ‘खुराना, क्या बिगाडेगा तेरा जमाना’ को चरित्रमा स्थापित भए । झन्डै देवानन्द जस्ता देखिने त्यो युगको ‘एसबी सर’ अर्थात शान्तबहादुर खत्री सर पूरा ड्रेसअप भएर टक, टक, टक एउटा लेदर ब्याग समाएर कक्षामा प्रवेश गर्दा हिन्दी सिनेमा ‘बुलन्दी’ र महानायक ‘राजकुमार’ बिर्सने ।

चेलाचेलीमा उनी साह्रै प्रिय । कारण उनको प्राध्यापन शैली र विषयवस्तुको ज्ञान । उनी जान्ने भएरै जान्नेमा नाम दर्ज भएका थिए । आफूले जहाँ हात हाले, जेमा मन दिए, पूर्ण समर्पणको भावले काम गरे र सफल पनि भए । कुनै जमानाका गायक । घुम्तीमा नआउ है…, दूर रह कर ना करो बात…, कल रात जिन्दगी…। पछि गएर संस्थाको नायक भएर गरेको काम उनी सगर्व सुनाउँछन् । ना…ना…ना…कहाँ त्यति सजिलो थियो यार ।

थप्पड खाएको छु मैले, विद्यार्थी संगठनको नेतालाई नै परीक्षाबाट निष्कासन गरिदिएको छु, कामचोर प्राध्यापकहरुको जागिर खाइदिएको छु, कुरा गर्नुहुन्छ यार, आज जानुहोस् त्यो क्याम्पसमा, इमानदार कर्मचारी अझै मेरो नाम लिन्छन् । उनी आफ्नो दोस्रो जन्मको कथा यसरी सुनाउँछन् ।

तेस्रो जन्ममा काजी बा अर्थात एसबी सर अक्षरको खेतमा आए । शब्दको जंगलमा हराए । मुसामाथि कविता लेखे–आ सक्छस् भने मेरो भकारीको धान खा…।

भिडमा हराएका मानिस हुन् तर यो तेस्रो जन्मले उनलाई भिडसँग पनि चिनायो । स्वभाव यथावत ‘जो सुधर गया वो राज मलहोत्रा हि नहिं ।’ उनको जीवनदर्शन ओखरजस्ता कडा लाग्ने काजी बाको मन नौनी जस्तै नरम छ भन्ने कुरा धेरैले मेसो पाएनन् । मेसो नपाउनेहरुले सिक्काको एउटा पाटोको मात्र चर्चा गरे ।

उनको जीवनमा चार सन्तान आए । लक्ष्मी जस्ती जीवनसंगिनी, साक्षात् देवी । घरभरी मानिसहरू हुन्थे, एक जमानामा । भिडमा रमाएका खत्री बा, काजी बा, पछि बचेराहरुको पखेटा लाग्यो । उडे । गुँड रित्तो । वाटिका खाली, शून्य फूलको डाली । अनि मनमा एउटा योजना बनाए काजी बाले, प्रेमडाँडा निर्माण गरे ।

बेलाबेलामा भेला, घरमा मेला । तपाईंहरु आउनुहोस्, बस्नुहोस्, खानुहोस्, रमाइलो गर्नुहोस्, म यसरी कुरुक्षेत्रपछिको धृतराष्ट्र भएर बाँच्न सक्दिन । मेरी पियारी पनि भिडमा, हो–हल्लामा रमाउँछिन् । कुनैपनि चिन्ता लिनुपर्दैन । काजी बाको मन पग्लिन्छ । यो सुगन्ध बर्मा पुग्छ, यो सुगन्ध जर्मनी पुग्छ, अमेरिका, लण्डन हुँदै अस्ट्रेलिया पुग्छ । भूमण्डलीकृत हुन्छ ।

घाम लागेपछि उज्यालो त हुन्छ नै । काजी बालाई एउटा खास काम गर्न मन लाग्यो भने गरेरै छाड्ने । विचारमा पक्का । यो प्रेमडाँडाको निर्माणमा पनि उनको दृढ स्वभाव र बलियो इच्छाशक्तिले काम गरेको छ । इष्र्या, जलन, द्वेषबजार, धोबी उद्योग कहाँ हुँदैन र ? हरेक रामको भागमा एउटा न एउटा धोबी जन्मिएकै हुन्छ । काजी बा पनि अपबाद हुने कुरै आएन ।

बोसीजय, चर्चाप्रेमी, घमण्डी…आदिआदि मायालु पदकहरु उनले पनि पाए । उनको घरमा उनकै सोमरसपान गरेर उनलाई नै यसोउसो भन्नेहरूको पनि अनिकाल भएन । प्रत्यक्षमा प्रशंसा र परोक्षमा आलोचना सायद यो मानव संसारको स्थायी नियम हो । मान्छे यस्तै हो भनेर काजी बाले चित्त बुझाए ।

एउटा जोगीले सपनामा आएर उनलाई भन्यो–‘खत्री, यदि कुनै मानिसलाई मन पराउनु छ भने उसको सम्पूर्ण अवगुणलाई पनि अंकमाल गर्नु, सर्वगुण सम्पन्न मानिस यो धरतीमा कहिल्यै पनि जन्मिन्न । बर्दाश्त गर्नु राम्रो कुरा हो । तर, आफै निरीह हुने गरी कुनैपनि कुरा सहने काम नगर्नु ।’ जोगीका अर्तीले काजी बाको मन छोएछ, उनले आफैलाई सम्झाए–‘जो राह तु ने चुनी उसि राह पे राही चलते जाना रे ।’ अनि जोगीलाई पनि मनमनै भने–‘हे जोगी महाराज, तिमी मेरो सपनामा आयौ, बिपनामा पनि आउ । म तिमीलाई चिन्दछु, आइ लभ यु जोगी ।’ काजी बाको अनुहारमा दैवी चमक देखियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट