अर्जुन अविरलको खास नाम अगन्धर लुइँटेल हो । साहित्य क्षेत्रमा कलम चलाउँदै गर्दा उनलाई अर्जुन अविरल नामले स्थापित गरायो । अविरल पेशाले पत्रकारिता गर्छन्, पुस्तक व्यवसायी पनि हुन् उनी । कावासोतीमा उनको पुस्तक पसल छ । जिल्लाबाट निस्कने दाउन्ने साप्ताहिकका सम्पादकसमेत हुन् उनी । उनले नेपाली विषयमा स्नातकोत्तर गरेका छन् ।
पत्रकारिता र पुस्तक व्यवसायसँगै विभिन्न संघसंस्थामा पनि उनको बाक्लो सहभागिता छ । उनी प्रेस सेन्टर नवलपुरका कार्यवाहक अध्यक्ष हुन् । साधना संगम नवलपुरका अध्यक्ष हुन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ नवलपुर शाखाका सचिव तथा गण्डकी प्रदेशका सदस्यसमेत छन् उनी । त्यसैगरी साहित्य कुञ्ज नवलपुर र ज्याग्दीखोला साहित्य समाजका पनि सचिव छन् उनी ।
यिनै स्रस्टालाई हामीले फागुन महिनाभर ‘मेरो सिर्जना’ स्तम्भका पाहुनाका रूपमा उभ्यायौं । महिनाभरका सबै शनिबार उनकै साहित्यिक वृतमा रहेर सामग्रीहरु प्रकाशन गर्दै आयौं । अन्तिम श्रृंखलामा उनीसँगको कुराकानी प्रकाशन गरेका छौं :

तपाईंको बुझाईमा कविता के हो ?
कविता एउटा छोटो, मिठो सिर्जना हो जुन सिर्जनाले जो कसैको पनि मन छुन सक्छ । पद्य र गद्य दुवै तरिकाले लेख्न सकिने एउटा छोटो रचना कविता हो । जहाँ विभिन्न भाव विचारहरू व्यक्त हुन्छन् । जीवन दर्शन पनि भेट्न सकिन्छ ।
कविता किन लेख्नुहुन्छ ?
म आफ्नो विचार, आक्रोश अनि पीडा पोख्नलाई कविता लेख्छु । कविता लेखाईबाट आत्मसन्तुष्टि मिल्छ । समाजमा देखिएका विकृति, अन्याय, अत्याचारको विरूद्ध अनि राम्रा कामको प्रशंसाका लागि पनि कविता लेख्ने गर्छु ।
कविता लेखनलाई कस्तो वातावरण सहज लाग्छ तपाईंलाई ?
बिशेषगरी कुनै पनि कारणले मन छोयो भने कविता फुर्ने गर्छ । प्राय खुशीको क्षणमा भन्दा दुखको क्षणमा बढि रचना गर्ने गर्छु । दुखका क्षणहरू नै उपयुक्त वातावरण हो मलाई सिर्जना गर्नका लागि । जतिखेर केही सिर्जना आउँछ उतिखेरै लेखियो भने हुन्छ नत्र पछि लेख्छु भन्दा आउँदैन । केवल समयले साथ दिदैन मात्रै नत्र जतिबेला खाली तथा एक्लै हुन्छु, अनि लामो यात्रामा एक्लै हुँदा बढि सिर्जना आउने गर्छ ।
कविता लेखनमा कसरी होमिनु भयो ?
विद्यालय तह पढ्दै गर्दा पाठ्पुस्तकहरूमा पढिएका रचना र विशेषगरि मुनामदन पढेपछि मलाई कविता लेख्न मन लागेको हो । म कक्षा ४ मा पढ्दा खेरी नै पढेको लक्ष्मीप्रसाद देवकोटाको मुनामदन अनि मेरो पारिवारिक पीडाले नै मलाई कविता लेख्न बाध्य बनाएको हो । मनमा असह्य पीडा पर्दा सुन्ने र सुनाउने कोही नभए पछि आफ्ना पीडालाई डायरीमा कोरेपछि मनमा आनन्द अनि सन्तोष मिल्थ्यो । त्यसैकारण म कविता लेख्नमा लागें ।
कविताभन्दा बाहिर गएर कलम चलाउँदा कुन विधामा रमाउन मन लाग्छ ?
कविताभित्रका सबै विधा सहित कथा र नाटक विधामा कलम चलाउन मन लाग्छ । विद्यालय उमेरमै कथाको ठूलोरुप उपन्यासमा पनि कलम चलाएको थिएँ । भलै त्यसलाई प्रकाशित गर्न सकिएको छैन । पुराना हुँदै गएपछि पहिला आफैले लेखेको सिर्जना अहिले आफैलाई मन पर्न पनि छोड्यो । त्यसलाई परिष्कृत गरौं भने समयले साथ दिएको छैन । उच्च मावि पढ्दै गर्दा रहरैरहरमा एउटा कविता संग्रह ‘आँशुको मोल’ प्रकाशित गरियो । त्यसपछि अहिलेसम्म कुनै कृति प्रकाशित गरिएको छैन । आत्मपरक निबन्धहरु पनि लेख्न मन लाग्छ ।
पढ्नलाई आनन्द आउने बिधा कुन हो ?
मलाई पढ्नलाई आनन्द आउने विधा भनेको कविता नै हो । त्यसमा पनि विशेष गरि छन्द कविता । उपन्यास पढ्दा पनि उत्तिकै आनन्द आउँछ ।
समग्रमा नवलपरासीको काव्यिक गतिविधि कस्तो छ ?
दुई ढुङ्गाबिचको तरुल जस्तो नवलपरासी त्यसमा पनि गंैडाकोटका साहित्यिक व्यक्तित्वलाई चितवनले आफ्नो भनिदिने अनि दाउन्ने पारीका व्यक्तित्वलाई बुटवलले आफ्नो भनिदिँदा नवलपरासीको काव्यिक गतिविधि ज्यादै न्यून देखिन्थ्यो । तर अहिले पछिल्लो समय अनि नवलपुर जिल्ला भएस“गै विभिन्न साहित्यिक संस्थाहरु लागिपरेका छन् । विभिन्न साहित्यिक व्यक्तित्वहरुको जन्म जयन्तीमा विशेष कार्यक्रम भइरहेको छ । मासिक कार्यक्रम पनि भइरहेको छ । एकल, युगल वाचन कार्यक्रम, पुस्तक चर्चा कार्यक्रम पनि भईरहेको छ । पहिला जस्तो साहित्यिक कार्यक्रम सुन्न र हेर्न चितवन नै धाउन परेको छैन । त्यसैले पनि यतिबेला नवलपरासी पूर्व तथा नवलपुर जिल्लामा काव्यिक गतिविधि राम्रै चलिरहेको छ भन्न मिल्छ । पहिला भन्दा अहिले मिडियाको पनि विकास भएको हुँदा यस्ता गतिविधिलाई टेवा पुगिरहेको छ । महिनामा कम्तिमा पनि ३÷४ वटा साहित्यिक गतिविधि भइरहेका छन् । यसमा विशेष गरी साधना सङ्गमको मासिक कार्यक्रम, सिर्जन साहित्य प्रतिष्ठानको कफी र काफियाले पनि गतिविधि भइरहेको देखाएको छ ।
नेपाली साहित्यमा कविताको स्थिति कुन स्थानमा रहेकोे मान्नुहुन्छ ?
नेपाली साहित्यमा कविताको स्थिति उच्च नै रहेको छ । साहित्यमा रहेका विभिन्न विधामध्ये कविता एउटा सटिक र सरल विधा रहेकोले पनि यस्को स्थिति उच्च रहेको मान्दछु ।
कस्ता कविता पढ्न रुची लाग्छ तपाईंलाई ?
सरल भाषा जो कोहीले पनि बुझ्न सकिने खालका कविताहरु पढ्न रुचि लाग्छ मलाई । विशेष गरि लोक छन्दका कविताहरु जसले जनजीवनका यथार्थता र सत्यतालाई राम्ररी देखाएको हुन्छ । भन्न खोजिएका कुराहरु प्रष्टसँग भनिएका पनि हुन्छन् ।
नेपाली कविहरुबाट कति आशावादी हुनुहुन्छ ?
नेपालमा कविता लेखेर नै जीवन धान्नेहरु कमै छन् । आफ्नो पेशा, व्यवसाय वा कुनै रोजगारको साहारामा नै कविहरु बाँचेका छन् । कविहरु आफ्नो कृति बेचेर बाँच्न पनि मुस्किल छ । त्यैपनि नेपाली कविहरु राम्रै लेखिरहेका छन् । लेखाई रामै्र भएपनि बजार त्यति धेरै नभएको हुँदा प्राय कविहरु व्यवसायिक भन्दा पनि आफ्नो रहर अनि प्रतिष्ठाको लागि लेखिरहेका छन् । त्यसैले कविहरु अझै व्यवसायिक रुपमा निक्लन्छन् भन्ने मलाई लाग्दैन । त्यसैले नेपाली कविहरुबाट म त्यति आशावादी छैन ।
तपाईंलाई मन परेका कवि र कविता कृति बारे केही बताईदिनुस् न ।
मलाई मन परेको कवि भनेकै महाकवि लक्ष्मीप्रसाद देवकोटा हुन् । उनको मुनामदनले नै मलाई सबैभन्दा बढि प्रभावित बनाएको थियो । उनको भिखारी र पागल कविता पनि निकै मन परेको हो । उनको कुञ्जिनी खण्डकाव्य पनि उतिकै उत्कृष्ट लाग्छ । एक रातमा नै यति मिठो खण्डकाव्य लेख्न सक्ने उनको क्षमता देख्दा नै उनलाई मन परेको हो ।
बिदेशी कविहरुका पनि कविता पढ्नुभएको छ ? कस्ता लाग्छन् ?
विदेशी कविका कविताहरु खासै मैले पढेको छैन । भारतीय केही कविहरुको कविता फाट्ट फुट्ट त पढेको छु तर खासै चासो लिएर पढेको छैन । एक त पढ्ने त्यति समय नै व्यवस्थापन गर्न सकेको छैन । समय मिलिहाले पनि देशभित्रका लेखकहरुको कृति पढ्नलाई समय खर्चेको हुन्छु ।
अन्त्यमा तपाईंका पाठक शुभ चिन्तकलाई के भन्नुहुन्छ ?
२मेरा शुभचिन्तक तथा पाठकहरुलाई के भन्न चाहान्छु भने तपाईहरुले नेपाली साहित्यलाई माया गर्नुस् । सक्नु हुन्छ भने सिर्जना गर्नुस्, नसके अध्ययन गरिदिनुस् । साहित्यिक पुस्तकहरु किन्ने बानी बसालौं, उपहारमा पनि पुस्तक दिने गरौं ।




