भरतपुर, ९ फागुन
भरतपुर महानगरपालिकामा ‘त्रिपक्षीय द्वन्द्व’ को विषयले निकै चर्चा पाएको छ । मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले एकअर्कालाई आलोचना गर्न थालेका छन् ।
उपमेयर पार्वती शाह ठकुरीले मेयरले सर्वशक्तिशाली र एकाधिकार जमाउने व्यवहार देखाएको आरोप लगाएकी छन् । उनले प्रमुख प्रशासकीय अधिकृतले अभद्र व्यवहार देखाएको आरोप लगाउँदै आएकी छन् । मेयर रेनु दाहालले शाहले उठाएका विषयलाई खासै चासो देखाएकी छैनन् । उनले उपमेयरको अधिकारमाथि कहिल्यै रोकतोक नगरेको बताउँदै आएकी छन् । प्रमुख प्रशासकीय अधिकृतले प्रशासनिक सञ्चालनमा दोहोरो आदेश मान्य नहुने बताएका छन् ।
देशकै नमूना महानगर बनाउने उद्घोष गरेका जनप्रतिनिधि र कर्मचारीबीचको तालमेल नमिल्दा महानगर स–साना विवादमा अल्झिन थालेको छ । तत्कालीन अवस्थामा चुनाव जिताउन सघाएको कांग्रेस मेयरको विपक्षमा उभिएको छ । चुनाव हराउन लागिपरेको तत्कालीन एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिले पार्टी एकीकरण भएपछि मेयरलाई सहयोग गरेका छन् । भरतपुरमा प्रतिपक्ष नहुने आँकलन गरिएपनि अन्ततः सहकार्य टुट्दै जान थालेका घटनाहरु सतहमा आउन थालेका छन् ।
बुधबार साँझ शाहले विज्ञप्ति जारी गर्दै महानगरलाई राजनैतिक थलो र केन्द्र बनाउन खोजेको आरोप लगाएकी छन् । १२ बुँदामा समेटिएको उनको विज्ञप्तिमा लेखा समिति गठन नहुँदा अनियमितता बढेको, जिन्सी समिति गठन नभएको, समितिहरुमा एकलौटी गठन भएका, चरम आर्थिक अनियमितता भएकोलगायत आरोप छन् । कार्यपालिका बैठकमा एकलौटी निर्णयहरु ल्याउने गरेको विज्ञप्तिमार्फत उनले गुनासो गरेकी छन् । उनले स्थानीय सरकार सञ्चालन ऐनमा प्राप्त अधिकार उपप्रमुखको अधिकारलाई प्रयोग गर्न आवश्यक प्राविधिक र कर्मचारी नदिएको गुनासो उपमेयरको छ ।
“२४ औं कार्यपालिका बैठकसम्म धेरै गुनासाहरु सुनाएँ, तर सुनुवाइ भएनन्”, उपमेयर शाहले भनिन्, “मैले उठाएका विषय र सुरक्षाका विषयलाई विषयान्तर गर्ने काम सुरु भएका छन्, यसले महानगरलाई सबैको साझा बनाउने वातावरण विगारेको छ ।” उनले आफूले घरभाडा मागेको भनेर प्रचारबाजी गरिएको आरोप लगाइन् । उनले भनिन्, “मैले घरभाडा मागेको थिइन, आगामी दिनमा पनि माग्ने छैन ।” कयौं सञ्चारमाध्यममा ‘उपमेयरले आफ्नै घर भएर पनि घरभाडा मागेको र नपाएपछि बबण्डर गरेको’ आशयका समाचार प्रकाशित छन् ।
प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले पनि २ महिना पहिले उपमेयरले ‘घरभाडा लिन पाए हुन्थ्यो’ भनेर आग्रह गरेको बताएका छन् । “उहाँले आग्रह गर्नुभएको हो, तर घर भएकाले नपाइने व्यवस्थाबारे जानकारी गराएकै हो”, उनले भने, “तर, यो त्यति विवादको विषय बनेन ।” उनले उपमेयरको बेलाबखतका अन्य आग्रहलाई बेवास्ता गरेको भन्ने आरोपको खण्डन गरे । “दोहोरो आदेश मान्य हुँदैन भनेको हो । तर, मेयर नहुँदा अटेरी गरेको छैन”, उनले भने, “उहाँको पदको अवमूल्यन गरेको होइन । तर, विधिअनुसार चलौँ भनेको हुँ ।”
मेयर दाहालले उपमयेरसहितको नेतृत्वले मंगलबारको बैठक बहिष्कार गरेर गल्ती गरेको ठानेकी छन् । कायाकैरनले उनीसँग फोन सम्पर्क गर्न गरेको प्रयास सफल भएन । तर, उनीनिकट एक वडाध्यक्षले कर्मचारीका विषयलाई लिएर बैठक नै नरोक्न मेयरको आग्रह रहेको बताए । “मेयरसाब छलफलबाट समस्या समाधान गर्न सकिन्छ भन्नेमै हुनुहुन्छ”, ती वडाध्यक्षले भने ।
कांग्रेसको ध्यानाकर्षण
नेपाली कांग्रेस चितवनले उपमेयर पार्वती शाह ठकुरीलाई सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण भाषा प्रयोग गरी त्रासदीपूर्ण वातावरण सिर्जना भएकोमा ध्यानाकर्षण भएको जनाएको छ । सचिव उत्तम जोशीद्वारा जारी विज्ञप्तिमा ‘जनप्रतिनिधिको मनोबल उच्च रहनुपर्नेमा मनोबल गिराउने प्रयास भएको छ ।’ केही दिन पहिले उपमेयरको सचिवालयको फेसबुक पेजमा ‘आँखा नघुमाउनु र हात नलम्काउनु, हात छोटो बनाउन र आँखा सोझ्याउन आउँछ’ भन्दै ‘म्यासेज’ आएको थियो । सामाजिक सञ्जाल मार्फत धम्की दिने व्यक्तिलाई कानुन बमोजिम कारवाही गर्न माग गरिएको छ । सचिव जोशीले महानगरमा सहकार्य नगरी एकपक्षीय निर्णय गर्दै अघि बढे कांग्रेसले असहयोग गर्ने बताए ।





