आर्थिक समृद्धिका लागि निजी क्षेत्र उत्साही

प्रमिता ढकाल
भरतपुर, ९ फागुन
नेपालको ६० प्रतिशत जनशक्ति आर्थिकरुपमा सक्रिय छ । विश्व श्रम संगठन (आई.एल.ओ.) ले ६५ प्रतिशत जनशक्ति आर्थिकरुपमा सक्रिय रहे देश समृद्ध मान्छ । नेपालकै तथ्यांक हेर्ने हो भने अब त्यो प्रतिशत पुग्न समय लाग्ने देखिँदैन ।
करिब दुई करोड ६४ लाख ९४ हजार जनसंख्या रहेको नेपालमा ९१ लाखभन्दा बढी युवा छन् । तर, आर्थिक समृद्धितर्फ नेपालको लम्काई अझै सुस्ते देखिन्छ । ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार आयोजित ‘प्रजातन्त्र ः आर्थिक समृद्धि र निजी क्षेत्रको भूमिका’ विषयक अन्तरक्रियामा सहभागी उद्योगी व्यवसायीले प्रजातन्त्र स्थापनाको लामो समयसम्म पनि देश अँध्यारोमै रहेको भन्दै चिन्ता व्यक्त गरे । नीतिगत अस्पष्टता नै उद्योग व्यवसाय धरासयी हुनुको मुख्य कारण रहेको उनीहरुको ठम्याइ छ ।
नेपालका ९१ लाखमध्ये ४० लाख युवा अहिले वैदेशिक रोजगारीमा रहेको तत्थ्यांक छ । गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष सोम सापकोटाका अनुसार विश्वका एक सय १२ मुलुकमा नेपाली पुगेका छन् । विभिन्न प्रयोजनका लागि विदेशमा रहेका युवाबाट भित्रिने रेमिट्यान्सले चलायमान बनाएको अर्थतन्त्रलाई समयमै औद्योगिक विकासमा प्रयोग नगरे आर्थिक समृद्धि नारामा मात्र सीमित हुनेमा उनले सचेत गराए । गैरआवासीय नेपालीहरु देशको समृद्धिका लागि लगानी गर्न आँतुर रहेको भन्दै आर्थिक र बौद्धिक लगानीमा सकारात्मक साथको पर्खाइमा रहेको बताए । “बाह्य मुलुकमा समेत व्यापार, व्यवसायमा उल्लेख्य प्रगति गर्ने नेपालीको संख्यामा व्यापक वृद्धि हुँदैछ”, उनले भने, “आफ्नो बौद्धिक र आर्थिक लगानी स्वदेशमा गर्न उनीहरु आँतुर छन् ।”
कार्यक्रममा चितवन उद्योग संघका कार्यसमिति सदस्य युगराज वस्तीले कार्यपत्र प्रस्तुत गर्दै शीघ्रलाभको क्षेत्रमा मात्र लगानी गर्ने परिपाटीको अन्त्य गर्न आवश्यक रहेको आंैल्याए । “ ‘रिस्क फ्याक्टर’ (जोखिम तत्व)नभएको व्यवसाय उपयुक्त मान्न सकिन्न,” वस्तीले भने, “तर, यहाँ सबैको डर भनेको रिस्क कतिसम्म भन्नेमै छ ।” राजनीतिक अस्थिरता र नीतिगत अस्पष्टताकै कारण जोखिम लिन डराइरहेको उनले बताए । सो क्रममा उनले प्रजातन्त्रले उजागर गरेका सम्भाव्यताका बताउँदा कार्यक्रममा सहभागी उद्योगी व्यवसायीको मुहार उजेलियो । संघीयता कार्यान्वयन, फैलँदो डायस्पोरा, स्थायी सरकार र आर्थिकरुपमा सक्रिय जनशक्तिको अनुपात नेपाललाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने सम्भावनाका रुपमा उनले प्रस्तुत गरे ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधानले सीमित बजार, उच्च उत्पादन लागत, दक्ष कामदार तथा कच्चापदार्थको अभाव, आयातित वस्तुमाथिको परनिर्भरता, यातायातको असुविधा, अत्यधिक ढुवानी खर्चजस्ता कारण देशमा उद्योगको विकासमा बाधा पुगिरहेको बताए । चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेलले देशमा स्थायी सरकार बनेपछि केन्द्रदेखि स्थानीय सरकारसम्म उद्योग व्यवसाय प्रवद्र्धनमा सकारात्मक देखिएको वर्तमान अवस्थालाई सही उपयोग गर्न निजी क्षेत्रको हातेमालो आवश्यक रहेको बताए ।
सो क्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले उद्योग व्यवसायको सुरक्षाको ग्यारेन्टीराज्यबाट हुनुपर्ने जोड दिए । “राज्यले नै उद्योग सञ्चालन गर्नुपर्छ भन्ने होइन”, सभापति श्रेष्ठले भने, “तर निजी क्षेत्रलाई प्रोत्साहनका लागि सुरक्षाको ग्यारेन्टी त हुन प¥यो नि ।” सरकार परिवर्तन हुनासाथ नीति परिवर्तन गर्न हतार हुने परिपाटी अन्त्य नहुँदासम्म आर्थिक सम्बृद्धि सम्भव नरहेको उनले बताए । चितवनका सातवटै स्थानीय निकायले उद्योग प्रवद्र्धनका लागि एक नीति अपनाएर नमूना कार्य गर्न सक्ने उनले सुझाए ।
कार्यक्रममा भ्रष्टाचारविरुद्धको अभियान चितवनका संयोजक मीमबहादुर श्रेष्ठले सरकारसँग पहुँच भएकाहरुको हितमा हुने गरी पटक–पटक नीति परिवर्तन गर्ने परम्पराको अन्त्य नगर्दासम्म देशमा आर्थिक सम्बृद्धि नआउने दावी गरे । यस्तै व्यवसायी मनोज अर्यालले साना लगानीकर्ताले नै धेरै व्यवसाय धानेको अवस्थामा व्यवसायीलाई हतोत्साही गर्ने प्रकारका नीति हटाइनुपर्ने धारणा व्यक्त गरे ।
जिल्ला समन्वय समिति चितवनका संयोजक कृष्णकुमार डल्लाकोटी प्रमुख अतिथि रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, सुरक्षा निकायका प्रतिनिधि, उद्योग वाणिज्य संघ–चितवन र चितवन उद्योग संघका सदस्यलगायतको उपस्थिति थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट