संवेदनशीलता पहिलो सर्त

प्रमिता ढकाल
भरतपुर, ४ फागुन
भरतपुर अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवाको संवेदनशीलता बुझेर काम गर्न प्रेरित गर्दै कर्मचारीलाई उत्प्रेरणामूलक कार्यक्रम गरिएको छ । लैङ्गिक हिंसाबाट प्रभावित महिला तथा बालबालिकाका लागि एकीकृत र प्रभावकारी उपचारको व्यवस्थाका लागि स्थापित केन्द्रबाट सेवाप्रवाह गर्ने हरेक व्यक्तिमा संवेदनशीलता पहिलो आवश्यकता रहेको भन्दै कार्यक्रम गरिएको हो ।
अस्पतालका ६० जना इञ्चार्जलाई कार्यक्रममा सहभागी गराइएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले लैङ्गिक हिंसाको नियन्त्रण गर्न स्वचेतन आवश्यक रहेको बताइन् । हिंसापीडितलाई सेवा दिने नाममा बारम्बार गरिने प्रश्न र विवरणहरु पनि गलत हुन् भन्ने जानकारी गराउन पनि केन्द्रले आयोजना गरेको उत्प्रेरणात्मक कार्यक्रम प्रभावकारी हुने उनले विश्वास व्यक्त गरिन् ।
केन्द्रमार्फत प्रभावकारी सेवा दिन खटिने कर्मचारीमा संवेदनशीलतासँगै अब आम सर्वसाधारणलाई स्वजागरणका कार्यक्रमसमेत आवश्यक देखिएको उनको भनाइ छ । “जबसम्म हरेक व्यक्ति जागरुक हुँदैन कुनै न कुनै प्रकारका हिंसा भइरहनेछन्”, उपप्रमुख शाहले भनिन्, “स्वचेतन र स्वनियन्त्रणमा जागरण आवश्यक छ ।”
कार्यक्रममा राष्ट्रिय प्रशिक्षक सुदन ज्ञवालीले अस्पताल आफैमा संवेदनशील क्षेत्र रहेकोमा एकद्वार संकट व्यवस्थापन केन्द्र थप जिममेवार निकाय रहेको उल्लेख गरे । एकद्वार संकट व्यवस्थापन केन्द्रका हरेक तह र तप्काका कर्मचारी संवेदनशील नहुँदा समग्र समितिकै काम खलबलिन सक्ने उनले सचेत गराए । एकद्वार संकट व्यवस्थापन केन्द्रका जिल्ला संयोजक प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले हिंसाप्रभावितलाई सही समयमा उपचार तथा न्यायका लागि पहल गर्न सरकारले सुरु गरेको कार्यक्रम निकै महत्वपूर्ण रहेको बताए । केन्द्रमा काम गर्ने कर्मचारीहरुलाई आफ्नो भूमिकाप्रति थप जिम्मेवार हुन कार्यक्रम प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे ।
केन्द्रका सदस्य सचिव एवं अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट कृष्ण पौडेलले एकद्वार संकट व्यवस्थापन केन्द्रको महत्वबारे प्रकाश पारे । एकद्वार संकट व्यवस्थापन केन्द्रका निर्देशिकाले विना भेदभाव हिंसापीडित र प्रभावितलाई स्वास्थ्य सेवा, कानूनी तथा अन्य आवश्यक परामर्श सेवा र पुनस्र्थापनासम्मको व्यवस्था गरेको छ ।
निर्देशिकाअनुसार हिंसाप्रभावितको स्वास्थ्यसम्बन्धी विवरण संकलन, परीक्षण उपचार अभिलेखीकरण, शारीरिक चोटपटकको उपचार गर्ने, कानूनी प्रमाणका लागि आवश्यक पर्ने नमूनाको संकलन, परीक्षण एवं संरक्षण, गर्भ परीक्षण तथा आकस्मिक गर्भ निरोधक सेवा र यौनजन्य संक्रमणको उपचार तत्काल अस्पतालले गर्नुपर्नेछ । हिंसापीडित व्यक्ति सबैभन्दा पहिले आउने स्थान अस्पताल भएकोले पनि यहाँका कर्मचारीमा पीडितको संवेदना बुझ्ने क्षमता हुनुपर्ने अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. कृष्ण पौडेलले बताए । “व्यवस्था र संरचना मात्र भएर पीडितलाई न्याय प्राप्त गर्न सहज हुने होइन”, मेसु पौडेलले भने, “समन्वय गर्ने व्यक्तिको व्यवहारमा पनि धेरै कुरा निर्भर हुन्छ ।”
केन्द्रले लैङ्गिक हिंसापीडितको शारीरिक उपचार तथा परामर्श, भर्ना अवधिभर आवाससहित सबै सेवा निःशुल्क, न्याय तथा सुरक्षाको र पुनस्र्थापनाको समेत व्यवस्था गर्नुपर्छ । सो क्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह ठाकुरले लैङ्गिक हिंसामा परेका मानिसहरुको उद्धार गर्नका लागि एकद्वार प्रणाली प्रभावकारी भएको बताएका छन् । “हामीकहाँ विभिन्न प्रकृतिका लैङ्गिक हिंसामा परेका घटना आउने गर्छन् जसको सहज व्यवस्थापन मुस्किल हुन्छ”, उनले भने, “एकद्वार प्रणालीका कारण उपचार, व्यवस्थापन र पुनस्र्थापनसमेत सहज भएको छ ।” समितिमा जिल्ला समन्वय समिति, सरकारी वकिल कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला बाल कल्याण समिति, जिल्लामा रहेका पुनस्र्थापन गृहहरु रहेका छन् ।
यसैबीच भरतपुर अस्पतालले चालु आर्थिक वर्षको पुस मसान्तसम्म अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रबाट ७५ जनालाई सेवा प्रदान गरेको छ । जबरजस्ती करणीमा परेका ७० जना बालिका तथा किशोरी र बाँकी पाँच जना घरेलु हिंसामा परेका महिलालाई सेवा प्रदान गरेको हो ।अस्पतालका सुचना अधिकारी गोपाल पौडेलका अनुसार गतवर्ष लैङ्गिक हिंसामा परेका दुई सय २७ जनालाई केन्द्रमार्फत सेवा प्रदान गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट