चितवनमा २३ जना जुवाडे पक्राउ

भरतपुर, ४ फागुन
प्रहरीले बिहीवार राति जुवा खेलिरहेको अवस्थामा ठूलो रकमसहित २३ जना जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले ९ लाख ३२ हजार ८ सय १३ रुपैयाँ नगदसहित ती जुवाडे पक्राउ गरेको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक चिनीमाया तामाङको कमाण्डमा गएको प्रहरी टोलीले भरतपुर महानगरपालिका–११, भोजाडस्थित छिन्केश्वरी टोलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । छिन्केश्वरी टोलको एक व्यक्तिको घरको दोस्रो तलामा कौडा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा साढे ११ बजे छापा मारेर उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरले जानकारी दिए ।
पक्राउ पर्नेहरु १२ जना चितवनका, तनहुँका २ जना र गेरखाका ९ जना छन् । उनीहरु पेसेबररुपमा कौडा खेल्ने गरेको अनुसन्धानबाट खुलेको राठौरले बताए । बिहीबार दिउँसो गोरखासमेत पुगेर जुवा खेलेका उनीहरु प्रणय दिवस (भ्यालेनटाइन्स डे) को अवसर भन्दै भरतपुरमा आएर कौडा खेलेको राठौरले बताए । उनीहरुले घरमा बाहिरबाट ताल्चा लगाएर जुवा खेलेका थिए । उनीहरुलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अन्तर्गत जुवा कसुरमा अनुसन्धान गरी कारबाही गरिने प्रहरीले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको र सबैलाई जुवा ऐनअन्तर्गत कारबाही गरिने राठौरले बताए । जिल्ला प्रहरी कार्यालय चितवनले गएको दशैं तिहारको समयमा मात्रै १ सय २० जना जुवाडेलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।
जुवातास खेल्नु र खेलाउनु कानूनविपरीत कार्य भएको र यसबाट समाजमा समेत नकरात्मक असर पर्ने भएकोले जुवातास नखेल्न÷नखेलाउन सर्वसाधारणलाई जिल्ला प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट