भरतपुरमा कविता, गैंडाकोटमा गजल

लेखराम सापकोटा

भरतपुर, २६ माघ

शनिबारको बिहान बाहिर घाम र पानीले जुहारी खेलिरहेका थियो । बल्ल बल्ल झुल्किएको घामलाई कालो बादलले घर्लप्प छोप्थ्यो र सिमसिम पानी पर्थ्यो । कविता पारखीहरु त्यसको प्रवाह नगरी क्षेत्रपुरस्थित रामेश्वर पुस्तकालयको सभाहलमा जम्मा भए । अराजक अक्षर समूहले आयोजना गरेको काव्य मेला कार्यक्रम अन्तर्गतको ८ औं शृङ्खला कवि फूलमान बल र रन्जना लिम्बुको कविता वाचन थियो । पछिल्लो केही दिन यता देशभरको मौसममा आएको प्रतिकुलताले हवाई उडान नियमित थिएन ।

१० बजे बोडिङ पास लिएका कवि बलको उडान १ बजेपछि मात्रै हुने जानकारी आयो । यता कविता सुन्न १२ बजे नै जम्मा भैसकेको भीडलाई आयोजकले निराश पार्न चाहेन । कवि फूलमान बल नउडे पनि यता कवि रन्जनाले आफ्ना कविता सुरु गरिन् । उनले मैले बोल्दा यो देशको नक्सा हल्लिन्छ शिर्षकको कविताबाट वाचनको शुरुआत गरिन् । घडी बाँधेर पनि समयको महत्त्व नबुझ्नेहरुलाई कटाक्ष गर्दै घडी शिर्षकको कविता सुनाइन् । उनले आदाङ्बे, गुनासो, शौचालय र घुम्ती निरको चियापसल शिर्षकका अरु कविता पनि सुनाइन् । मन्दिर, मस्जिद, चर्च, चैत्य, गुम्बामा भेदभाव गर्ने मानवजाती शौचालयमा भने बिना भेदभाव रमाइरहेको रमाइलो प्रसङ्ग शौचालय शिर्षकको कवितामा उनले उतारेकी छन् । कवि लिम्बुले कार्यक्रममा कुल नौ वटा कविता सुनाइन् ।

घडीले दुई बजेको संकेत गर्ने बित्तिकै कवि फूलमान बल कार्यक्रम हलमा भित्रिए । प्राबिधिक कारणबश आउन ढिला भएकोमा क्षमा माग्दै उनले सरासर कविता सुनाउन थाले । बागमती किनारबाट उडेर निमेषभरमै नारायणी किनारमा आएका उनले बाग्मतीको आत्मलाप शिर्षकको कविताबाट वाचन शुरुआत गरे । पछिल्ला दिनहरुमा कन्चन बनेको बाग्मतीको सभ्यता पनि कवितामा छचल्किएको थियो । आउँदै गरेको प्रेम दिवसलाई लक्षित गरेर उनले भ्यालेन्टाइन डे को जून शिर्षकको कविता सुनाए । त्यसपछि उनले क्रमैसँग इन्द्रेणी गीत, न्यूज, शीतलहर, आजका मान्छे लगायतका कविता सुनाए । समग्रमा फूलमान बलले कर्णप्रिय कविता सुनाए । शान्त स्वभावका कविका कविता पनि शान्त थिए, समीक्षक उदय अधिकारीले उनका कविता सुनेपछि प्रतिक्रिया दिँदै भने – उनका कविता उनिजस्तै सरल र मीठासयुक्त छन् । कविता सुन्दै जाँदा कविताको भावले स्रोतालाई गम्भीर बनाउन सक्ने शक्ति उनमा देखें । त्यसो त फूलमान बल बजारमा चलेका कवि मध्यका युवा कवि हुन् । उनको २०६९ सालमा महाभारतकी मैच्याङ शिर्षकको कविता संग्रह प्रकाशित छ । उनी हाल कान्तिपुर दैनिकमा आवद्ध छन् । दैनिकको कला र शैली बिट उनले हेर्ने गरेका छन् । कवि रन्जना लिम्बू भने चितवन मै बसोबास गर्छिन् । उनको माइतीघर झापाको बिर्तामोड हो ।

सानैदेखि कवितामा रुचि भएकी उनले कविता लेख्न सुरु गरेको धेरै भएको छैन । पोखरा हुँदै चितवन बस्न थालेपछि यहाँको माहोलले कविता कोर्न सिकाएको उनि बताउँछिन् । दुबै स्रस्टालाई यसरी एउटै मन्चमा उभ्याउने काम भने मुकुन्द खलपात्रले गरेका हुन् । खलपात्र साहित्यमा रुचि भएका नायक स्वभावका पात्र हुन् । उनले चितवनमा नाटकलाई पनि अगाडि बढाउन सकिन्छ भनेर लागिपरेका छन् । कविता सुनेर सकिन नपाउँदै शनिबार नै गैंडाकोटमा गजल वाचनको अर्को शृङ्खला सुरु भयो । कविता सुनेर उठेका स्रोता नारायणीको पुल तरेर गैंडाकोट पुगे । नारायणी किनारमा रहेको एसपिएम कलेजमा गजल सुन्न एउटा टोलि जम्मा भैसकेको थियो । यताबाट गएको टोली त्यसैमा मिसियो । चितवनकी अम्बिका कार्कीसँगै म्याग्दीबाट आएका घायलश्री गजल सुनाउन मन्चमा उभिए । सिर्जन साहित्य प्रतिष्ठानले आयोजना गरेको युगल गजल वाचन कार्यक्रम कफी र काफियामा प्रस्तुत भएका गजलकारले दस दस गजल सुनाए । दुबैका अधिकांश गजल प्रणय भावले सिंगारिएका थिए ।

सामाजिक, राजनीतिक र देशप्रेमका थोरबहुत झलक बाँकी गजलमा देखिन्थे । दुबै स्रस्टाले कार्यक्रमको अन्तमा गजलमै सवालजवाफ गरे । कुल बाह्र सेरको सवालजवाफ दर्शक, स्रोताले रूचीपूर्वक हेरेका थिए । घायलश्री पचासको दसकको मध्यतिरबाट साहित्य क्षेत्रमा लागेका स्रस्टा हुन् । उनले पचासको दसकमा मोफसलका स्रस्टामाझ लोकप्रिय रहेको हवाइ पत्रीका पहाडी गोरेटो र दाउन्ने सम्पादन गरेका छन् । गजल, कविता र समालोचनामा कलम चलाउने उनी म्याग्दी संचार साप्ताहिकका सम्पादक पनि हुन् । उनको तिमी र म गजल संग्रह प्रकाशित छ । उनले देशका विभिन्न ठाउँमा पुगेर पनि रचना वाचन गरिसकेका छन् । अम्बिका कार्की चितवन बस्न थालेदेखी साहित्यमा अलि बढी सक्रिय भइन् । विशेषगरी गजल क्षेत्रमा रहेर कलम चलाउन थालेकी उनको संकल्प १०१ गजल संग्रह प्रकाशित छ । यी दुबै स्रस्टालाई गजल सुनाउनका निमित्त उभ्याइएको कार्यक्रमका सभापति सुजन अधिकारीले बताए । कफी र काफिया मासिक युगल गजल वाचन शृङ्खला हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट