
रत्ननगर, १५ कार्तिक
रत्ननगर–१५ माधवपुरमा बुधबारदेखि श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ तथा शैक्षिक महोत्सव सुरु भएको छ । सो वडामा रहेको आधारभूत विद्यालय माधवपुर (१–८) हरियालीटोलमा मावि कक्षा र व्यवसायिक तथा प्राविधिक शिक्षा सञ्चालनको लागि आर्थिक संकलन गर्न आयोजित महायज्ञको प्रदेश सभा साँसद कन्चन खनालले उद्घाटन गरेकी थिइन ।
सो अवसरमा उनले समुदायको लगानीमा विद्यालयको शैक्षिक गुणस्तर र पूर्वाधार निर्माणको लागि महायज्ञ लगाउनु उदारहणीय काम भएको बताइन । राज्यको मात्र मुख ताक्दा अपेक्षाकृत लक्ष्य हासिन गर्न समय लाग्ने भन्दै उनले समुदायको सक्रियतामा विद्यालय बनाउन खोज्नु सकारात्मक कदम भएको बताइन । कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले नगरपालिकाले लिएको लक्ष्य अनुसार नै आधारभूत विद्यालय माधवपुरले व्यवसायिक तथा प्राविधिक कक्षा सञ्चालन गर्ने योजना बनाएको भन्दै नगरपालिका सहयोग गर्न तयार रहेको बताइन । महायज्ञमा बाचन पण्डित दिनबन्धु पोखरेलले कथाबाचन गर्नेछन् ।
विद्यालयको माध्यमिक तहको स्तर उन्नती, कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यममा र कक्षा ११ र १२ मा प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालनको लागि महायज्ञ आयोजना गरिएको विद्यालयका अध्यक्ष तथा महायज्ञ मुल समारोह समितिका संयोजक रमेशप्रसाद लामिछानेले जानकारी दिए । महायज्ञ सम्पन्न गर्न २० लाख खर्च लाग्ने र २ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ । महायज्ञमा दैनिक श्रीमदभागवत कथा,एक हजार ८ शालिग्रामको विशेष पुजा आरधाना तथा धार्मिक प्रबचन हुने विद्यालयका प्रधानाध्यापक बालकृष्ण ढकालले जानकारी दिए ।
मूल समारोह समितिका अध्यक्ष रमेश प्रसाद लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी,वडा अध्यक्ष हुमनाथ लामिछाने,नेकपाका केन्द्रीय सदस्य इश्वरी भट्टराई,नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे, अन्नपूर्ण टोल विकास संस्थाका अध्यक्ष राजेन्द्र भट्ट लगायतले मन्तव्य राखेका थिए । २० गते सम्म चल्ने महायज्ञ उद्घाटन हुनुपूर्व विहान हात्ती सहितको शोभायात्रा निकालिएको थियो ।





