
भरतपुर, ११ कात्तिक
चितवन साहित्य परिषद् (चिसाप)को आयोजनामा पूर्वोत्तर भारत असम नेपाली नाट्य सम्मेलनका स्रष्टाहरुको स्वागत तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रम चिसापका अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षता र प्राध्यापक डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । असमेली साहित्य र नेपाली साहित्यबीचको अन्तरकिया गर्ने कार्यक्रमको मूल उद्देश्य रहेको कार्यक्षमता संयोजक केदारनाथ खनालले बताए । कार्यक्रममा छत्रमान सुब्बाले शोणितपुर आसामको नेपाली भाषामा योगदान दिने व्यक्तित्वको विषयमा र चन्दमणि उपाध्यायले आसामका नेपाली स्रष्टाको अनुवाद विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि भट्टराईले असमेली कविहरू बहुभाषी भएको उल्लेख गर्दै नेपाली भाषा र साहित्यप्रति असमेली साहित्यकारहरू लागिपरेको बताउनु भयो । कार्यक्रममा प्रेमविनोद नन्दन, विष्णु शास्त्री, पुष्प अधिकारी, चेतराज रेग्मी, गणेश श्रमण, खेमलाल पोखरेल, धनराज गिरी, प्राञ्जल प्रतिम बोहरा, माधब भट्टराईले नेपाली र असमी भाषामा कविता सुनाएका थिए ।
चिसापका सल्लाहकार श्रीभक्त अच्युत वाग्लेले असमीहरूमा नेपाली भाषाप्रति सम्मानभाव रहेको उल्लेख गर्दै धन्यवाद दिए । यो अभियान यसअघि त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारी झापा, विद्याशिल्प एकेडेमी दमक झापा, पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरमा सम्पन्न भएको थियो भने बाँकी कार्यक्रम मौलाकालिका मन्दिर गंैडाकोट, सष्टा समाज काठमाडौं, सुकर्म टोल काठमाडौं, अक्षर मार्ग साहित्य परिषद् पनौतीमा क्रमशः गरिने अभियानका प्रमुख ज्ञानबहादुर क्षेत्रीले जानकारी दिए ।




