प्रमिता ढकाल
भरतपुर, २७ असोज /
भरतपुर महानगरपालिकाले व्यवसायीसँग लिने व्यवसाय करको ५ प्रतिशत रकम चौमासिकरुपमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनलाई उपलब्ध गराउने भएको छ । शुक्रबार महानगर प्रमुख रेनु दाहाल र उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै व्यवसायीले बुझाएको कर व्यवसायीलाई नै फिर्ता आउने भएको हो ।
सम्झौताअनुसार उपलब्ध हुने ५ प्रतिशत रकम उवासंघले सार्वजनिक सरोकारका विकास निर्माण तथा व्यवसायीको हित हुने कार्यक्रममा खर्च गर्नुपर्ने शर्त राखिएको छ । ती कार्यक्रम गर्न महानगरपालिकाको स्वीकृति र समन्वय आवश्यक रहने सम्झौतापत्रमा प्रष्ट उल्लेख छ । २०७५ श्रावण ७ गतेको बैठकले निर्णय गरेअनुसार गरिएको सम्झौता आगामी ४ वर्षसम्म कायम रहने र आवश्यकताअनुसार म्याद थपघट हुन सक्ने सम्झौतापत्रमा उल्लेख छ । सम्झौता कार्यान्वयनको सन्दर्भमा कुनै विवाद आए समझदारीमा विवाद सामाधान गर्ने गरी दुबै पक्षले हस्ताक्षर गरेका छन् ।

शुक्रबार संघले आयोजना गरेको दशैं, तिहार, छठ तथा नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा दुई पक्षले यस्तो सम्झौता गरेका हुन् । समृद्ध महानगरको परिकल्पना गर्दा एकअर्काको समन्वय र सहकार्यको अपरिहार्यताबारे पनि सम्झौतापत्र उदाहरणीय अभ्यास भएको महानगर प्रमुख दाहालले बताइन् । “स्मार्ट सिटी र समृद्ध शहरको चाहना सबैले राख्ने तर यथास्थितिमा कुनै परिवर्तन नचाहने अव्यवहारिक पाटोले गर्दा थुपै्र काम अझै सहजरुपमा गर्न सकिएको छैन”, महानगर प्रमुख दाहालले भनिन्, “उवासंघले गरेको यो पहलले सकारात्मक सन्देश दिने अपेक्षा छ ।”
सम्झौताअनुसारको ५ प्रतिशत रकम पाउन उवासंघले व्यवसाय करको सम्बन्धमा महानगरको लक्ष्य पूरा गराउन भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । सम्पूर्ण करदातालाई करको दायरामा ल्याउन उवासंघले व्यवसायीलाई जानकारी गराउने र व्यवसाय कर संकलनमा सरकारी–निजी साझेदारी प्रयासलाई मजबुत बनाउन भूमिका निर्वाह गर्दै समृद्धिको पाटोमा सहकार्य गर्ने गरी सम्झौता भएको उनले बताए । “हामीले तिरेको कर हाम्रै लागि हो भन्ने बुझाउनका लागि यो सम्झौता प्रभावकारी हुने विश्वास लिएका छौं”, उवासंघ चितवनका अध्यक्ष सहनलाल प्रधानले भने ।
आउँदै गरेका चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा सम्झौताले केही ऊर्जा ल्याएको माहोल देखिएपनि केही विवादित विषयको तुस भने कायम रहेको देखिन्थ्यो । महानगरले निर्माण गर्ने भनेको अत्याधुनिक सिटीहलको निर्माणस्थलको किचलो कार्यक्रममा नै देखियो । उवासंघ चितवन अध्यक्ष प्रधानले कार्यक्रमको सुरुआतमा क्यान्सर अस्पतालको परिसरमा बनाउने भनिएको सिटीहलको सन्दर्भमा ध्सोच्न आग्रह गर्दै नेपाली कांग्रेस चितवनका सचिव राजीव न्यौपानेमार्फत कांग्रेस पार्टीको ध्यानाकर्षण गराएपछि यस विषयका सन्दर्भमा चर्को विवाद भयो । महानगर प्रमुख दाहालले सिटीहलको विषयलाई अनावश्यकरुपमा सर्वसाधारण जनता उचाल्ने खेलको रुपमा प्रयोग गरिएको आरोप लगाइन् । “रहर त मलाई पनि मेरै बाल्यकाल बितेको गाउँ शिवनगर वा पटिहानीमा सिटीहल बनाउने थियो । तर, बजारभन्दा पर लगेर सिटीहल बनाउन प्रावधानले नै दिदैन”, उनले भनिन्, “यसको गलत व्याख्या गरी पटिहानी, मेघौलीसम्म पुगेर जनता उचाल्ने काम भएको छ यसो भइराखे म मौन रहन सक्दिन ।”
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल महानगरको पनि जिम्मेवारी भएको भन्दै यसको संरचना, उद्देश्य र मर्मविपरीत काम नगर्ने उनले प्रष्ट्याइन् । सिटीहलका लागि भरतपुर आसपासमा क्यान्सरको खाली जमिन नै उत्तम विकल्प देखिएकाले यसबारे सकारात्मकरुपमा हेर्न जरुरी रहेको उनको भनाइ छ । सिटीहल निर्माण गर्नका लागि ६ महिनाअघि नै बजेट पास भइसकेको छ । तर, पहिलो विकल्प मानिएको क्यान्सर अस्पतालको जमिनपछि गेष्टहाउस चौरमा समेत विरोध आइसकेको छ । मुख्य शहरको बीच भागमा रहेको खुला चौरलाई प्रयोग नगर्न विभिन्न जमातले दबाब दिएपछि अन्यौलता बढेको छ । छिट्टै स्थान छनौट गरी काम सुरु नगरे बजेट फ्रीजसमेत हुन सक्नेतर्फ महनागर प्रमुख दाहालले सजग गराइन् ।
नेकपा नेता तेजेन्द्र खड्काले क्यान्सर अस्पतालको ७६ विघामध्ये ५ विघामा सिटीहल बन्दै गर्दा सट्टा स्थान प्रदान गर्ने महानगरको निर्णयले बीपी कोइराला क्यान्सर अस्पताललाई नोक्सान नहुने भन्दै पुनर्विचार गर्न आवश्यक रहेकामा जोड दिए । कांग्रेस चितवनका सचिव न्यौपानेले महानगर आफैले क्यान्सर अस्पतालमा सिटीहल नबाउने उद्घोष गरी प्रेस विज्ञप्ति नै जारी गरेको अवस्थामा पटक–पटक एउटै विषयमा कुरा नगर्न आग्रह गरे । “क्यान्सर अस्पताललाई विश्वविद्यालय बनाउनेतर्फ सोचौं, उपचारको लागि नमूना बनाउनका लागि आवश्यक संरचनातर्फ सोचौं”, उनले भने, “अरु विकल्पका ठाँउबारे चर्चा गर्न हामी तयार छौं र उदार पनि । तर, त्यहाँ सिटी हल बन्न सक्दैन, यसबारे कांग्रेसको धारणा प्रष्ट छ ।”
,,,,,,,,,,,,,,





