प्रमिता ढकाल/कायाकैरन
भरतपुर,२० असोज ।भरतपुर–१६ मा रहेको सिद्धिगणेश सामुदायिक वनको आधाभन्दा बढी हिस्सा मिचाहा झारले अतिक्रमण गरेको छ । कूल १०३.५ हेक्टर क्षेत्रफल रहेको सिद्धिगणेश सामुदायीक वनलाई विभिन्न नमूना प्लटमा विभाजन गरी गरिएको अनुसन्धानले वनमा मिचाहा झारको अतिक्रमण बढेको देखिएको हो ।
सामाजिक तथा वातावरणीय अनुसन्धान संस्था नेपालले वनलाई विभिन्न नमूना प्लटमा विभाजन गरी ३ वर्ष लगाएर गरेको अनुसन्धानको प्रतिवेदनअनुसार वनको कूल क्षेत्रफलको ६१ प्रतिशत भूभागमा मिचाहा झारको अतिक्रमण छ । पश्चिम चितवनका विभिन्न साुमदायिक वनमा मुख्यतः ६ प्रकारका वनमाराको अतिक्रमण देखिएपनि सिद्धिगणेश सामुदायिक वनमा दुई प्रकारका वनमारा देखिएका छन् । नमूना प्लटमध्येको १९ प्रतिशतमा वनमाराको अतिक्रमण देखिएको छ । यसलाई आधार मान्ने हो भने औसतमा दुई प्रतिशत क्षेत्रफलमा वनमाराको अतिक्रमण बढेको छ । यस्तै दोस्रो नमूना प्लटको ६१ प्रतिशत क्षेत्रफलमा लहरे वनमाराको अतिक्रमण देखिएको छ । यसलाई आधार मान्ने हो भने वनको कूल क्षेत्रफलको १९ प्रतिशत क्षेत्रमा लहरे वनमारा फैलिएको छ ।
सामाजिक तथा वातावरणीय अनुसन्धान संस्था नेपालले गत जेठमा नै वनको उपभोक्ता समितिलाई सो प्रतिवेदन हस्तान्तरण गरिसकेको छ । तर, मिचाहा प्रजातिका झार नियन्त्रणमा कुनै पहल भएको देखिदैन । संस्थाले दिएको प्रतिवेदनमा मिचाहा झारको व्यवस्थापनका लागि स्थानीय तहमा उपभोक्ता आफैले अपनाउन सक्ने सामान्य सचेतना र व्यवहार उल्लेख भएपनि त्यसप्रति चासो गएको देखिदैन । झार नियन्त्रणका लागि उपभोक्ताहरुले सरसफाइ अभियान सञ्चालन गर्ने, झारको पहिचान गर्ने, वनमारा झारलाई जराबाटै उखलेर पूरे फैलिने सम्भावना कम हुने जस्ता सुझाव प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन हस्तान्तरण भएको तिन महिना वितिसक्दा पनि झार नियन्त्रणमा कुनै चासो नदिँदा वनपैदावर नास हुने खतरा बढ्दै गएको छ ।
सिद्धिगणेश सामुदायिक वनअन्तर्गत साविकको मंगलपुर–७ र ८ र शारदानगर गाविसका १,३,४,७ र ८ नम्बर वडाहरु पर्दछन् । २०६८ को सर्वेक्षणअनुसार यस क्षेत्रमा ९ हजार ६ सय ४४ जनसंख्या छ । तीमध्ये १८ सय ८९ घरधुरी उपभोक्ता छन् । पश्चिम चितवन ज्ञानेश्वर ब्लकअन्तर्गत रहेका ४ वटा सामुदायिक वनमध्ये सबैभन्दा धेरै वडा र उपभोक्ता समेट्ने सिद्धिगणेशकै चासोमा नपर्दा पछि परेको बताउँछन् लेखा समिति सदस्य कविन धिताल । “यति धेरै उपभोक्ता सदस्य छन् तर जम्मा ७० जनाले नवीकरण गरेका छन्”, धितालले भने, “ १५ दिने सूचना जारी गरी पाएक पर्ने विभिन्न ठाँउमा टाँस गरिएको छ । तर, पनि कसैलाई वास्तै छैन ।” वनबाट काठ दाउरा लिन सकिन्छ भन्नेबाहेक अरु केही उपयोगिताबारे जानकारी नहुँदा पनि यसो भएको हुन सक्ने धिताललको अनुमान छ । चुनिएर आएको समितिले पनि उपभोक्ता आकर्षित गर्ने प्याकेज ल्याउन नसककेको उनको भनाइ छ ।
नेपालमा सामुदायिक वन स्थापना भएको ४ दशक ब्त्दिा सिद्धिगणेश भने समुदायमा आधिकारिकरुपमै हस्तान्तरण भई आएको ८ वर्ष मात्र भएको छ । समुदायमा आइसकेपछि वि.सं २०६८ सालमा १० वर्षे कार्ययोजनासहित अघि बढेको उपभोक्ता समूहमा विष्णुहरि अधिकारीको नेतृत्वको वर्तमान कार्यसमितिले केही उपलब्धीमूलक कार्य भने थालनी गरेको छ ।
आम्दानीको स्रोत जुटाउन शव दाहनका लागि वार्षिक एक सय २० चट्टा बिक्री गर्न सुरु गरेको छ । प्रति चट्टा ३ हजार ५ सय रुपैयाँका दरले बिक्री गरिएको छ । साथै, वन कार्यालयको अनुमतिमा वार्षिक एक हजार क्युफिट काठ गोलिया बिक्री गर्न सुरु गरिएको छ । यसबाट वार्षिक ७ देखि ८ लाख सम्म आम्दानी हुने गरेको छ । नारायणी नदी किनारमा रहेको वन हुँदै नदीमा उत्खखन् गरी गिटीबालुवा झिक्ने ठेकेदारसँग वन उपभोक्ता समूहले ट्रिपर तथा ट्याक्टर प्रवेश शुल्कवापत अघिल्लो वर्ष एक करोड रुपैयाँ संकलन गरेको लेखासमिति सदस्य धितालले जानकारी दिए । ठेकेदारहरुले यस वर्ष भने सो शुल्क तिर्न नमानेको उनले बताए । “प्राकृतिक सम्पतीको त्यो ठूलो घाटा हो त्यसैले भरपाई वापद वन र वन्यजन्तु संरक्षणका लागि केही गरौं न भनेर प्रवेश शुल्क लिने भनिएको हो तर कानुनी मान्यतामा स्थानिय स्तरमा प्रवेश शुल्क लिने भन्ने छैन त्यसैले अहिले मानेनन्”, उनले भने । अघिल्लो वर्षको एक करोडको आम्दानीबाट वनले आफ्नै जग्गामा भवन निर्माण गरिरहेको छ ।
वर्तमान उपभोक्ता समूहककै पहलमा बस्ती र वनको सिमानामा ४ लाख ५० हजार बराबरको मेस जाली लगाइएको छ । जाली लगाएपछि तरकारी तथा खेतबालीमा वन्यजन्तुका कारण हुने नोक्सानबाट स्थानीयले राहत पाएका छन् । दशैं नजिकिंंदै गर्दा पिङ बनाउनका लागि वनमा बाँस खरिद गर्न आउने को संख्या पनि बढेको छ । पिङ बनाउन ४ वटा बाँस चाहिने हुँदा यसबाट पनि राम्रै आम्दानी हुने कार्यालय सचिव सुमित्रा ठकुरीले जानकारी दिइन् ।
यो वन गैंडाको लागि राम्रो बासस्थानका रुपमा परिचित छ । ज्ञानेश्वर ब्लक भनी पर्यटकीय प्याकेजको घोषणा गरिएका चार वनमध्ये एक सिद्धिगणेशमा गैंडा, मृग, चित्री, बँदेल, बाँदर प्रशस्त छन् । वनभित्र गैंडा ताल छ, जहाँ गैंडालगायत वन्यजन्तु पानी खान आउने गर्छन् । नारायणी नदीको किनारमा रहेको वनभित्र नदीको मनोरम दृश्य अवलोकनका लागि टहरा बनाइएको छ, जहाँबाट नदीमा रमाइरहेका जलचरः माछा, गोही पनि अवलोकन गर्न सकिन्छ । यद्यपि पछिल्लो समय नदी उत्खनन् कार्यले गैंडाको बासस्थानलाई प्रभाव पारेको देखिन्छ । शान्त बासस्थान खोज्दै गैंडा भट्किएको अनुमानसमेत गरीएको छ ।
वन विभागको तथ्यांकअनुसार नेपालमा २२ हजार २ सय ६६ सामुदायिक वन छन् । सामुदायिक वनले २२ लाख ३७ हजार ६ सय ७० हेक्टर क्षेत्रफल वनजंगल संरक्षण गरिरहेका छन् । सामुदायिक वनमा २९ लाख ७ हजार ८ सय ७१ उपभोक्ता सम्मिलित छन् ।वन विभागका अनुसार हाल ४० जिल्लाका ३ सय २० सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको छ । वनलाई केवल पिक्निक स्पट, मचान र वन्यजन्तु अवलोकनलाई सिमित राख्नुभन्दा पनि नगदी विरुवाहरुको रोपण गरी समुहहरुको आय आर्जन बढाउने, वनजंगलमा उत्पादन हुने काठदाउरा, जडिबुटीलाई प्रशोधन र बजारीकरण, सुधारिएको चुल्हो र बायो ग्यास उत्पादनको क्षेत्रमा यस सामुदायीक वन उपभोक्ता समहुले पनि ध्यान दिन सके उपभोक्तालाई आकर्षित गर्न र संरक्षणमा सहकार्य गर्न आह्वान गर्न सहज हुने देखिन्छ ।





