चाडबाड लक्षित विशेष सुरक्षा योजना, ९ समूहमा ४५६ प्रहरी परिचालन

विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२० असोज ।जिल्ला प्रहरी कार्यालय चितवनले चाडपर्वमा हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न १ सय ६ वटा टोली परिचालन गर्ने भएको छ । भयरहित वातावरणमा चाडपर्व बनाउन बिहीबारदेखि ‘विशेष सुरक्षा योजना’ लागू गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले कामको बाँडफाँट गरेर सुरक्षा टोली खटाइएको बताए । उनका अनुसार ४ सय ५६ जना प्रहरीलाई ९ वटा समूह बनाएर कामको जिम्मेवारी दिइएको छ । “प्रहरीको ‘मुभमेन्ट’ बढ्ने छ, अन्य सुरक्षाका निकायसँग पनि समन्वय हुनेछ”, उनले भने, “सडकदेखि बस्तीसम्म हाम्रो निगरानी हुनेछ, अप्रेशन चल्नेछ ।”
राजमार्ग सुरक्षाका लागि धादिङसँगको सीमा मौवाखोलादेखि मकवानपुरको सीमा लोथरसम्मको सडक र भित्री सडकमा निगरानी गर्न मोबाइल गस्तीको १४ टोली, जिल्लाका विभिन्न चोकमा निगरानी गर्न पिकेट ड्युटीको २६ टोली, जुवातास, लंगुरबुर्जा र कौडा नियन्त्रण गर्न ५ टोली परिचालन गरिएका छन् । यस्तै बैंक तथा वित्तीय संस्था र सुनचाँदी पसल सुरक्षाका लागि ११ टोली, अवैध मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण गर्न ४ टोली, आगलागी तथा विपद् घटनाका लागि ३ टोली खटाइने छ ।
यस्तै पैदल गस्ती, चोरी झैझगडा, सामाजिक विकृतिलाई नियन्त्रण गर्न ८ टोली र २७ ठाउँमा क्यूआरटी टोली परिचालन गरिनेछ । यस्तै पटका, विष्फोटक पदार्थ नियन्त्रण गर्न ८ टोली परिचालन हुनेछ । “आकस्मिक चेकजाँच बढाएका छौँ, हरेक दिन ५६ स्थानमा आकस्मिक चेकिङ हुनेछ”, उनले भने, “सूचना संकलन गर्न सहज होस् भनेर सादा पोशाकका प्रहरी संख्या बढाएका छौँ, अपराध हुन सक्ने क्षेत्रलाई बढी निगरानीमा राखिनेछ ।” उनले जुवातास नियन्त्रण गर्न जिल्लाभरि नै प्रहरीले कडा निगरानी राख्ने बताए । “जुवा खेल्ने अखडा, विगतमा पक्राउ परिसकेका व्यक्तिलाई पनि निगरानीमा राखिनेछ”, उनले भने, “बाजी मारेर खेलिने कुनैपनि खेल खेल्न दिइनेछैन, कानुनी दायरामा ल्याएर कारवाही गरिनेछ ।”
चाडबाड मनाउन गाउँतिर जाँदा शहर सुनसान भएको मौका छोपेर चोरीका घटना बढ्ने भएकाले प्रहरीले सुनसान बस्तीलाई समेत सुरक्षा दिने बताए । शहरी तथा ग्रामीण क्षेत्रमा प्रहरीले नियमित मोबाइल गस्ती, गस्ती पेट्रोलिङ, आकस्मिक चेकजाँचलगायत गतिविधि बढाउने बताए । चाडपर्वका बेला(असोज–कात्तिक) गतवर्ष १ सय ७९ मुद्दा प्रहरीमा दर्ता भएका थिए । जसमध्ये ८७ वटा सार्वजनिक अपराधका मुद्दामा १ सय २९ जना पक्राउ भएका थिए । यस्तै आर्थिक वर्ष २०७३÷७४ मा चाडपर्वका बेला १ सय ५३ मुद्दा दर्ता भएका थिए । जसमध्ये ६१ सार्वजनिक अपराधका मुद्दामा ८९ जना पक्राउ परेका थिए । चाडपर्वका बेला झैझगडा, कुटपिट, तोडफोडलगायत घटना बढी हुने गरेका छन् । यस्तै चोरीका घटना धेरै हुने गरेपनि सामान्य चोरीका घटना प्रहरीमा उजुरी पर्दैनन् । चाडबाडकै बेला आर्थिक वर्ष २०७४÷७५ मा ११ वटा र २०७३÷७४ मा १७ वटा सवारी ज्यान मुद्दा दर्ता भएका थिए ।
“चाडबाडका बेला अपराधिक घटना धेरै नै हुने गर्छन्”, चितवन प्रहरी प्रवक्ता ढकालले भने, “अपराधिक मनोवृत्तिलाई निरुत्साहित गर्न विशेष सुरक्षा योजना ल्याएका हौँ ।” गुणस्तरहीन सामान बिक्री वितरण, कालोबजारी, गुण्डागर्दी, लुटपाट, बढी भाडा असुली लगायतका घटना हुन नदिन प्रहरी चनाखो पारिएको बताए । यात्रुका समस्या निराकरण गर्दै सहज वातावरणमा गन्तव्य पु¥याउन केन्द्रीय बस टर्मिनल बसपार्क, पुलचोक क्षेत्र र पोखरा बसपार्कमा हेल्प डेस्क सञ्चालन गरिने जनाइएको छ ।
बढी भाडा असुल्ने, क्षमता भन्दा बढी यात्रु राख्ने सवारीलाई कारबाहीको दायरामा ल्याइने बताए । अपराधिक गतिविधि भएको जानकारी आउनासाथ घटनास्थलमा तत्काल पु¥याउन क्यूआरटी टोलीलाई तयारी अवस्थामा राखिएको बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट