जितिया पर्वको रौनक सुरु हुदै

प्रमिता ढकाल/कायाकैरन
भरतपुर,१३ असोज ।संस्कृति जगेर्नाका लागि थारु समुदायका अगुवा सक्रिय बनेका छन् । नयाँ पुस्ता र अन्य समुदायलाई आफ्ना संस्कृतिबारे जानकारी गराउन बेलाबखत कार्यक्रम हुदै आएका छन् । महिला सभा जिल्ला कार्यसमिति चितवनको आयोजना तथा थारु कल्याणकारीणी सभा चितवनको सहयोगमा जितिया विशेष अभिमुखिकरण गरीएको छ ।
जिल्लाभरका थारु समुदायका महिलालाई संस्कृतिको जर्गेनाका निम्ति जागरणबारे प्रशिक्षण दिइएको छ । हरितालिका तीज पछिको महाअष्टमी तिथीमा पर्ने जितिया पर्व थारुको मौलिक परम्परा भएकाले संरक्षण सहित प्रवद्र्धन गर्न अभिमुखिकरण गरिएको थारु महिला सभा चितवनका अध्यक्ष मञ्जु महतोले बताइन् । चितवनका भूमिपुत्र भनेर चिनिने थारु समुदायको मौलिक पहिचान संरक्षण र सम्बद्र्धनका लागि थारु महिलामा जागरण आवश्यक रहेको बताइन् । थारु कल्याणकारी सभाका पूर्व केन्द्रीय उपाध्यक्ष भजुमनराम महतो, पूर्व केन्द्रीय सदस्य लक्ष्मण चौधरी र पूर्व जिल्ला सभा सदस्य सत्यनारायण चौधरीले प्रशिक्षण दिए । कार्यक्रममा प्रशिक्षक थारु कल्यणाकारी सभाका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् थारु संस्कृतिका ज्ञाता भजुमन राम महतोले थारु सभ्यताको विकासक्रमलाई जीवित राख्न संस्कृतिको अध्ययन र अवलम्बन गर्नुपर्ने बताए । जातिय पहिचानको नाममा राजनीति गरिएको भन्दै उनले चिन्ता व्यक्त गरेकाछन् । “राजनीतिक जागरण र सांस्कृतिक जागरण फरक कुरा हुन्”, उनले भने, “कला संस्कृति जर्गेना गर्न भाषण होइन व्यवहारिक अभ्यास आवश्यक छ ।”
जितिया पर्वलाई थारु समुदायका महिलाको तीज भन्ने गरिन्छ । जितिया पर्व ठाउ अनुसार केही फरक तरिकाले मनाईन्छ । चितवन र यस आसपासका जिल्लामा विवाहित र अविवाहित सबैले समानरुपमा ब्रत बस्दछन् । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाइ ‘उपास’ र नवमीको दिनलाइ ‘पारन’ भनिन्छ । जितिया ब्रत दुई किसिमको हुन्छ, ‘साधारण र खर जितिया । खर जितिया विवाहितले कठोर ब्रत राखेर निराहार बस्ने गर्दछन् । साधारण ब्रत बस्नेहरु ‘डट्खट’ वा दर खाने गर्दछन् । खर जितिया ब्रतमा डट्खट खाने चलन हुदैन । दर खाईसकेपछि ब्रतालुहरु जाग्राम बस्नुपर्दछ । भोलीपल्ट दिनभर बेलको रुखको चारैतिर ब्रतालु ‘झमटा नृत्य’ र गीत प्रस्तुत गर्दछन् । जितिया पर्वमा ब्रत बस्दा सुन्ने सुनाइने कथालाई जितबाहनको कथा भनिन्छ । थारु कल्याणकारी सभाका पूर्व केन्द्रीय उपाध्यक्ष महतोले भने, “यो कथा परापूर्वकालदेखि प्रत्येक बर्ष ब्रत बस्ने महिलाले अनिवार्य सुन्नै पर्ने हुन्छ । कथा नसुन्ने ब्रतालुको ब्रत अपुरो भएको मानिन्छ । वास्तवमा, यो कथा एउटा पौराणिक तथा नैतिक कथा हो । यसले ब्रतालुहरुलाई अनुशासित र कर्तव्यपरायण बनाउनमा निकै महत्वपूर्ण भूमिका खेल्छ ।”
थारु संस्कृति, भाषा, भेष्।भूषा, परिकारको मौलिकता जोगाउन सके मात्र भूमिपुत्रको इतिहास दिगो रहने पूर्व केन्द्रीय सदस्य लक्ष्मण चौधरीले बताए । थारु समुदायको चार्डपर्व, मौलिकता जोगाउन थारु समुदायका महिलापुरुष सबैको सहकार्य हुनुपर्ने उनले जोड दिए । प्रशिक्षक सत्यनारायण चौधरीले समुदायका चाडपर्वलाई स्थानीय स्तरमा नै मान्यता दिलाउन संघर्ष गनुपर्ने अवस्था रहेकोमा चिन्ता व्यक्त गरे । “केही दिन अघि मात्रै हरितालिका तीज सकियो, प्रत्येक विद्यालयका ससाना नानीलाई समेत थाहा छ, तर चितवनकै थारु समुदायको जितियाबारे कोही जानकार नभएको अवस्था छ”, उनले गुनासो गरे । भूमिपुत्र भनेर चिनिने थारु समुदायले आफ्ना सन्तान पढ्ने यहीँका स्थानीय विद्यालयमा समेत चाडपर्वबारे जानकारी गराउन सक्ने वातावरण नदेखिएको उनले बताए । अभिमुखिकरणमा सहभागिहरुले जितिया मात्र नभई अन्य पर्वको मूल्यमान्यताबारे पनि बोल्न सक्ने बनेर गए मात्र कार्यक्रमले सार्थकता पाउने उनको भनाई छ । थारु कल्याणकारीणी सभाका केन्द्रीय सदस्य विष्णु चौधरी, थारु कल्याणकारीणी सभा चितवनका अध्यक्ष ललित कुमार चौधरी, अनुशासन विभाग संयोजक कल्पना पावे लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा जितिया पर्वमा नाचिने विशेष नृत्य ‘झमटा’ लगायत विविध सांस्कृतिक प्रस्तुती समेत रहेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण कुमार डल्लाकोटीले आदिवासी भूमिपुत्र थारुको पहिचान र संस्कृति चितवनको गौरवपूर्ण इतिहास भएको उल्लेख गरेकाछन् । डल्लाकोटीले चितवनका आदीवासी समुदायको कला संस्कृति र पहिचानले विश्वमै नेपाललाई चिनाउन मदत गरेको बताए । “चितवनको पर्यटन व्यवसाय समेत थारु कला र संस्कृतिमा अडिएको छ”, उनले भने, “यसको संरक्षण र संवद्र्धन थारु समुदायको मात्र चासोको विषय कदापी होइन हामी सबैले यसका लागि हातेमालो गर्न आवश्यक छ ।” यसका लागि जिल्ला समन्वय समितिको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको उनले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट