
भरतपुर,१३ असोज ।राजमार्गबाट हटाइएका तीन पांग्रे सवारी साधन पुनः राजमार्गमा चल्न पाउनुपर्ने माग राख्दै चालकहरु आन्दोलित बनेका छन् । राजमार्गमा चल्न नदिएपछि जीविका चलाउन नै मुश्किल भएकाले भरतपुर महानगरलाई आफ्नो निर्णय सच्याउन दवाव दिएकाछन् । तीन दिनदेखि आफ्ना सवारी साधन थन्क्याएर वार्ताको लागि पहलमा जुटीरहेका सवारीचालक मजदुरले शुक्रबार भरतपुर महानगर अगाडी नाराबाजी गरेकाछन् । बिहीबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई भेटेर आफ्ना गुनासो राखेका चालक मजदुरले भरतपुरको चौविसकोठीदेखि महानगरपालिका कार्यालय गेटसम्म नाराबाजी गर्दै आफ्ना माग पुरा गर्न दवाव दिएकाहुन् । हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका उनीहरुले महानगरको निर्णय गरिबमारा भएको भन्दै नारा लगाए ।
शान्तिपूर्ण विरोध प्रदर्शनको संयोजन गरेका तीन पांग्रे सवारी चालक पिताम्बर पौडेलले मुख्य राजमार्गमा नै चल्न नपाउँदा मजदुरको रोजीरोटी खोसिएको बताए । मूल सडकमा चल्न पाउँदा दैनिक २ हजारसम्म कमाई हुने गरेपनि हाल मुश्किलले १ हजार रुपैंया मात्रै कमाई हुने गरेको गुनासो गरे । “हामीले निर्वाध चल्न पाउनुपर्छ भनेका छैनौं”, उनले भने, “कम्तीमा मुख्य बजारको क्षेत्रमा एउटा लेनको व्यवस्था गरे स्वरोजगार हुन चाहेका हामीलाई गाहे हुने थिएन ।” चौविसकोठीदेखि लायन्सचोक वा पुल्चोक, पुल्चोकदेखि रामनगर र केन्द्रीय बस ट्रर्मिनल देखि टाँडीसम्म चल्ने वातावरण मिलाउन माग गरीएको उनले बताए । जिफन्ट, ट्रेड युनियन महासंघ र ट्रेड युनियन कांग्रेसका मजदुरले संयुक्त आन्दोलन गरीहेको भन्दै आफ्ना माग पुरा नभए आन्दोलनका कार्यक्रम तय गर्न बाध्य हुने समेत चेतावनी दिए । सवारी चालकलाई नीति नियममा रहेर सवारी चलाउन ट्राफिक सचेतनाको आवश्यकता रहेको उनले स्विकार गरे । त्यसका लागि सवारी चालकहरु समन्वय गर्न तयार रहेको भन्दै अनिवार्य पोशाक र सवारी चालक अनुमतीपत्रको व्यवस्था गरिदिन पनि आग्रह गरेकाछन् ।
एक वर्ष अघि बैंकबाट ऋण लिएर अटो किनेका गैंडाकोटका सूर्य बहादुर कुमालले मासिक ९ हजार रुपैंया बैंकमा बुझाउनुपर्छ । राजमार्गमा चल्न पाउँदा दैनिक २५ सय रुपैंया सम्म कमाई गर्ने उनले अहिले एक हजार रुपैंया समेत मुश्किलले कमाई हुने बताए । ८ जनाको उनको परिवारमा उनी बाहेक उनकी आमा पनि मजदुरी गर्छिन् । विदेश नजाने सोचले स्वदेशमै विभिन्न क्षेत्रमा मेहेनत मजदुरी गर्दै आएका कुमाललाई बैकबाट ऋण लिएर सुरु गरेको स्वरोजगार अहिले निल्नु न ओकल्नु भएको छ । “विदेश जान्न परिवार संगै बस्छु दुख गरेपनि यहीँ नै गर्छु भनेर ऋण लिएर अटो किनेको थिएँ”, उनले मलिन अनुहारमा भने, “ विदेश नगए हामी दुखीलाई त भात खान पनि नपुग्ने रहेछ ।”
कुमालकै जस्तो अवस्था छ अर्का तीन पांग्रे सवारी चालक अर्जुन श्रेष्ठको । मासिक १५ हजार बैंकको व्याज बुझाएर बांकी रहेको कमाईबाट ४ जनाको परिवार धानेर बचत समेत गर्ने उनको योजना अहिले तुहिएको छ । “राजमार्गमा चल्न पाउँदा यात्रुको कमी हुन्थेन , अहिले त बकुल्लाले माछा कुरे जस्तो यात्रु कुर्नुपर्छ अनि कसरी कमाई हुन्छ ?” उनले प्रश्न गरे । महानगरले आफुजस्ता थुप्रै मजदुरको जीवनयापन कष्टकर बनाइदिएको उनले गुनासो गरे ।
चितवनमा ३ सय ३५ को हाराहारीमा तीन पांग्रे सवारी साधन चलिरहेका छन् । ती मध्य करिव १ हजार ५ सय सवारी चालक शुक्रबारको आन्दोलनमा सहभागि भएका थिए । अधिकांस सवारी चालकले बैकबाट ऋण लिएर पनि सवारी साधन किनेर चलाएकाछन् । विदेश गएर फर्किएका, विदेशमा भन्दा स्वदेशमै केही गरौं भनि हौसिएका निम्न वर्गिय सर्वसाधारणलाई महानगरको निर्णयले असहज बनाएको मजदुरहरुको गुनासो छ ।





