स्वर्गमा मोती जयन्ती (कथा)

धनराज गिरी
त्यसो त अचेल मनमा फगत साक्षीभाव मात्र आउँछ । मनले धेरै कुराको ठेकेदारी त्यागिसकेको छ । जीवन जगत, समाज, देश, संस्था आदि इत्यादि पनि एक भ्रम मात्र लाग्न थालेको छ–एब्यास्ट्रयाक चिन्तन प्याज । प्याज मात्र किन बन्दाकोभी ।
के हो समाज ? मेरो सामाजिक दायित्व के हो ? पूरा गरें ? मेरो राष्ट्रिय दायित्व के हो ? पूरा भयो ? जुन संस्थाले मलाई २७ वर्ष पाल्यो, त्यसले मबाट के पायो ? अर्थात वास्तवमा संस्था नै के हो ? भवन ? फर्निचर ? भौतिक सम्पत्ति ? के हो संस्था ? यो पनि त एउटा अमूर्त कुरा नै हो । अमूर्त छ हरेक कुरा यहाँ । यस्तै–यस्तै सोचेर क्याम्पसबाट आएँ स्वनिवास ।
२०७५ साल भाद्र १४ गते बिहीबार, एकछाकी । भोलिपल्ट माताश्रीको पुण्यतिथि । ८ वर्ष लाग्यो हाम्री आमाले यो संसारबाट विदा लिएको । आमाको नाममा एक कविता र एक गजल मुहार पुस्तिकामा अर्पण गरेर यसो झकाएको थिएँ, भुसुक्क भएछु । त्यसपछिको लीला ।
‘सर, आज हजुरलाई अमरावतीमा गजल वाचन गर्नका लागि महाराज इन्द्र दैवले लिन पठाउनुभएको’, दुई सुन्दर युवक, भाइ भूपिन र पत्र रामगोपाल आशुतोषजस्ता एउटा सानो विमान, पाँच जना अटाउने । पायलट त नचाहिने, अटोमेटिक । एउटा बटम दबाए पुग्ने । म पनि चिटिक्क परें । ‘अमरावतीमा इन्द्र रेग्मी दाजुले प्रचण्डजीका सामुन्ने आज खडा गराउने भए’, यस्तै सोचें । विमानमा पसेको त दुई परिचारिका, ग्वाम्म अँगालो मारे, चुप्प पारे । हररर अत्तर वासना आयो । म बीचमा, उनीहरु दायाँबायाँ, उर्वशी र तिलोत्तमा हे मेरी आमा ! यात्रा मधुरम्, वाणी बधुरम् । सुखम्, अनुपम ।
‘दानवीर कर्णका अनुयायी सरसर्ती संसारका पनि दाइ, हे गजलकार गिरी महोदय अब यो यात्रालाई सुखद र अविष्मरणीय बनाउन हजुरले मीठा–मीठा गजल र गीतहरु गाउनुपर्नेछ, हिन्दी पनि चल्छ, अंग्रेजी, भोजपुरी, संस्कृत’, एउटा युवकले अनुरोध ग¥यो । परीहरु मुसुक्क । आफू गीत बिर्सिएर भुसुक्क ।‘सर, त्यो मैं राही अञ्जान…..’, खुसुक्क कानमा एउटी परी । कुन्नि के हो, एउटा चाँदीको प्यालामा पिउन दिइन् । मेरो कपाल मुसारिन् । मेरो खोकिलामा मुन्टो घुसारिन् । ए भगवान ! यो कुन जुनीको सुकर्मको फल हो ? कि प्रभुको छल हो ? म फूलमान बल हो ? दुई प्याला उदरस्थ भएपछि त स्वर गज्जब । गीत, गीत, गीत ।
जुन गीत गाउन थाल्छु, संगीत आफैं बज्छ । कस्तो सिस्टम हो ? ३६ घण्टा लाग्यो । फेरि ३६ । यो ‘छत्तीसे’ रोगले पनि छोडेन । शेषनाथजी, रामबाबु सर, तिलक दाजु र बाबुराम पुरीलाई सझिएँ । कृष्णप्रसाद भट्टराई र कपाली नानी अनि शारदा शर्माजीको ‘त्यो समय’ पनि याद आयो । ‘लौ सर, आइयो अमरावती । एकछिन आफैं घुम्नुहोस् । जसलाई सम्झिनुहुन्छ, ठ्याक्क सामुन्नेमा । मनोकामना पूरा हुन्छ । मोती जयन्ती मनाएर हजुर फेरि उही धरतीमा नै जानुपर्दछ । हजुरलाई यो विशेष वरदान महादेवले दिनुभएको हो, द्वापर युगमा अर्जुन र यो कलियुगमा हजुरले मात्र यो सुविधा भोग गर्न पाउनुभएको छ, आजसम्मको रेकर्डमा अब हजुर आफ्नै सौराहामा पर्यटक बनेझैं घुम्न सक्नुहुन्छ । हामी जय र विजय हौं । यी नानीहरु ‘रुपा र दीपा’ हुन्, आजन्म कुमारी ! यहाँ कोही पनि बुढो हुँदैन । मोक्ष भनेकै यही हो ।’
नानीहरुले फेरि मेरो गालामा ‘भौतिक सफाया’ गरे । गए उनीहरु । यसो भनौं, अलप भए । ‘आमा…..’ अचानक मुखबाट निस्कियो । ‘कान्छा…’ आँखा बन्द थिए । कानमा मीठो संगीतको धुनजस्तो लाग्यो । २०६८ साल भाद्र एक गतेपछि जुन ‘धुन’ बाट वञ्चित भएको थिएँ, त्यो सञ्चित धुन कामना पर्दा रोम–रोम कम्पित भयो । ‘घनटाउके, कसरी आइस्…’ टाउकोमा हात राखेर गाला मुसार्नुभयो आमाले । आँखा खोले । ‘आमा…’, चिच्याउन पुगेछु । बहुत रोएँ । घुँक घुँक घुँक….. अनि सोचें, ‘बा खोइ ?’ ‘मोरा, म यही त छु नि’, बा पनि सामुन्नेमा । ‘अनि भगवती दिदी’ नाम लिन मात्र पर्ने रहेछ । ‘धने, म पनि यही छु ।’ यसरी आमा, बा र कान्छी दिदीसित भेट भयो । सबै खबर बताएँ । उहाँहरुलाई स्वस्थ पाएँ । त्यहाँ कुनै रोगको अस्तित्व पनि रहनेछ । न अस्पताल, न रोग, न डाक्टर । राजनीति पनि नास्ती पढाइ पनि छैन, लडाइँ पनि छैन । सबै मिलेका सबैको अनुहारमा कान्ति, मनमा शान्ति । आमा, बा र कान्छी दिदीले धेरै ठाउँमा घुमाइदिए । ‘आमा, आफन्तहरुमा मलाई खेमलाल मामा पनि …’ म पनि अघि नै देखि भाञ्जाको पछि पछि त छु नि…. ’ मामाश्री मेरै आडमा । ग्वाम्म अंगालो मार्नुभयो ।
एउटा रसियन रातो टोपी मेरो टाउकोमा लगाइदिनुभयो । मैले पनि ‘सरसर्ती संसार’ एक थान दिएँ । केही किताब बोकेके थिएँ । आफ्ना सन्तानहरुमा सबैभन्दा बढी जेठो छोराको जेठो सन्तानलाई नै सम्झिनुभयो । अरुका बारेमा पनि कुरा गर्नुभयो । नेपाल माध्यमिक विद्यालय, पूर्णबहादुर बस्नेतका बारेमा पनि जिज्ञासा प्रकट गर्नुभयो । ‘भाञ्जा, एकपटक माइजूलाई भेट्नु है, यताबाट गएपछि । त्यसको धेरै मुया लाइच्च । एक्ली छे । ‘आमा’ भनेर बोलाउने मान्छे पनि छैनन् । छोराहरुको पनि आफ्नै व्यस्तता छ । नातिनातिनाहरु पढ्नै परो । पीर परिच्च ।’
मामालाई भेटेपछि गुणराज बा पनि भेटें । सुरेशनाथ रेग्मी, नृपेशनाथ रेग्मी, ठाकुर पन्त र सुफलप्रसाद पाण्डे पनि भेट भए । गुणराज पाठक बा मसित रुनुभयो । केही भन्नुभएन । मलाई नृपेशनाथ रेग्मी गुरुदेवको अन्तरवार्ता लिनु थियो । उहाँले कुनैपनि भूमिका नबाँधीकन पूर्ण सरका बारेमा आफ्नो राय राख्नुभयो । म सुनिरहें । मलाई हेरिरहनुभयो । कान्छो भाइ सुरेन्द्रनाथ रेग्मीका बारेमा सोध्नुभयो । यसरी रत्ननगर चितवनका विशिष्ट हस्तीहरुसित भेट भएपछि मलाई ‘मोतीराम भट्ट’को याद आयो, अनि प्रकाश राजापुरी पनि सम्झिएँ ।
बर्मेली आमाको काखमा मुन्टो राखेर रोएँ । जानकीदेवी गुरागाईं र हाम्री आमा महामाया देवी गिरीजालको परिचय पोहोरै भएछ । एउटै फ्ल्याटमा ‘गिरीजी….’, मदन भण्डारीजीको आवाज….
‘ए बूढा, ए बूढा…आज के भयो ? हेर, ल्यापटप बिग्रिएपछि त दिन पनि निदाउन थाल्नुभयो, उठ्नुहोस्, भोलि सराताँ सबैलाई बोलाउनुपर्छ, क्याम्पसबाट चाहिं कोही पनि…सीताजीको आवाजले धरतीमा । ती सबै घटनाहरु सम्झिए । नीलम कार्की निहारिका र योगमायाका बारेमा देखेको सपना त साकार भएकै थियो । आजको यो सपनाका बारेमा पनि अनेक सोच्न थालें ।
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस
सातामा लोकप्रिय
ताजा अपडेट