देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला चितवनमा हुँदै

चितवन, २० जेठ ।
देशभरका फेन्सी तथा कपडा व्यवसायीलाई एउटै छातामुनि संगठित गर्ने उद्देश्यले आगामी जेठ २३ र २४ गते चितवनमा राष्ट्रिय भेला आयोजना गरिने भएको छ ।

‘नेपालभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला तथा फेन्सी व्यवसायी महासंघ नेपाल निर्माण घोषणा कार्यक्रम’ नाम दिइएको उक्त भेला भरतपुरमा हुने जानकारी आज आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो ।

फेन्सी व्यवसायी महासंघ नेपाल निर्माण अभियानका संयोजक तथा फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद पौडेलले आर्थिक मन्दीका कारण फेन्सी तथा कपडा व्यवसाय इतिहासकै कठिन अवस्थामा पुगेकाले देशव्यापी सञ्जालको आवश्यकता महसुस गरी महासंघ गठनको पहल गरिएको बताउनुभयो ।

उहाँका अनुसार घट्दो व्यापार, बढ्दो घरभाडा, करको भार तथा अनियन्त्रित अनलाइन व्यापारका कारण परम्परागत फेन्सी तथा कपडा व्यवसायी समस्यामा परेका छन् । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज र किस्ता तिर्न नसक्दा कतिपय व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन् भने नयाँ पुस्तामा यस व्यवसायप्रति निराशा बढ्दै गएको छ । व्यवसायीहरूको हकहित संरक्षणका लागि संगठित हुन आवश्यक भएको उहाँको भनाइ थियो ।
‘एकता हाम्रो शक्ति, महासंघ हाम्रो आवश्यकता’ भन्ने मूल नारासहित सुरु गरिएको अभियानले कर, बैंकिङ, भन्सार तथा नीतिगत समस्याको समाधानका लागि राज्यस्तरमा सशक्त पहल गर्ने लक्ष्य लिएको छ । हालसम्म देशभरका २० जिल्लाका फेन्सी व्यवसायी संघ अभियानमा आबद्ध भइसकेका छन् भने थप ३० जिल्लासँग समन्वय र सम्पर्क भइरहेको संयोजक पौडेलले जानकारी दिनुभयो । महासंघलाई अन्य जिल्लामा समेत विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रस्तावित महासंघले व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकारसँग प्रभावकारी समन्वय गर्ने, व्यवसायीहरूको योगदान र सम्मानलाई राज्यस्तरमा स्थापित गराउने तथा युवा र महिला उद्यमीहरूको सहभागिता र नेतृत्व विकासलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
भेलाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
पत्रकार सम्मेलनमा विभिन्न जिल्लाका फेन्सी व्यवसायी संघका पदाधिकारी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट