भरतपुर, २० जेठ ।
विश्व साइकल दिवसको अवसरमा पोलर स्टार सेकेन्डरी बोर्डिङ स्कुलले स्वस्थ जीवनशैली प्रवर्द्धन तथा साइकल प्रयोगको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले सचेतनामूलक साइकल र्याली आयोजना गरेको छ ।
विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न र्यालीले नियमित साइकल प्रयोगले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने सन्देश दिएको थियो ।

सहभागीहरूले विद्यालय परिसर तथा आसपासका क्षेत्रमा साइकल यात्रा गर्दै वातावरण संरक्षण, स्वास्थ्य प्रवर्द्धन र ट्राफिक सचेतनासम्बन्धी सन्देश प्रवाह गरेका थिए ।
र्यालीको उद्घाटन भरतपुर महानगरपालिका–८ का वडाध्यक्ष जीवनाथ कडेलले गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र अधिकारीको पनि उपस्थिति रहेको थियो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रा.डा. देवीप्रसाद कँडेलले यस्ता जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए । विद्यालयका प्रधानाध्यापक दयानिधि अर्यालले पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगसँगै शारीरिक गतिविधि घट्दै गएको उल्लेख गर्दै विद्यार्थीहरूलाई नियमित व्यायाम र स्वस्थ जीवनशैलीप्रति प्रेरित गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख बुद्धिसागर कँडेलले साइकल चलाउने बानीले शरीरलाई स्वस्थ राख्न सहयोग पुग्ने बताए । साथै, साइकलको प्रयोगले इन्धनको खपत घटाई वातावरण प्रदूषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरिएको थियो ।
उत्साहपूर्ण वातावरणमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले साइकल प्रयोगलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्ने सन्देश दिएका थिए । विश्वभर हरेक वर्ष जुन ३ मा मनाइने विश्व साइकल दिवसले साइकललाई सरल, भरपर्दो, किफायती तथा वातावरणमैत्री यातायातको साधनका रूपमा प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । यस अवसरमा आयोजित कार्यक्रमले स्वास्थ्य, वातावरण संरक्षण र दिगो जीवनशैलीबारे सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन् ।




