खैरहनी, २० जेठ ।
कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै खैरहनीस्थित डेजी स्कुल तथा सुनगाभा कलेजमा लागुऔषध दुर्व्यसन, साइबर अपराध र ट्राफिक सचेतनासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
इलाका प्रहरी कार्यालय खैरहनीको आयोजनामा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा विद्यालय परिसरमै आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई सम्भावित अपराध तथा दुर्घटनाबाट जोगिने उपायबारे जानकारी दिइएको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक सागर पन्तले लागुऔषध दुर्व्यसन र साइबर अपराधका विषयमा सहजीकरण गर्दै युवापुस्तामा बढ्दो दुर्व्यसनको अवस्था, त्यसका कानुनी तथा सामाजिक असर र साइबर अपराधबाट बच्ने उपायबारे जानकारी गराएका थिए । उनले प्रविधिको प्रयोगसँगै बढिरहेका साइबर जोखिमप्रति विद्यार्थीहरू सचेत हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले ट्राफिक नियमको पालना, सडक सुरक्षाको महत्त्व तथा किशोर अवस्थामै जथाभावी सवारी साधन चलाउँदा हुन सक्ने दुर्घटनाबारे प्रशिक्षण दिएका थिए । उनले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको ज्ञान र पालनालाई अनिवार्य बताए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले लागुऔषध, साइबर अपराध तथा ट्राफिक सुरक्षासम्बन्धी व्यवहारिक जानकारी प्राप्त गरेको विद्यालयले जनाएको छ ।
किशोरावस्थामा कुलत, साइबर दुरुपयोग तथा असावधानीका कारण विभिन्न जोखिममा पर्ने सम्भावना उच्च रहने भएकाले यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् । प्रहरी र शैक्षिक संस्थाबीचको सहकार्यमा सञ्चालन गरिएका यस्ता कार्यक्रमले विद्यार्थीहरूमा कानुनी, सामाजिक तथा नैतिक दायित्वप्रति जागरूकता बढाउने अपेक्षा गरिएको छ ।




