प्रमिता ढकाल/कायाकैरन
भरतपुर,५ असोज्।थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर २ को आयोजनामा जितिया उत्सव २०७५ गरिने भएको छ । भरतपुर महानगरपालिका–२८ मा रहेको पर्साढाप बगैँचामा यही असोज १५ गते जितिया उत्सव गर्न लागिएको शुक्रबार थारु कल्याणकारिणी सभा चितवनको सभाहलमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
थारु संस्कृति, भाषा, भेषभूषाको संरक्षण नै जितिया उत्सव २०७५ को मुख्य उद्देश्य रहेको मूल आयोजक समिति संयोजक विष्णुकुमारी चौधरीले बताइन् । जितिया उत्सवको उद्घाटन कृषि राज्यमन्त्री रामकुमारी चौधरीले गर्ने तय भएको उनले जानकारी दिइन् । “महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकलाई थारु कला, संस्कृतिबारे जानकारीका लागि थारु खानाका परिकार, हस्तकला, विभिन्न सांस्कृतिक कार्यक्रम राखिनेछन्”, उनले भनिन्, “थारु समुदायको अधिक बसोबास रहेको पश्चिम चितवन पर्साढापको प्रचारप्रसारका लागि पनि महोत्सव प्रभावकारी हुने अपेक्षा छ ।”
चितवनका भूमिपुत्र भनेर चिनिने थारु समुदायको पहिचान संरक्षण र सम्वद्र्धनका लागि कार्यक्रम प्रभावकारी हुने उनले बताइन् । महोत्सव सफल बनाउन ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । हरितालिका तीजपछिको महाअष्टमी तिथिमा पर्ने जितिया पर्वलाई थारु समुदायका महिलाको तीज पनि भन्ने गरिन्छ ।
जितिया पर्व ठाउँअनुसार केही फरक तरिकाले मनाइन्छ । चितवन र यस आसपासका जिल्लामा विवाहित र अविवाहित सबैले समानरुपमा ब्रत बस्दछन् । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीलाई ‘उपास’ र नवमीलाई ‘पारन” भनिन्छ । जितिया ब्रत दुई किसिमको हुन्छ– साधारण र खर जितिया । खर जितिया विवाहितहरुले कठोर ब्रत राखेर निराहार वस्ने गर्दछन् भने साधारण ब्रत वस्नेहरु ‘डट्खट’ वा दर खाने गर्दछन् । ‘खर जितिया’ ब्रतमा ‘डट्खट’ खाइदैन ।
दर खाएर जाग्राम बसिन्छ । भोलिपल्ट दिनभर बेलको रुखको चारैतिर ब्रतालुहरु ‘झमटा नृत्य’ र गीत प्रस्तुत गर्दछन् । जितिया पर्वमा ब्रत बस्दा सुन्ने सुनाइने कथालाई जितवाहनको कथा भनिन्छ । यसबारे थप प्रष्ट्याउँदै थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य एवं थारु संस्कृतिका ज्ञाता भजुमनराम महतोले भने, “यो कथा परापूर्वकालदेखि प्रत्येक वर्ष जितियामा ब्रत बस्ने महिलाहरुले अनिवार्य सुन्नैपर्ने हुन्छ । यो कथा नसुन्ने ब्रतालुहरुको ब्रत अपुरो भएको मानिन्छ ।”




