विप्लव काफ्ले/कायाकैरन
भरतपुर,६ असोज ।सर्पदंशको उपचारको खोजीमा धेरै अस्पताल भौतारिंदा ज्यान गुमाएका भरतपुर–१५ का ३ वर्षीय बालक सलिन विकको घटनामा भरतपुर अस्पताल मुख्य दोषी रहेको प्रतिवेदन सार्वजनिक भएको छ । १३ सदस्यीय छानविन एवं सुझाव समितिले सर्पको टोकाइको लक्षण देखिएपछिको जटिलताबारे कुनै निगरानी नगर्नु नै कमजोरी भएको जनाएको छ ।
बिरामीको अवस्थालाई प्रत्यक्ष जाँच नगरी टेलिफोनबाट अन्यत्र पीआईसीयू (बाल सघन उपचार कक्ष) भएका ठाउँमा पठाउन आदेश गर्ने बालरोग विशेषज्ञले जिम्मेवारी बहन नगरेको ठहर प्रतिवेदनले गरेको छ । गत भदौ २१ गते सर्पले डसेपछि उपचारका लागि ल्याइएका सलिनलाई पीआईसीयूका लागि अन्य निजी अस्पतालमा रिफर गरिएको थियो ।
सलिनलाई भरतपुर अस्पतालमा बिहान ३ बजेर ३९ मिनेटमा उपचारका लागि ल्याइएको थियो । तर, पीआईसीयू खोजी गर्दै कलेज अफ मेडिकल साइन्सेस, नारायणी सामुदायिक अस्पताल, निको चिल्ड्रेन अस्पताल, चितवन मेडिकल कलेजमा पीआईसीयू कक्ष खाली नभएको, सरकारी अस्पतालमै सर्पदंशको उपचार हुने भन्दै फर्काएपछि बिरामीलाई पुनः भरतपुर अस्पतालै पु¥याइएकोे थियो । त्यसपछि प्रतिविष (एन्टी स्नेक भेनम)औषधि दिदासमेत सुधार नभएपछि बालकको ४ बजेर ४३ मिनेटमा ज्यान गएको अस्पताको भनाइ छ । अस्पताल धाउँदाधाउँदै समय गुज्रिएपछि बेलैमा उपचार नहुँदा बालकको ज्यान गुमेको थियो ।
प्रतिविष औषधि उपचार तत्काल सुरु गर्नेपर्नेमा रिफर गरिनु नै कमजोरी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । भरतपुर अस्पतालको आकस्मिक टिकटमा देब्रे हातमा सर्पले टोककोे भनी उल्लेख गरिएपनि सर्पको टोकाइको लक्षण नदेखिएको भन्दै प्रतिविषको औषधि नभएका अस्पतालमा रिफर गरिएको थियो ।
शुक्रबार छानविन समितिले प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतलाई अध्ययन प्रतिवेदन बुझाएको छ । “विष लागेको ठहर गरेपछि तुरुन्तै उपचारमा जानु पर्दथ्यो”, समितिका संयोजक तथा जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य प्रशासक लक्ष्मी महतोले भने, “विषलाई ‘न्यूट्रलाइज’ गर्नुपर्दथ्यो, भुइँमै राखेर भएपनि एन्टी स्नेक भेनम दिन सकिन्थ्यो, तर त्यसो नभएको पाइयो ।” बेलैमा प्रतिविष दिएको भए बालकको ज्यान जोगिने सम्भावना हुने उनले बताए ।

“एएसभी दिएको भए बिरामीको नोक्सान हुँदैनथ्यो भन्न त सकिदैन”, उनले भने, “दिएको भए विषले मार्ने शक्ति घट्थ्यो, नोक्सान हुने वा नहुने कुरा त्यसपछि आउने थियो, तर यहाँ बेलैमा नदिदा नोक्सान भएको पाइयो ।” प्रतिवेदनमा भरतपुर अस्पतालको आकस्मिक कक्षको ड्युटीमा रहेका मेडिकल अधिकृत, अनकल विशेषज्ञ डाक्टर, स्टाफ नर्स र अहेवबाट पदीय जिम्मेवारी बहन नगरेको ठहर गरिएको छ । “जे देख्यौँ, सत्य तथ्य समेटेर प्रतिवेदन बनाएका छौँ”, उनले भने, “पीडितलाई सामाजिक न्याय होस्, राम्रो सेवाप्रवाह होस्, आवश्यक कारबाही कार्यान्वयन होस् ।” उनले बेलैमा प्रतिविष दिएर उपचार सुरु गरेपछि मात्र आवश्यक परे पीआईसीयूको खोजी गर्नुपर्नेमा सुरुमै पीआईसीयू खोज्न पठाउनु नै गलत भएको बताए ।
भदौ २१ गते राति २ बजेर ३० मिनेट जाँदा बालक रुदै ब्युँझेको, करेत सर्प विस्तारामै देखेको, मोटरसाईकलमा अस्पताल ल्याउँदा करिब १ घण्टा लागेको बिरामीका आफन्तले बयान दिएका थिए । आकस्मिक कक्षमा घटना विवरण सुनाएर तत्काल उपचार गर्न अनुरोध गरेपनि विषको लक्षण नदेखिएको तर सर्पदंश भएको चिकित्सकहरुले स्वीकार गरेका छन् । प्रतिवेदनकै अनुसार बालरोग विशेषज्ञ डा. उन्नत श्रेष्ठले डा. महेन्द्र पन्तको फोन संवादका भरमा पीआईसीयू भएका ठाउँमा पठाउन आदेश दिएका थिए । “यो घटनामा पदीय जिम्मेवारी बहन गरेको पाइएन”, प्रतिवेदन सार्वजनिक गर्दै महतोले भने, “हामीले ड्युटीमा खटिएकाले जिम्मेवारी बहन नगरेको उल्लेख गरेका छौँ, अस्पतालले प्रतिवेदनका आधारमा विभागीय कारबाही गर्छ भन्ने विश्वास लिएका छौँ ।”
अस्पताल धाउँदाधाउँदै समय व्यतित भएपछि उपचारमा ढिलाइ हुँदा तीन वर्षीय बालकको ज्यान गुमेको थियो । दोहो¥याएर भरतपुर अस्पताल फर्किदा प्रतिविष दिएको दावी अस्पतालले गरेपनि बिरामीका आफन्तले कुनैपनि औषधि नपाएको भनी अध्ययन टोलीलाई जानकारी गराएको प्रतिवेदनमा उल्लेख छ । “थुप्रै अस्पताल धाउँदा ज्यान गएपनि यो घटनामा भरतपुर अस्पताल नै मुख्य दोषी छ”, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले भने, “करेतले टोकेको करिब १ घण्टामै अस्पताल पुग्दा बिरामी बचाउन अस्पतालबाट कमिकमजोरी भएकै छ, तर, सम्बन्धित निजी अस्पतालहरुले पनि बिरामी रिफर गर्नु हुँदैन्थ्यो, त्यहीं नै विशेषज्ञ छ, औषधि छ, हामीले पठायौँ, उपचार राम्रो गर्नु भनेर ‘कोअर्डिनेसन’ भएको देखिएन ।”
उनले भरतपुर अस्पतालले प्रतिविष सुरु गरेर आईसीयू÷पीआईसीयू भएका ठाउँमा पठाउनुपर्ने कर्तव्यबाट च्यूत भएको बताए । “संलग्न सबै अस्पताल र ड्युटीमा रहेका सबैले व्यक्तिगत अर्थ संकलन गरेर पीडित पक्षलाई राहत दिनैपर्छ”, उनले भने, “भरतपुर अस्पतालले यसमा समन्वय गर्नुपर्छ, निजी अस्पतालका ड्युटीमा भएका स्टाफलाई पनि कारबाही गर्नैपर्छ, सरकारी अस्पतालका सम्बन्धित चिकित्सक, स्वास्थ्यकर्मीलाई विभागीय कारबाही छिट्टै हुन्छ ।”
छानविन समितिमा आमन्त्रित सदस्यका रुपमा रहेका सर्पदंश विषयका विद्यावारिधि देवप्रसाद पाण्डेले प्रतिवेदनले दोषीको स्तरीकरण गर्न नसकेको प्रतिक्रिया दिए । “प्रतिविष अनिवार्य हुने तहमा अस्पताल ल्याइएका बिरामीलाई प्रतिविष नभएका अस्पतालमा रिफर गर्नु चरम लापरबाही हो”, उनले भने, “प्रतिवेदनमा मानवीय त्रुटि वा लापरबाहीको कारण र दोषीलाई स्तरीकरण गर्न सकेको छैन ।” बिरामीलाई श्वासप्रश्वास सहज बनाउन अन्य अस्पतालमा रिफर गर्दा प्रतिविष औषधिविना नै रिफर गरिनु गम्भीर त्रुटि भएको उल्लेख नगरिनुमा आफ्नो विमति रहेको बताए । अस्पतालको चरम लापरबाही भनेर उल्लेख गर्न प्रतिवेदन चुकेको प्रतिक्रिया उनले दिए । छानबिन समितिले आगामी दिनमा अस्पतालमा हुने यस्ता घटना दोहोरिन नदिन ९ बुँदे सुझावसमेत दिएको छ ।




