महिनावारी बार्न बाध्य बनाउनेलाई कानूनी कारबाही गर्नुपर्छ ः राधा पौडेल

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तर्षिको पूजा गरी हिन्दू धर्मावलम्बी नारीहरूले मनाउँदैछन् । नेपाल सरकारले यसै वर्षदेखि लागू हुने गरी ऋषि पञ्चमीको विदा कटौती गरेको छ । महिनावारी हुँदाको छुवाछूतको पाप पखाल्ने नाममा ऋषि पञ्चमी पर्वले महिलालाई विभेद गरेकोले विदा कटौती हुँदा महिलाका सवालमा काम गर्नेहरुले यसको स्वागत पनि गरे । तर, पञ्चमी पूजा लगाउने महिलाहरु भने विदा लिएरै पूजा गर्नसमेत तयार देखिन्छन् । महिनावारीलाई विभेदमुक्त बनाउनुपर्ने आवाज उठाउँदै आएका अभियन्ता भने यसको पक्षमा छैनन् । यही विषयमा आधारित रहेर विगत बीस वर्षदेखि महिनावारीका विषयमा र एक दशकदेखि मर्यादित महिनावारीको विषयमा बोल्दै आएकी छन् अभियन्ता राधा पौडेल । उनले पोखरा नर्सिङ क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह, महाराजगञ्ज नर्सिङ क्याम्पसबाट नर्सिङ स्नातक (बीएन), सप्तगण्डकी बहुमुखी क्याम्पसबाट बीएड र त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट एमएड, त्रिचन्द्र कलेज काठमाडौंबाट समाजशास्त्रमा एमए र विकास व्यवस्थापन विषयमा फिलिपिन्सबाट स्नातकोत्तर सकेर हाल महिनावारीकै विषयमा पिएचडी गर्दै छिन् । उनीसँग ऋषिपञ्चमी र महिनावारीको विषयमा प्रमिता ढकालले गरेको कुराकानी ः

१. महिनावारी के हो ?
महिलालाई मानव जीवनमा छुट्टै परिचय दिने सशक्त माध्यम हो महिनावारी । यो एक प्राकृतिक प्रक्रिया हो । महिनावारी हुने महिला मात्र आमा बन्न तयार हुन्छिन् । स्वास्थ्य विज्ञानको सामान्य भाषामा भन्ने हो भने महिलाको पाठेघर तीन वटा पत्र मिलेर बनेको हुन्छ । जसमध्ये सबैभन्दा भित्री तह बच्चा बस्न सक्छ कि भनेर तयार अवस्थामा रहेको हुन्छ । पाठेघरको यो तह वा पत्रमा कलिलो, मुलायम रक्त संकलन भएर बच्चा आउने वातावरण कुरेर बसेको हुन्छ । तर, सबै समयमा त्यो लागू हुँदैन र बच्चा बस्न पाउदैन । त्यसपछि निश्चित समयमा त्यो पत्र फाट्छ वा भनौं च्यातिन्छ । त्योबेला महिलाको योनीबाट बगेर बाहिरिने रगत नै महिनावारीको रगत हो । त्यो रगत एकदम शुद्ध रगत हो । यो शरीरमा पाइने सामान्य रगतभन्दा बढी पानी मिसिएको हुन्छ । यदि महिलामा कुनै संक्रमण छैन, रोगबाट मुक्त छिन् भने बच्चा हुर्काउन तयारी अवस्थामा रहेको शुद्ध रगत हो ।
२. तर, महिनावारी हुँदा शरीरभित्रको अशुद्ध फोहोर रगत बग्छ भनिन्छ त ।
यो गलत हो । महिनावारीको बेला निस्कने रगत एकदम शुद्ध हुन्छ । महिलाको पाठेघरमा बच्चा बसेको खण्डमा नौ महिनासम्म बच्चालाई हुर्काउने सबै तत्व पाउने गरी तयार अवस्थामा रहेको रगत कसरी अशुद्ध हुन सक्छ ? केही महिलामा हर्मोनको घटबढको आधारमा यो तहमा रगत बाक्लो वा पातलो हुनसक्छ । बाक्लो भएकाहरुको महिनावारी हुँदा बढी रगत बग्छ भने पातलो पत्र भएकाको महिनावारीमा कम रगत बग्छ ।
३. यदि यो रगत शुद्ध हुन्छ भने महिनावारीको रगत दुर्गन्धित हुन्छ, यसले संक्रमण फैलाउँछ किन भनिन्छ त ?
वास्तवमा पाठेघरको भित्री तह च्यातिएर वा फुटेर बग्ने रगत निकै शुद्ध हुन्छ । महिलाको योनीभित्र हुँदासम्म यो दुर्गन्धरहित नै हुन्छ । तर, योनीबाट बाहिर बग्दै गर्दा जसै बाहिरी हावा (अक्सिजन)को सम्पर्कमा आउँछ, अनि दुर्गन्ध आउँछ र त्योसँगै लगाएका कपडामा मिसिन्छ । ती कपडा आफैंमा पनि संक्रमणमुक्त हुँदैनन् र त्यसमा दुर्गन्ध मिसिँदा संक्रमण हुन चाँहि सक्छ ।
४. त्यसो भए महिनावारी छुवाछूत बार्ने, अलग्गै वस्ने ठीक हो ?
पटक्कै होइन । मर्यादित महिनावारी र महिनावारीका बेला गरिने छुवाछूतको विभेद नितान्त फरक हो । महिनावारीका बेला गरिने छुवाछूत वा विभेद महिलामाथि हुने संस्कृतिको नाममा सामाजिक दमन हो । छुवाछूतको नाममा घरको कुनामा, गोठमा, छाउघरमा बसेर, सधैंभरि एउटै कपडा लगाउने, अरुले नदेख्नेबेला कपडा धुने नभए त्यो राखिराख्ने गर्दा संक्रमण कति हुनसक्छ अनुमान गर्नुहोस् त ? चितवनकै ग्रामीण पहाडी भेगहरुमा हेर्ने हो भने महिनावारी हुँदा तीन दिन किशोरीहरु विद्यालय जाँदैनन्, दूरदराज गाउँमा पोषणयुक्त खाना, दूध, दहीसमेत बार्नुपर्छ भन्ने चलन छ । यो पूर्णतया महिलामाथि हुने दमन हो ।
५.महिनावारी भएका बेला गरिएका छुवाछूत वा पाप कट्टीका लागि भनेर महिलाहरु ऋषि पञ्चमीको पूजा लगाउँछन्, यसबारे के भन्नुहुन्छ ?
मेरो बुझाइमा यो महिलामाथि गरिएको सामाजिक सांस्कृतिक दमनकै उपज हो । नेपालमा थुप्रै राजनीतिक परिवर्तन भए । तर, सांस्कृतिक, सामाजिक परिवर्तन हुन सकेका छैनन् । पहिला–पहिला महिला दिदीबहिनीहरु पञ्चमीकै नाममा सबै जम्मा भएर नदीमा स्नान गर्न जाने, धेरैबेर लगाएर नुहाइधुवाइ गरेर आउने गर्दा एक आपसमा कुरा गर्ने समयका रुपमा पनि प्रयोग हुन्थ्यो होला । तीजदेखि पञ्चमीसम्म मात्र स्वतन्त्र महसुस गर्दै दुःखसुखका कुरा गर्थे होला । त्यसैले यो पर्वका रुपमा विकास भयो । तर, अहिले समाजको डर, त्रास र लोकाचारका कारण पनि ऋषिपञ्चमीले प्रश्रय पाएको छ । वर्षभरि महिनावारी हुँदा घर परिवारमा, विशेषगरी पुरुष सदस्यसँग छोइछिटो भएमा, फलफुलका बिरुवा छोइएको भएमा माफ पाउँ र पापबाट मुक्त गरिदिनु भन्दै गरिने पञ्चमी पूजाको म विरोध गर्छु ।
६.ऋषि पञ्चमी पूजाको दिन नुहाउने विधि, दाँत माझ्न प्रयोग गरिने ३६५ दतिवनले कसरी महिलालाई विभेद गरेको छ ? यसले त स्वास्थ्यबारे सचेत गराएको होला नि !
(निकै लामो ठूलो हाँसो)…हो नुहाउनुपर्छ भन्नु, दतिवनजस्तो आर्युवेदिक बुट्यानले दाँत माझ्नुपर्छ भन्नु स्वास्थ्यका दृष्टिकोणले राम्रो हो । तर, यो त दैनिक हुनप¥यो नि होइन र ? वर्षमा एकपटक ३६५ दतिवन चपाएर कँही दात सफा हुन्छ ? महिनावारी हुँदाचाहिँ महिलाको स्वास्थ्यबारे वास्ता नै छैन । घाम पनि नछिर्ने कुनाको अँध्यारो कोठा, छाउघरमा राखेर ओढ्ने ओच्छयाउने सब फोहर घाम नलाग्ने ओसमा सुकाएर, पुराना फोहर कपडाको टालो प्रयोग गरेर बिगारेको शरीर, एक दिन नुहाएर अनि एक दिन दाँत माझेर स्वस्थ होला र ?
७.किशोरीहरुलाई पनि पहिलोपटक महिनावारी हुँदा पञ्चमी पूजा (घैंटो पूजा)लगाउनुपर्छ, खुसियाली हो भन्दै परिवारले पूजा गर्न लगाउँछन् । संस्कृति हो भन्दै नयाँ पुस्ता पनि रमाएको देखिन्छ, यसबारे के भन्नुहन्छ ?
यो उत्सव हुँदै होइन । यदि उत्सव मान्ने हो भने घरमा छोरी महिनावारी भएका बेला सँगै बसेर, सँगै खाएर रमाइलो गर्न सक्नु प¥यो नि । किशोरावस्थाको शारीरिक परिवर्तनले नै संकोच, डर, त्रास बढाएको बेला ऋषि पञ्चमीका दिन सबैको अगाडि राखेर, दिदीबहिनी र आमाले मात्र नभई टोलकै महिलाहरु, घैंटो पूजा गर्न लगाउने पूजारीले समेत शब्दका घोचपेच गर्दा आत्मविश्वास गिह्राउने काम भएको हुन्छ । यसले ती किशोरीलाई उत्साह होइन, मनमा उकुसमुकुस भने पक्कै बढाउँला ।
८. धर्मशास्त्रमै उल्लेख भएका कुरा कसरी नमान्ने भन्ने पनि त होला ?
हिन्दूले अति मान्य चार वेदमा यी कुरा लेखिएकै छैनन् । मैले आफै पनि वेद पढेका ज्ञाताहरुसँग कुरा गरेको छु । उँहाहरु नै भन्नुहुन्छ, “अरुले वेदका किताब छुन दिएनन् भने हामीसँग आएर सँगै पढ्नुहोला ।” हो एउटा गरुड पुराणमा लेखिएको छ । तर, त्यो कसले लेख्यो, त्यो पुस्तकमा कति वैज्ञानिक विषयवस्तु उठान गरिएको पुस्तक हो भनेर अध्ययन अनुसन्धान गर्नुपर्नेमा त्यसकै पछाडि समाज दौडिएको छ ।

९, धर्म र संस्कार आफ्नो छनौटका विषय हुन् । मान्नेलाई मान्न दिनुपर्छ यो त उनीहरुको अधिकारका कुरा हुन् होइन र ?
छनौटका अधिकारका कुरा केही न्यून संख्यामा रहेका अलि–अलि जाने बुझेका हौँ, पढेका हौं कानून पनि जानेका हौं भन्नेले न हो उठाउने । महिनावारीको विभेद समाजका प्रवुद्ध भनिनेदेखि गाउँघरका निम्न निमुखा वर्गका महिलालाई पनि लादिएको छ । महिनावारीको विषयमा अधिकारका कुरा त पर जाओस् यसबारे बोल्न पनि हुन्न भन्ने मान्यता भरिएको ठाँउमा उनीहरु कसरी बोल्न सक्छन् । उनीहरुले छनौटको अधिकार त के आफनो मौलिक हक र अधिकार पनि बुझेका हुँदैनन् । अधिकारकै कुरा गर्ने हो भने त नेपालको संविधानको प्रस्तावनामा नै महिनावारीमा विभेद गर्न नहुने उख्लेख छ । यस्तै नेपालको संविधानको मौलिक हकसम्बन्धी १० वटा धारामा प्रष्ट उल्लेख गरी महिनावारीमा विभेद गर्न नपाउने, यही विभेद गरिएको पाए, जबरजस्ती महिनावारी बार्न बाध्य बनाए कारबाही गर्ने पनि उल्लेख छ । महिनावारीको विभेदविरुद्धको अधिकार यही भदौ एक गतेबाटै लागू भएको हो । महिलालाई महिनावारी बार्न बाध्य बनाउनेलाई अब कानूनी कारबाही नै सम्भव भएको छ ।
१०, के यो नेपालको मात्र समस्या हो त ?
दुई वर्ष अघिसम्म यो विश्वकै समस्या थियो । नेपाल, साउथ एसियामात्रै नभएर एसिया, अफ्रिका मात्र नभई युरोपमा पनि महिनावारी बारेको इतिहास मैले अध्ययनको क्रममा विभिन्न जर्नलमा पढेको छु । तर, जब सन् १९३० मा मानव स्वास्थ्य विज्ञान फस्टायो, महिनावारीबारे एउटा पुस्तक पनि निस्कियो, त्यसपछि विस्तारै परिवर्तन आएको हो । अहिले युरोप, अमेरिका, अष्ट्रेलियाका केही कट्टरवादी परिवार, अफ्रिकाको यु्गाण्डा, नाइजेरियातिर गरीबी छ, कपडा फोहर हुन्छ भनेर कारण पनि छि–छि र दूरदूर गरेको भेटिन्छ । अति हिन्दूवादीहरुले यो महिनावारी बारेको पाइन्छ भने नेपालमाचाँहि देखासिकीकै कारण हिन्दू मात्र नभई अरु समुदायले पनि बारेको पाइन्छ । उस्तै परे पञ्चमी पूजा पनि लगाउन मिसिएको पाइन्छ ।
११. मर्यादित महिनावारीका विषयमा तपाईं लामो समयदेखि बोल्दै आउनुभएको छ । के हो मर्यादित महिनावारी भनेको ?
महिनावारीलाई अपव्याख्या गर्दै लगेर महिलालाई सृष्टिको दोस्रो दर्जाको रुपमा उभ्याइएको छ । नेपालमा सामाजिक विभेदले महिलालाई अरुसामू शीर निहुराउन बाध्य बनाइएको छ । महिनावारीको विभेदले देशमा दिगो विकासकै लक्ष्य पूरा गर्न नकारात्मक प्रभाव पारेको छ । त्यसैले यी सब समस्याबाट मुक्तिका लागि केही समयअघि मात्र मर्यादित महिनावारी नीति पनि बनेको छ । जुन नीती बनाउन म आफैं संलग्न थिएँ । मर्यादित महिनावारी नीतिले महिनावारीको सवाललाई मानवअधिकारको रुपमा स्थापित गर्दै शिक्षा र जनचेतनाको अभिवृद्धि गर्ने, महिनावारी सम्बन्धमा समाजमा देखिएको रुढीवादी, कूसंस्कार, कुरीति अन्धविश्वाससम्बन्धी धारणा र अभ्यासहरुलाई निरुत्साहित गर्दै निर्मूल गर्ने, महिनावारीको लागि आधारभूत सेवा र सुविधाको उपलब्धता तथा पहुँच बढाउने, महिनावारीसम्बद्ध तत्कालीन र दीर्घकालीन शारीरिक र मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरुलाई व्यवस्थापन गर्ने उद्देश्य लिइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट