भरतपुर,२९ भदौ ।धुर्मुस–सुन्तली फाउण्डेसनले बनाउने भनेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले जग्गा व्यवस्था गर्ने निर्णय गरेको छ । फाउण्डेसनको प्रस्तावअनुसार नै आवश्यक जग्गा दिने महानगरपालिकाले निर्णय गरेको हो ।
बिहीबार बसेको महानगरपालिका कार्यकारिणी बैठकले कृषि तथ वन विज्ञान विश्वविद्यालयको स्वामित्वमा रहेको २० बिघा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । भरतपुर महानगरकै स्वामित्वमा रहेको वडा नम्बर २० को जग्गा रंगशालाका लागि उपयुक्त नदेखिएको कारण त्यस जग्गा सट्टाभर्ना गर्ने र कृषि विश्वविद्यालयको जग्गा प्रयोग गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको मेयर रेनु दाहालले जानकारी गराएकी छन् ।

कृषि विश्वविद्यालयको २० विघा काटेर लिने र त्यसको सट्टा भीमदेवी आधारभूत विद्यालयसँगैको १५ विघा जग्गा दिने र बाँकी ५ विघा छिट्टै ठाउँ हरेर दिने दाहालले बताइन् । शुक्रबार बस्ने विश्वविद्यालयको सिनेट बैठकले आफूमातहतको जग्गा क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरलाई उपलब्ध गराउने निर्णय गर्ने अपेक्षा गरिएको छ । सिनेटले दिने निर्णय गरेर मात्रै नभई कृषि विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीच पनि जग्गा लेनदेनमा कुरो मिल्नुपर्ने हुन्छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परिसरमा रहेको जग्गामध्ये ४० बिघामा ईञ्जिनियरिङ कलेज सञ्चालन गर्दैछ । सँगै रहेको जग्गामा रंगशाला बन्न सक्छ । यो विषयमा कृषि विश्वविद्यालय पनि सकारात्मक छ । त्रिविलाई कृषि विश्वविद्यालयले दिनुपर्ने जग्गा ४० विघामध्ये रंगशालाले प्रयोग गर्ने जग्गा बराबरै सट्टाभर्ना अन्यत्र गर्ने योजना अहिले अघि बढाइएको हो । केहीअघि कृषि विश्वविद्यालयका उपकुलपति आईपी ढकालले चितवनमा रंगशाला निर्माण गर्दा यहाँको विकासमा ठूलो टेवा पुग्ने बताएका थिए ।
नेपालले क्रिकेटमा एकदिवसीय मान्यता पाएपछि नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त रंगशाला बनाउनुपर्ने आवाज जनस्तरबाट उठेको थियो । जनपक्षीय काम गरेर नाम कमाएको धुर्मुस–सुन्तली फाउण्डेसनले देशको कुनै ठाउँमा रंगशाला बनाई छाड्ने अठोट गरेको थियो । धुर्मुस–सुन्तली फाउण्डेसन कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेले स्थापना गरेको सामाजिक काम गर्ने संस्था हो । धुर्मुस र सुन्तली उनीहरुको चर्चित हास्य टेली श्रृंखला ‘मेरी बास्सै’ मा निर्वाह गर्ने पात्रको नाम हो ।
झण्डै रु. तीन अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बन्ने बताइएको छ । जसका लागि २५० मिटर चौडाइ र ५५० मिटर लम्बाइ भएको एउटै जग्गा आवश्यक पर्छ । महानगरका अन्य क्षेत्रमा रहेको सार्वजनिक जग्गा आवश्यक लम्बाइ चौडाइ मिल्ने गरी नभएपछि विश्वविद्यालयको जग्गालाई विकल्पको रुपमा अघि सारेको हो ।
हालसम्म धुर्मुस–सुन्तली फाउण्डेसन सर्वसाधारणको बस्ती निर्माण र पीडितलाई राहत वितरणमा केन्द्रित छ । नेपाली क्रिकेटले दिनानुदिन प्रगति गर्दै जाँदा उनीहरुमा देशको कुनै ठाउँमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्न जनस्तरबाट ठूलो दबाब सिर्जना भएको थियो । त्यसपछि फाउण्डेसनले सार्वजनिक अपिल गर्दै उपयुक्त जग्गा मिले आफूहरुले रंगशालाका लागि पहल गर्ने बताए । उनीहरुले त्यसका लागि सम्भावित जग्गा काठमाडौं, चितवन, रुपन्देही, हेटौंडालगायत ठाउँमा पाए । त्यसको अवलोकन पनि गरे ।
काठमाडौंमा उनीहरुले बढी रुचि देखाएको जग्गामा सहमति हुन सकेन । त्यसपछि काठमाडौंबाहिर पनि उनीहरुको चासो बढेको छ । उनीहरुले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २० मा रहेको जग्गा हेरेका थिए । तर, सो जग्गा पहिलेदेखि नै फुटबल रंगशालाका लागि काम भइरहेको जग्गा भएकोले क्रिकेटको काम हुन सक्दैन । अब भने कृषि विश्वविद्यालयको जग्गामा भनेजसो हुँदै गयो भने केही समयमै सम्झौता हुने दुवै पक्षको दावी छ । फाउण्डेसनले भरतपुर महानगरलाई रंगशाला बनाउनका लागि प्रस्तावपत्र पेश गरेको थियो । यसबीचमा फाउण्डेसनका तर्फबाट दक्ष प्राविधिकको टोली, फाउण्डसेनका अध्यक्ष सीताराम कट्टेल लगायतले अवलोकन गरी उपयुक्त रहेको ठहर गरेका थिए ।





