दुग्ध सहकारीलाई थप रकम कटौती

विप्लव काफ्ले,कायाकैरन
भरतपुर,२६ साउन ।

दूधमा पाइने अतिरिक्त रकम (टीएस) मा कटौती गरेपछि किसान आन्दोलित छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले आन्दोलनको तयारी गरेको छ । टीएसबाट आएको रकमलाई सहकारीले सञ्चालन खर्च कटाएर चाडबाडका बेला किसानलाई बोनस बाँड्ने गर्दथे ।
दुग्ध विकास संस्थान (डिडिसी)ले देशभरका दुग्ध उत्पादक सहकारीलाई दूध संकलन गरेवापत प्रतिलिटर दूध बराबर ३ रुपैयाँ अतिरिक्त रकम दिने गरेको थियो । यस्तै चितवनसहितका ६ वटा ‘दूध पकेट’ (बढी दूध उत्पादन हुने जिल्ला)मा थप ३ रुपैयाँ टीएस दिदै आएको थियो । डिडिसीले सहकारीलाई टीएस कटौती गरेर किसानलाई दानामा छुट दिने निर्णय गरेको छ ।
संघको हेटौंडामा शुक्रबार साँझ केन्द्रीय बैठक बस्दै छ । “हाम्रो अडानमा हामी चुक्ने छैनौँ”, वरिष्ठ उपाध्यक्ष अमरबहादुर कुँवरले भने, “दूध किन्ने निकायले तत्–तत् मूल्यमा किन्नैपर्छ, दूध दिदैनौँ भन्ने होइन ।” उनले सरकार स्वामित्वको संस्थानले मनलाग्दीरुपमा किसानले पाउँदै आएको अतिरिक्त रकम घटाउन नहुने बताए । “किसान व्यवसायी एकजुट भएर उभिनैपर्छ”, उनले भने, “३÷४ दिनको सशक्त शान्तिपूर्ण आन्दोलनको तयारीमा छौँ ।” भरतपुरमा शुक्रबार आयोजित चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले आयोजना गरेको ‘भावि आन्दोलन र रणनीति अवलम्बन’ कार्यक्रममा केन्द्रीय संघका पदाधिकारीको सहभागिता थियो । सो कार्यक्रममा डिडिसीको निर्णयको विरोधमा किसानका अगुवाले हातमा कालोपट्टी बाँधे । कार्यक्रममा कालो व्यानर पनि राखे ।


“डिडिसीले आफ्नो घोटला लुकाउन घाटा देखाएर किसानबाट पैसा थुत्दै छ”, केन्द्रीय उपाध्यक्ष रामेश्वर पोखरेलले भने, “कमिसनमा बिकेको छ । हाम्रा कुरा सुनवाइ भएनन् । आन्दोलनको स्वरुप बारे बैठकमा छलफल गर्दैछौँ ।” असार १६ गतेदेखि लागू हुने गरी डिडिसीले प्रतिलिटर दूधमा अतिरिक्त रकम (टिएस) ३ रुपैयाँ कटौती गरेको छ । यो निर्णयको विरुद्धमा पूर्वीचितवनका केही किसानले सडकमै दूध पोखे, केहीले बटुवालाई खिर ख्वाएर विरोध जनाए । पश्चिम चितवनका दुग्ध सहकारीले साउन २५ गतेदेखि दूधका ट्यांकरनै चल्न नदिने कार्यक्रमको घोषणा गरेका थिए ।
केन्द्रीय सदस्य भागिरथ तिमिल्सिनाले बढ्दो महँगीले लागत बढेकाले सोहीअनुसारको मूल्य कायम गरिनुपर्ने बताए । उनले घाँसपालनमा आधरित पशुपालनमा जोड दिन छाडेर दानामा छुट दिने लोभ देखाएर लागत बढाउन डिडिसी नै लागेको आरोप लगाए । कार्यक्रममा जिल्ला सहकारी संघ चितवनका सभापति टिकाराम भट्टराई, दुग्ध उत्पादक सहकारी चितवनका पूर्वअध्यक्ष शंकरराज राजभण्डारी र एकनारायण पौडेल, दुग्ध उत्पादक नगर समन्वय समिति राप्तीका डिल्लीप्रसाद थपलिया, खैरहनीका मुकुन्द दवाडी, रत्ननगरका शिवकान्त पौडेल, कालिकाका लक्ष्मी चौलागाई, जनकल्याण दुग्ध उत्पादक सहकारी भरतपुर–१७ का सूर्यहरि मरहठ्ठालगायतले सशक्त आन्दोलन गरिनुपर्ने सुझाएका थिए ।

अतिरिक्त रकम यथावत गर्न माग
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले दुग्ध सहकारीले पाउँदै आएको टिएस (अतिरिक्त रकम) साविककै कायम गरिनुपर्ने माग गरेको छ । संघका जिल्ला अध्यक्ष हरिहर सुवेदीले कटौती गरिएको सुविधा हटाउन माग गरे । “अतिरिक्त रकम हटाएर दानामा छुट दिने डिडिसीको निर्णयको विरोधमा छौँ”, उनले भने, “स्थानीय सहकारीले उत्पादन गरेको मूल्यको तुलनामा डिडिसीको दाना महंगो छ । विगतमा दिदै आएको अतिरिक्त रकम यथावतै गर्नुपर्छ ।”
उनले दूधको मूल्य बढाउनुपर्ने भन्ने माग अहिले नगरिएको उनको भनाई छ । चितवनमा १ सय ३८ वटा दुग्ध उत्पादक सहकारी छन् । दैनिक २ लाख ५० हजार लिटर दूध उत्पादन हुदै आएको छ । जसमध्ये १ लाख लिटर जिल्लामै र अरु बाहिरी जिल्लामा बिक्रि हुदै आएको छ । २ वर्ष अघि दिदै आएको ३ रुपैयाँ प्रतिलिटर अतिरिक्त रकम बढाएर ६ रुपैयाँ ९३ पैसा बनाएर डिडिसीले दूध संकलन गर्दै आएको थियो । जसमध्ये हाल ३ रुपैयाँ घटाइएको छ । “४ फ्याट र ८ एसएनफ हुदाको दूधको मूल्यमा ३ रुपैयाँ कमी हुने अवस्था सृजना गराइएको छ”, उनले भने, “अधिकाँस गाईको दूधमा यो भन्दा कम मात्रा पाइन्छ, जसले दूधको मूल्य अझै कम किसानले पाउने सम्भावना हुन्छ ।”
पाउडर दूध बिकाउन मूल्य घटाइयो
दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय अध्यक्ष नारायणप्रसाद सापकोटाले दूधको उत्पादन बढ्यो भनेर भ्रम फैलाएर पाउडर दूध घोल्न संस्थान लागेको आरोप लगाएका छन् । “लागत बढ्यो, अन्तराष्ट्रिय बजारमा बेच्न अनुदान दिनुप¥यो भनेर पाउडर दूध उत्पादक उद्योगले सरकारलाई भन्न सक्नुप¥यो”, उनले भने, “त्यही आधारमा दुग्ध विकास संस्थानले बहना बनाएर प्रतिलिटर दूधमा ३ रुपैयाँ घटाउने काम भयो, सबै किसानलाई मारमा पार्ने काम नगरौँ ।”
उनले ‘मिल्क होलिडे’ को बहानामा पाउडर घोलेर बजारमा लैजाने काम नगर्न चेतावनी दिए । उनले सरकारले दूध तथा दुग्धजन्य पदार्थ आयातमा रोक लगाएपनि पाउडर दूध बिकाउन दूधको मूल्य घटाउने काम भएको धारणा राखे । केन्द्रीय बरिष्ठ उपाध्यक्ष अमरबहादुर कुँवरले दुग्ध उत्पादक उद्योगको साँचो लिएर मन्त्रालय धाएपछि किसानले पाउदै आएको मूल्य घटाउने काम भएको दाबी गरे । “स्वेच्छिक रुपमा मूल्य घटाउन सक्ने संस्थानले स्वेच्छिक रुपमा बढाउन सक्नुपर्दथ्यो”, उनले भने, “माथिबाटै भएको आदेश हो भन्ने हाम्रो बुझाई हो ।” फागुन चैतमै आयातित पाउडर दूध आयात गरिएको उनको दावी छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट