विप्लव काफ्ले/कायाकैरन
भरतपुर, २४ असार ।
सवारी दुर्घटनाबाट नयाँ जीवन पाएका माडी–४ खैरहनीका अर्जुन भुषाल सामाजिक अभियानमा सक्रिय छन् । ३ वर्ष पहिले मोटरसाइकल दुर्घटनामा उनको देब्रे खुट्टामा गम्भीर चोट लाग्यो । झण्डै १ महिना अस्पतालमा बसे । ३ महिना बैशाखीको सहारा लिए ।
“दुर्घटनामा परेर बाँचेपछि समाजकै सेवामा लाग्ने सोच आयो”, उनले अनुभव सुनाउँदै भने, “यूवा समेटेर देशव्यापी अभियान चलाउने काममा लागेँ ।” विभिन्न जिल्लाबाट चितवन आएर बसेका यूवा समेटर २०७४ असार ३० गते पहिलो भेला गरे । सामथ्र्य नेपाल संस्था बन्यो । ३५ जिल्लामा यो संस्थाका शाखा छन् । ‘स्वच्छ, सफा, सुव्यवस्थित र समृद्ध नेपाल, सामाथ्र्यको अभियान’ नारा लिएर यूवालाई संगठित गर्न सक्रिय बने । “मननै सफा बने समाज सफा हुन्छ”, उनी भन्छन्, “हामी सरसफाई र उत्प्रेरणात्मक अभियान लिएर हिडेका छौँ ।”

सामथ्र्य नेपालको फेसबुक पेजमा झण्डै ३२ हजार जोडिएका छन् । चितवनमा १ सय जना यूवा यो अभियानमा सहभागि छन् । संस्थाको अध्यक्ष रहेका अर्जुन पढाईसँगै सामाजिक कार्यमा यूवा सहभागिता बढाउने काममा सक्रिय छन् । १० वर्ष पहिले गणतान्त्रिक रेडियो श्रोता क्लब गठन गरेर माडीमा सरसफाई अभियान, यूवा जागरणमा सहभागि उनी ४ वर्ष जागिरे समेत बने । उच्च शिक्षाका लागि विदेशिन लागेका उनी अन्ततः देशभित्रै रहेर चिनिन थालेका छन् । “आइएलटिएस गरेँ, नतिजा राम्रौ आयो, तर विदेश जान पछि मनले मानेन”, उनी भन्छन्, “स्वदेशमै युवा जागरण गर्नुपर्छ भनेरै लागेँ, आत्मसन्तुष्टी मिलेको छ ।” संस्था गठन गरेर सुरुमा १ महिना रातमा सडक सरसफाई अभियान चलाउँदा उनलाई धेरैले राम्रो मानेनन् । चौविसकोठी, बसपार्क क्षेत्र, गैडाकोट, कटहरचोक, लंकु लगायतका क्षेत्रमा यूवा समूह लिएर उनी सडक सरसफाईमा लागेका थिए । “सफाई गर्न उज्यालोनै कुर्नपर्छ भन्ने हुदैन भन्ने सन्देश दिन राती सरसफाई ग¥यौँ”, उनी भन्छन्, “धेरैले गाली गरे, गलत बाटोमा हिड्यो भने, तर हरेस खाएनौँ ।” सरसफाई गर्ने, समस्या परेकालाई सहयोग जुटाउने, सचेतनामुलक अभियानमा लाग्ने यूवाको समूहनै बनाए ।

सडक किनारमा फोहर पाल्ने डष्टविन
सरसफाई सचेतनाका लागि संस्थाले सडक किनारमा डष्टविन (फोहर जम्मा गर्ने बाल्टिन) राख्ने अभियान चलाएको छ । हालसम्म १ हजार १ सय बाल्टिन राखिएका छन् । चितवनको मुख्य सडक किनारमा मात्रै यो अभियान सिमित छैन । काठ्माण्डौको चन्द्रागिरी नगरमा समेत सरसफाई बाल्टिन राखिएका छन् । मेयर उपमेयर, जनप्रतिनिधिले यो अभियानलाई साथ दिएका छन् । ‘म फोहर गर्दिन’ सामूहिक प्रतिवद्धता गराउँदै समेत संस्था अघि बढेको छ । “सडक किनारमा राखिएका डष्टविन सन्देश दिन र संस्कार वदल्न राखेका हौँ”, उनले भने, “जथाभावी फोहर फाल्न हुदैन भनेर सबैले व्यवहारमा उतारुन भनेरै सडक छेउमा डष्टविन राखेका छौँ ।” चितवनमा २ हजार डष्टविन राख्ने लक्ष्य छ । विद्युतिय पोल, अस्पताल परिसर, सरकारी कार्यालयका परिसरमा ‘फोहर मलाई’ लेखिएका डष्टविन राखिएका छन् । यो काममा धेरै व्यक्ति तथा संस्थाले सघाएका छन् ।

१५ लाख बराबरको सहयोग
सप्तगण्डकी क्याम्पसमा व्यवस्थापन संकायमा स्नातक तह अध्ययनरत २२ वर्षिय अर्जुन सामाजिक सञ्जाल मार्फत समाजिक अभियानमा सहयोग जुटाउदै आएका छन् । “व्यक्ति भेटेर सहयोग मागेका छैनौँ, सामाजिक सञ्जालबाट गरिएको आग्रहमा सहयोग जुटेका छन्”, उनले भने, “एक वर्षको अवधिमा झण्डै १५ लाख बराबरको सहयोग संकलन गरि आवश्यक स्थान र व्यक्तिलाई सहयोग गरेका छौँ ।” क्यान्सर प्रभावित दार्चुलाका रोशनसिंह धामीको उपचारका लागि १ लाख, कैलालीको धनगढी अस्पतालमा उपचारत एक महिलालाई १० हजार, गत वर्ष बाढी प्रभावित माडीका ६० बोटे घरलाई १ लाख २० हजार बराबरको खाद्यान्न, कैलालीका ५० घरपरिवारलाई दशैको बेला खाद्यान्न सहयोग लागयतका सहयोग संस्थाले गरेको थियो । एक वर्षमा उपचारत ६ सय बिरामीलाई तत्काल रगत सहयोग गराउन समेत संस्था सफल बनेको छ ।
पढाउन १ करोडको लक्ष्य
विपन्न बालबालिकालाई विद्यालय पु¥याउन र भविष्यमा सीप विकासका कार्यक्रम गर्न ‘सामथ्र्य नेपाल फाउण्डेसन’ का लागि १ करोडको कोष स्थापना गरिदै छ । हरेक जिल्लाबाट १ बालिका र १ बालिकालाई पढाईमा सहयोग गर्न कोष स्थापना गर्न लागिएको छ । “डेढ महिनाको अवधिमा २ लाख सहयोग आएको छ”, उनले भने, “देशैभरी यूवा सहभागितामा विपन्न बालबालिकालाई पढाउने काम गर्दैछौँ ।”संस्थाले सहयोगका निम्ति गरेका अपिलमा उत्साहजनक सहभागिता रहदै आएको छ । “जन्मदिन, विवाह लगायतका विशेष दिनमा हुने फजुल खर्चलाई सामाजिक काममा लगाउन सामाथ्र्य नेपालले अभियानै चलाएको छ ।
देउसी भैलोको रकम डष्टविन र विद्यालयलाई
संस्कृति जगेर्नाका लागि यूवालाई एकिकृत गर्न उनी सधै अग्रसर बन्छन् । लोपहुदै गएको ‘देउसीभैलो’ मार्फत उनको अगुवाईमा सहयोग संकलन समेत भयो । ७० हजार रुपैयाँ बचत गरेर सो रकमलाई सामाजिक काममै लगाए । ३५ हजार रुपैयाँ बराबरको डष्टविन, लंकुको आधारभूत विद्यालयमा स्टेशनरी र झोला सहयोगमा २० हजार रुपैयाँ जुटाए । “देउसीभैलो पश्चात हामी झन एक्यवद्ध भएर सामाजिक काममा लाग्यौँ”, उनी भन्छन्, “यूवा परिवर्तनका खम्बा हुन् भनेर चिनाउन लागिप¥यौँ ।” उनी यूवा, महिला समूह, विद्यार्थीलाई ‘सरफाई अभियानका लागि उत्प्रेरणात्मक’ छलफल, अन्र्तक्रिया गर्दै आएका छन् ।





