विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२४ असार ।
अधिकाँस व्यवसायीले घर वा सटर भाडामा लिएर व्यवसाय चलाउँदै आएका छन् । घरधनी र घरबहालवालाबीच बेलाबखत जुहारीनै चल्ने गरेका छन् । घरधनीले आकस्मिक रुपमा व्यवसाय छाड्न गर्ने आदेश, अस्वभाविक भाडावृद्धि, घरकिनबेच जस्ता कामले व्यवसायीले निरन्तर व्यवसाय गर्न समस्या आउने गरेका छन् ।
तोकिएको समयमै भाडा नतिर्ने, सहमति विपरित अर्कोलाई महंगोमा पसल मूल्य राखेर बेच्ने जस्ता गतिविधिले घरधनी समेत समस्यामा पर्दै आएका छन् । जिल्लामा घरधनीको वकालत गर्ने छुट्टै संस्था नभएपनि घरबहालवालाको पक्षमा वकालत गर्ने मञ्च स्थापना भएको ८ वर्ष पुरा भएको छ । तर, समस्या जस्ताको त्यस्तै छ । “सहमति विपरित भाडा दोब्बर, तेब्बर बढाउने क्रम रोकिएको छैन”, नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनका महासचिव ख्याम पराजुलीले भने, “घरधनी र बहालमा बस्नेबीच सुमधुर सम्बन्ध विकास गर्न चूनौती कायमै छ ।” मञ्चका उपाध्यक्ष तथा विवाद समाधान उपसमितिका संयोजक दिपककुमार उप्रेतीले घरधनीको तुलनामा व्यवसायीबाट धेरै गुनासो आउने गरेको बताए । उनका अनुसार यो वर्ष व्यवसायीबाट २४ वटा र घरधनीबाट ७ वटा उजुरी मञ्चमा परेका थिए । १६ जना व्यवसायीका समस्या हल भएका छन् भने ४ जना घरधनीका समस्या समाधान भएका छन् । “लिखित सम्झौता नहुदा धेरै द्वन्द बढेको पाइएको छ”, उनले भने, “अनिवार्य रुपमा लिखित सम्झौता गरेर घरभाडामा लिने र दिने गरेमा समस्या हल हुनेछ ।” मञ्चमा २ वर्ष पहिले १ हजार १ सयले सदस्यता लिएपनि ५ सय जनाले मात्रै नविकरण गरेका छन् । “समस्यापरेपछि मात्रै सदस्यता लिने प्रचलन छ”, मञ्चकी अध्यक्ष पवित्रा जोशीले भनिन्, “सबै मञ्चमा आवद्ध बनेमा धेरै समस्या सहजै हल गर्न सहज हुनेछ ।” उनले घरबहाल कर व्यवसायीले तिर्नुपर्ने अवस्था कायमै रहनु दुखद भएको बताइन् । “घरबहाल कर घरधनीले तिर्ने व्यवस्था छ, तर व्यवसाय नविकरण वा आयकर तिर्दा व्यवसायीलेनै तिर्नुपर्ने अवस्था छ”, उनले भनिन्, “राज्य र व्यवसायी ठगिएको अवस्था छ । व्यवसायीले पनि खुलेर विरोध नगर्दा समस्या परेको छ ।”
उनले तिरेको घरबहाल कर रकम घरभाडा रकमबाट घटाउन व्यवसायीलाई सुझाएपनि पूर्णकार्यान्वयनमा आउन नसकेको बताइन् । उनी आँफै २ वर्ष यता घरधनीबाटै बहालकर तिराउँदै आएकी छिन् । मञ्चमा आवद्ध भएका केहीले यो अभ्यास गरेपनि धेरैले नगरेको उनको भनाई छ । व्यवसायीले न्यूनतम ५ हजारसम्म घरबहाल कर तिर्दै आएका छन् । “मञ्चमा आवद्ध हुन धेरै व्यवसायी खोज्दैनन्”, उनले भनिन्, “घरधनीको कसिङगर बन्ने डर धेरैलाई छ । तर, समस्या लुकाएर बस्ने गरेका छन् ।” केही घरधनीले वैदेशिक प्रयोजन वा ऋण लिने प्रयोजनका लागि घरबहाल कर आँफै तिरेपनि अधिकाँसले व्यवसायीलाई तिराउदै आएका छन् ।
घरबहाल दिने र लिनेलाई नियमन गर्ने संयन्त्र बलियो नहुदा विकृति मौलाउँदै गएको छ । मञ्चको अगुवाईमा कम्तिमा ५ वर्ष सम्झौता, प्रत्येक वर्ष बढ्ने गरी सम्झौतामा भएमा अधिकत्म ५ प्रतिशत र ५ वर्षसम्म १० प्रतिशत बढी भाडा बढाउन नहुने, महिना पुरा भएको एक हप्ताभित्र भाडा बुझाइसक्नुपर्ने जस्ता प्रावधानलाई कार्यान्वयनको प्रयास भएको छ । “व्यवसायीलाई हटाउनैपर्ने अवस्था आएका ३ महिने पहिला सूचना दिनुपर्छ”, मञ्चका बरिष्ठ उपाध्यक्ष हरिशर्मा पौडेलले भने, “विद्यार्थीलाई पढाई पुरा नहुनेबेलासम्म, कर्मचारीलाई कम्तिमा २ वर्ष हटाउन हुदैन । तर, सलामी पाउने वित्तिकै हटाउने प्रचलन छ । यो रोक्नुपर्छ ।” ‘सलामी’ भनेको अर्को पक्ष बढी रकम तिर्न राजी हुनुलाई संकेत गर्छ । “व्यवसाहीको हकहितको लागि मञ्च स्थापना भएको हो”, संस्थापक अध्यक्ष हेमराज पौडेलले भने, “स्वीकार्नै नसक्ने भाडा बढाउने, विस्थापित गर्ने नियतका गतिविधि रोक्न लागेका छौँ ।”
५ दिने कार्यक्रम सार्वजनिक
नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले आठौँ स्थापना दिवसको अवसरमा ५ दिन विविध कार्यक्रम गर्ने भएको छ । नारायणगढमा पत्रकार सम्मेलन गरी कार्यक्रम तालिका सार्वजनिक गरिएको छ । यही २५ गते माडी–३ बसन्तपुरमा गरिव विपन्न र असहाय विद्यार्थीका लागि स्कुल पोशाक, शैक्षिक सामाग्री वितरण गर्नेछ । यस्तै २६ गते देवघाटमा वृद्धवृद्धालाई व्ल्याङकेट, फलफुल तथा मिष्ठान्न वितरण गरिनेछ । २७ गते भरतपुर–३ नगरवन मार्गमा रहेको सडक बालबालिका पुर्नस्थापना केन्द्र ‘हाम्रो घर’ मा सहभोजको कार्यक्रम गरिनेछ । २८ गते शहिदचोकमा खुल्ला रक्तदान गरिनेछ ।

२९ गते सामाथ्र्य नेपालसँग सहकार्य गर्दै हङकङ बजार, मिलनरोड, जुनहल रोड, गंगोत्री बजार, गणेशबजार, शहिदचोक र लायन्सचोकमा डष्टविन राख्ने कार्यक्रम छ । यस्तै साँझ दीप प्रज्वलन गरिनेछ । यस्तै २९ गते समापन तथा सम्मान कार्यक्रम नारायणी नदी किनारका रहेको पञ्चकन्या पार्टी प्यालेसमा हुने कार्यक्रम संयोजक तथा कोषाध्यक्ष कृष्ण कँडेलले जानकारी दिए । नयाँ वर्षको शुभकामना कार्डसँगै १ सय ५० देखि २ सय प्रतिशतसम्म भाडा वृद्धिको सूचना घरधनिले दिएपछि २०६८ सालमा नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनको स्थापना भएको थियो । त्यो बेला मनपर्दी भाडावृद्धि र सलामी प्रथाको विरोधमा तीन दिन चितवन बन्द समेत भएको थियो । पत्रकार सम्मेलनमा संस्थापक अध्यक्ष हेमराज पौडेल, पूर्वअध्यक्ष दुर्गाप्रसाद गौतम, प्रभात ढुङ्गाना लगायतको सहभागिता थियो ।





