भरतपुर,२४ असार ।
मानव वेचविखन र लैगिंक हिसां विरुद्ध कार्यरत संस्था चेली नेपालले हिसां प्रभावित र उच्च जोखिममा रहेका ५७ जना छात्रालाई छात्रवृत्ति सहयोग रकम वितरण गरेको छ । शनिबार आयोजित कार्यक्रममा चेली नेपालले महानगर क्षेत्र भित्रका छात्राको लागि छात्रवृत्ति सहयोग गरेको हो । दोस्रो किस्ताको रुपमा सो सहयोग गरिएको हो ।
भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले छात्रवृत्ति हस्तान्तरण गरिन् । चेलि नेपाल ३ वर्षदेखि चितवनमा केन्द्रीय कार्यालय स्थापना गर्दै काम गर्दै आएको छ । सुरुका वर्षमा १० जना छात्रालाई छात्रवृत्ति वितरण गरिएको थियो । यसअघि कालिका नगरपालिका क्षेत्रमा संस्थाले छात्रवृत्ति सहयोग हस्तान्तरण गरको छ । संस्थाले ४ महिनाको अन्तरालमा सहयोग रकम हस्तान्तरण गर्नेगर्छ । सोही अवसरमा चेली नेपालको छात्रबृति सहयोग प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीमध्यबाट यस वर्षको एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल छात्रा अम्विका दाहाललाई सम्मान गरिएको छ ।

उपमेयर पार्वती शाहले मानव वेचबिखन विरुद्धको अभियानमा भरतपुर महानगरपालिकाले सहयोग गर्ने बताइन् । शिक्षा विकास तथा समन्वय इकाई चितवनका प्रमुख दिपेन्द्र सुवेदीले शैक्षिक क्षेत्रको विकास गर्न सामाजिक संघसंस्थाको समन्वय आवश्यक रहेको बताए । चेली नेपालका कार्यक्रम निर्देशक सुरेन्द्र चापागाईले संस्थाले भविष्यका दिनमा पनि शैक्षिक सहयोग कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य लिएको बताए । कार्यक्रममा आदर्श गृहका अध्यक्ष मिना खरेल, शरदपुर उच्च माविका प्रध्यानाध्यापक भोलानाथ सापकोटा, चेली नेपालका कार्यक्रम संयोजक युवराज विक, सिन्धु ढकाल तथा रोशनी सुनारले मन्तव्य राखे ।





