धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,२४ असार ।
पश्चिम चितवनको रामपुरमा ६ वर्षदेखी पठनपाठन अवरुद्ध भएको रामपुर कृषि क्याम्पसलाई पुर्नस्थापना गरिएको छ । रामपुरमा रहेको जग्गा र भौतिक संरचना कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई दिने सरकारको निर्णयपछि त्रिभुवन विश्वविद्यालयले कृषिको पढाई रोकेको थियो ।
यसबीचमा त्रिवि र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच विवाद भएको थियो । त्रिभुवन विश्वविद्यालयले चितवनकै खैरहनी नगरपालिकामा सो क्याम्पसको पुर्नस्थापना गरिएको हो । त्रिविले शनिबार एक औपचारीक कार्यक्रमको आयोजना गरि तत्कालका लागि खैरहनी माध्यमिक विद्यालयको नयाँ भवनबाट कृषि क्याम्पसको उद्घाटन गरेको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थ खनियाँको प्रमुख आतिथ्यतामा कृषि क्याम्पसको उद्घाटन गरिएको थियो ।

सो अवसरमा उपकुलपति खनियाँले चितवनमा पुन कृषि संकायको पढाई सुचारु भएकोमा खुसी व्यक्त गर्दै यसमा सहयोग गर्ने सवैलाई धन्यवाद दिए । उपकुलपति खनियाँ चितवन निवासी हुन् । विषेशत उपकुलपति खनियाँ र खैरहनीका मेयर लालमणी चौधरीको पहलमा यहाँ कृषि क्याम्पस आएको हो । सरकारले भने खैरहनी नगरपालिका ४ भुताहा स्थित कंकाली सामुदायिक वनको जग्गामा कृषि क्याम्पस संचालन गर्ने निर्णय गरेको छ । त्यहाँ भौतिक संरचना निर्माण नहुञ्जेल सम्म खैरहनी माविको नयाँ भवनबाट पढाई सुचारु गरिएको हो । भुताहामा त्रिविलाई कृषि संकाय पढाउन ३५४ विघा जग्गा दिने गरी सरकारले प्रक्रिया अगाडी बढाइसकेको छ ।
क्याम्पस उद्घाटनका अवसरमा खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले भुताहाबाट पढाई सुरु नहुञ्जेल क्याम्पसलाई पर्ने आवश्यक सहयोग गर्न तयार रहेको बताए । “कृषिको पकेट क्षेत्रमै आएर कृषि क्याम्पस खुल्नु खुसीको कुरा हो, यसले विद्यार्थीको कृषि पढ्ने चाहनालाई केही हदसम्म सहयोग पुग्छ”, मेयर चौधरीले भने, “तत्कालका लागि क्याम्पसलाई आवश्यक पर्ने सहयोग गर्न नगरपालिका तयार छ ।” स्वयम् मेयर चौधरी पनि रामपुरमै कृषि पढेका विद्यार्थी हुन् । पुनःस्र्थापना गरिएको रामपुर क्याम्पसका प्रमुख मिलन सुबेदीले खैरहनी माविले उपलव्ध गराएको भवनबाट सोमबार (भोलि) देखी पढाइ सुरु हुने छ । उनका अनुसार सुरुमा ५० जना विद्यार्थीबाट पढाई हने छ । त्रिविका कृषि संकायका डिन प्राडा केशव अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका सभापति कृष्ण कुमार डल्लाकोटी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता जगन्नाथ थपलिया, नेपाली कांँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ लगायतले खैरहनीमा कृषि क्याम्पस पुनःस्थापना गरेकोमा खुशी व्यक्त गर्दै डिनको कार्यालय समेत राख्नका लागि आवश्यक जग्गा उपलव्ध गराउने प्रतिवद्धता जनाए ।





