असार १६/
जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सनसन बस्ने घोषणा गरेका डाक्टर गोविन्द केसीलाई स्थानीय प्रशासनले अनसन बस्न प्रतिबन्ध लगाइएको छ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय जुम्लाले विज्ञप्ति निकालेर प्रशासन कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई सय मिटर वरपर कुनै पनि प्रकारको अनसन, आन्दोलन तथा विरोध प्रदर्शन गर्न नपाइने जनाएको हो।
चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर ल्याउन खोजिएको भन्दै डा. केसी अनसनका लागि शुक्रबार राति जुम्ला सदरमुकाम पुगेपछि स्थानीय प्रशासनले अनसन बस्न नपाउने क्षेत्र निर्धारण गरेको हो।
जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल विज्ञप्ती निकालेर अनसन बस्न प्रतिवन्ध लगाएका हुन्। डाक्टर केसी भाइ इश्वर केसीसँगै प्रतिष्ठानमा अनसन बस्ने तयारीका साथ जुम्ला पुगेका छन्।
डाक्टर केसीले सरकारले चिकित्सा विधेयक तोडमोड गरेर ल्याउन लागेपछि सरकारलाई ध्यानआकर्षण गर्न तथा निर्णायक आन्दोलनको रुपमा १५ औँ अनसनको घोषणा गरेको बताएका छन्।
उनले सरकारी निषेधाज्ञाको अबज्ञा गर्दै अनसन बस्ने घोषणा गरेका छन्। यो केसीको १५ औँ अनसन हो।





