सडकमा फेरि यस्तै देख्न नपरोस्

मनिषा अधिकारी

अनुभूति

कलेजबाट घर फर्कदै थिएँ । सधैं हिड्दै आएकै बाटो नै हो । दिनमा जाँदा–आउँदा त्यो बाटो हरेक दिन क्रस हुन्छ । वर्षौंदेखि उस्तै भिडभाड देख्छु । केही हदसम्म कमचाहिँ भएकै छ । नभए केही महिनाअघिसम्म फलफुल पसल, ठेलाका व्यापारको लावालस्कर ज्यादै कम छन् । त्यसमाथि गाडी म्याजिक टेम्पो टुकटुकेको ठेलमठेल । अहिले धेरै हदसम्म व्यवस्थापन भएकोमा खुसी लाग्छ ।

अरुबेला त घण्टौंसम्म गाडीभित्र बसेर कुर्दा केही लाग्थेन । तर, यो गर्मीका बेला आधा घण्टा मात्रै रोकिएको गाडीभित्र बस्दा निथु्रक्क परिन्छ । उफ ! पसिनाले रुमाल नि निथ्रुक्कै पारिदिन्छ । लगभग यो दैनिकीजस्तै हो मेरो । वर्षौंदेखि दिनहुुँ हिँड्ने बाटो मेरो । कलेजबाट हतारहतारमै आउँछु । खाना खाएर फेरि अफिस टाइम पनि भेट्नुपर्छ । दायाँबायाँ खासै नजर लगाउँदिन । सधैं आफ्नै धुनमा हुन्छु । तर, अलि फरक महसुस भयो शुक्रबार । हुन त मन नै बेचैन भएर पनि होला । वरिपरिको दृश्यले अलि प्रभावित बनायो । बाटोभरि सोच्दै आएँ । केही कुरा लेख्ने इच्छा हुँदाहुँदै पनि खासै लेख्दिन । तर, मनमा एकोहोरो खड्किरह्यो भने फेरि लेखुँ कि भन्ने विचार आउँछ ।
शुक्रबारको दिन मेरा लागि निकै सम्झनलायक बन्यो । मनभरि कुरा खेलिरहे । दृश्यहरु मनमा आइरह्यो । पाँच बजे छुट्टी भइसकेपछि पनि एक जना अफिसकै साथीलाई बस्न अनुरोध गरेँ । घर ढिला जाम काम छ भन्दै । अनि अनि दुई वटा फोटोकपी पेपर निकालेर स्टिच ठोकेँ अनि लेख्न थाले सर्सर्ती ।
करिब १० बजेको हुँदो हो । चर्को घाम, ३९ डिग्रीको घाम । बाहिर निस्किनै कठिनजस्तो । अझ बजारतिर भिडमा त कुरै नगरौँ । खल्खल्ती पसिना निकाल्ने गर्मी, कलेजबाट चौबिसकोठीसम्म म्याजिकमा आएपछि ओर्लिएर छाता उघारिहालँे । अनि अर्को चेञ्ज गर्न बाटो पर घरतर्फ लाग्ने बाटोमा गएँ । बाटो पार गर्दैगर्दा एउटी अधबैंसे महिला देखँे । अलिकति पर पुगिसकेको थिएँ । उहाँको हात मतिर तेर्सिएको थियो । पैसा देऊ भन्दै इशारा गरेजस्तो । दुई चार कदम अघि बढेपनि खै अघि बढ्न मनले मानेन । मेरो पाइला फेरि पछाडि फर्किए । ब्यागबाट दशको नोट दिएँ । हेर्दा अति नै टीठलाग्दो अनुहार ! अरुबेला देख्दा खासै नियालेको थिइनँ । खासै ध्यान नदिई हिँड्थे म । आज मनले त्यसो गर्न दिएन । दुब्लो शरीर मायालाग्दो अनुहार । उमेर अन्दाज गर्न मुस्किल प¥यो मलाई । स्थिति त्यस्तो थियो । मुडुलो टाउको मलाई त पुरुष हो की जस्तो पनि लागेको । टाउकोमा बाँधिएको थोत्रो गम्छा । स्थिति यति दर्दनाक थियो कि ! केही बोल्न मन लागिरहेको थियो तर उचित ठानिनँ । भिडले मलाई बोल्ने आँट दिएन ।
यसो त चौबिसकोठीमा दिनहुुँ २÷४ जना माग्न आउने भेटिन्छन् । व्यवस्थापन हुन नसकिरहेको अवस्था हो । तपाईंले यो लेख पढ्दै हुनुहुन्छ, तपार्इं त्यो बाटो हुँदै जाँदा यी प्रतिनिधिमूलक पात्र भेटेकै हुनुहोला । दिमागमा यतिबेला तस्विर कल्पना गर्नुभएको होला । व्यस्त चोक चौबिसकोठी नजिकै गीतानगर जाने बस पकेट क्षेत्रतिर पेट पाल्न माग्नेहरु बेलाबखत देखिन्छन् । चर्को घाममा अझ भनौँ तातो पीच रोडमा पनि उनीहरु भौंतारिरहेका देखिन्छन् । अलि पर हेरेँ, जहाँ गाडी, म्याजिक तथा टुकटुकेको घुइँचो थियो । त्यहाँ चौतारीको छायाँले मलाई तान्न खोज्यो । शितल थियो । त्यो शितलतामा ती व्यक्तिलाई लान पाए उनको मन कति खुसी हुँदो हो । मनले मलाई प्रश्न ग¥यो । मेरा पाइला तिनै टीठलाग्दा व्यक्तितिर फर्किन लागे । ‘साह्रै गर्मी छ, शितलमा जाऊँ, हिड्नुस, पु¥याइदिन्छु’ भनेँ । मेरो एकोहोरो आग्रह खेर गयो । कुनै प्रतिक्रिया आएन । म आँफै अलमलमा परेँ । मैले आग्रह गरेपनि उहाँका आँखा ठ्याक्कै विपरीत थिए ।
मान्छेको आवतजावत खुब नियालिरहेको झैँ लाग्थ्यो । म फेरि डिस्टर्ब गर्दै थिएँ । फेरि दोहोराएर अनुरोध गरेँ, उहाँले बेवास्ता गर्दै हुनुहुन्थ्यो । सुन्न नखोजे जस्तो लाग्यो । घडी हेरेँ । ढिलो होला जस्तो भयो । अझै नजिक पुगेरै छुँदै उठाउने प्रयास जारी राखेँ । ‘हिड्नुस् त्यहाँ शितलमा लगिदन्छु, त्यहाँ बस्नु है’ भनेँ । तर, डरलाग्दो गरी मलाई हेर्नुभयो । नछोइदिए हुन्थ्यो जस्तो भाव देखेँ । खै के आयो दिमागमा, आँखामा डर छर्लङ्ग थियो । तर, फेरि प्रयास गर्न सकिनँ । नजिकै उभिएका पुलिस अंकल मुस्कुराइरहेका थिए । जाने आउने मान्छेको क्रम उस्तै थियो । मलाई असजिलो महसुस भयो । मेरो प्रयासलाई खिल्ली उडाएजस्तो लाग्यो । भैगो भनेर आफ्नो बाटो लागेँ । खै फेरि प्रयास गरेको भए के हुन्थ्यो थाहा भएन ।
हतार–हतार गर्दै म्याजिक चढेँ । झ्यालतिरको सिटमा बसेँ । कोल्टे फेरेर हेरेँ । उहाँ मसँग नबोलेपनि अरुलाई इशारा गर्दै पैसा माग्दै गरेको देखेँ । सोचेँ, बोल्न नसक्ने भएरै मसँग बोल्नुभएन कि जस्तो लाग्यो । कुनै प्रतिक्रिया नदिदा कान पनि नसुन्ने हुनुहँुदोरहेछ कि जस्तो लाग्न थाल्यो । त्यो इशारा भोकै छु भन्ने पो थियो कि ! मनमा कुरा खेल्न थाले । टीठलाग्दो र ख्याउटे शरीर आँखाभरि घुमेका छन् । सोच्दै थिएँ, म नारायणगढदेखि चौबिसकोठीसम्म अझ भित्रभित्र गल्लीमा, मुख्य चोकचोकमा उहाँजस्तै थुप्रै प्रतिनिधि पात्रहरु सहजै भेटिन्छन् । उहाँजस्ता व्यक्ति जो अपाङ्ग छन्, असहाय छन्, त्यस्ता व्यक्तिलाई सडकदेखि मानव सेवा आश्रमजस्तो ठाउँमा व्यवस्थापन गर्न पाए राम्रो हुने थियो । यस्ता काममा राज्यलाई कुरेर हुँदैन । मानवीय संवेदनशीलताले छुन सकोस् ।
हामी पाँच दश रुपैयाँ दिएर बेवास्ता गर्छौँ । म आफै पनि खुजुरा दिएर उम्कने गर्छु । केही सबल हुँदा हुँदैपनि गरीबीले गर्दा सडकमा मागेर जीवन बिताउने पनि होलान् । जो शारीरिक र मानसिकरुपमा कमजोर छन्, असहाय छन्, तिनीहरुलाई व्यवस्थापन गर्नुपर्छ । एकले अर्कोलाई सहयोग गर्दैमा कोही असहाय र सडकमा रुमाल्लिएकाहरुलाई उठाउँदैमा र मानवता देखाउँदैमा खिल्ली उडाउन पनि बन्द गरौं । सोच परिवर्तन गरौं ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट