विप्लव काफ्ले/कायाकैरन
भरतपुर,३ असार्।जिल्ला प्रहरी कार्यालय चितवनले अपराध नियन्त्रणका लागि जनतासँग मिलेर काम गर्ने अभियान सुरु गरेको छ । ‘टोल–टोलमा प्रहरी’ कार्यक्रमका लागि चितवनमा ३ सय ४५ जना प्रहरी प्रत्येक टोल–टोलमा खटिनेछन् ।
भरतपुर महानगरपालिका (२९ वडा) को प्रत्येक वडामा ५ जनासहित कूल १ सय ४५ जना, रत्ननगर (१६ वडा), खैरहनी (१३ वडा), राप्ती (१३), कालिका (११) र माडी नगरपालिका (९ वडा) मा प्रत्येक वडामा ३ जनाका दरले कुल १ सय ८६ जना र इच्छाकामना गाउँपालिकाको ७ वडामा प्रत्येक वडामा २ जना खटिने गरी १४ जना परिचालन भएका छन् ।

“कुनैपनि अपराधिक घटना हुनै नदिन टोल टोलमा प्रहरी अभियान चलाइएको हो”, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरले भने, “प्रहरी सेवाबारे सुझाव गुनासा पनि संकलन हुनेछन् । शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्न पनि सहयोग पुग्नेछ ।” टोल–टोलबाट शान्ति सुरक्षा कायम गर्न आवश्यक सूचना संकलन हुनेछन् ।” नागरिकसँग सहकार्य गरेर सबै टोलमा शान्ति सुरक्षा कायम गर्ने सवालमा जनचेतनामूलक कार्यक्रम गरिने बताए ।
“स्थानीय टोल, संस्था, क्लब, सामुदायिक प्रहरी सित मिलेर काम गर्न वर्षभरि नै यो अभियान चल्नेछ”, उनले भने, “शान्ति सुरक्षा खलल पु¥याउने तत्व टोल–टोलका पहिचान हुनेछन् । लगत्तै अपराधिक गतिविधि गर्नेलाई कानूनी दायरामा ल्याइने छ ।” समुदाय र प्रहरीबीचको बलियो साझेदारी बनाउँदै अपराध रोक्ने र पत्ता लगाउन अभियानका रुपमा कार्यक्रम सुरु गरिएको बताए । “सुरक्षा सरोकारका पर्चा पम्लेट वितरण गर्ने, सूचित गर्न प्रहरीले स्थानीयसँगै सहकार्य गरेर घरदैलो गर्नेछ”, उनले भने, “यो अभियानले स्थानीयलाई जागरुक बनाउनेछ ।
अपराधिक गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सूचना मिल्ने छ ।” उनले जिल्लामा ठगिधन्दा, चन्दा असुली, यौनधन्दा, लागूऔषध कारोबारी, चोरी, सवारी दुर्घटना, बलात्कार लगायतका घटना बढी देखिएको बताए । “गुण्डागर्दीले सर्वसाधरण त्रसिद छन्, व्यवसायी चिन्तित छन्”, उनले भने, “चन्दा आतंक पनि छ भन्ने सुनिन्छ, तर उजुरी कम पर्छन् । स्थानीय जागरुक बनेर गोप्य सूचना दिएमा शान्ती सुरक्षा कायम गर्न थप मद्धत पुग्छ ।”
चितवनमा ७ सय दरबन्दी रहेपनि काजसहित हाल ६ सय ६४ जना प्रहरी कार्यरत छन् । साना ठुला प्रहरी इकाई ६४ वटा र अधिकांस ठाउँमा प्रहरी बिट छन् । “यो अभियानमा नजिकैका प्रहरी इकाइ र बीटले समन्वय गर्नेछन्”, उनले भने, “जनतालाई जागरुक र सचेत बनाउनुनै मुख्य उद्येश्य हो ।” टोलटोलमा प्रहरी लैजानुपर्ने मान्यताअनुसार गृह प्रशासन सुधार मार्गचित्र २०७४ अनुसार २०७४ असोज ६ गतेको निर्णय भएको थियो । वर्तमान गृहमन्त्रीले गृहप्रशासन सुधार कार्ययोजनामा समेत टोल टोलमा प्रहरी अभियानबारे उल्लेख थियो ।
चौबाटो र खुल्ला चौरमा विश्वकप हेर्न निषेध
जिल्ला प्रहरी कार्यालय चितवनले जारी विश्वकप फुटबल प्रतियोगिता चौबाटो र खुल्ला चौरमा समूहमा बसेर नहेर्न अनुरोध गरेको छ । घरभित्र, होटल भित्र बसेर समूहगत रुपमा हेर्न भने कुनै निषेध नगरिएको जनाएको छ । “चौबाटो र खुल्ला चौरमा बसेर हेर्न निषेध गरेका छौँ”, उनले भने, “अटेर गरेमा कारवाही हुनेछ ।” उनले कुनै देशको समर्थनमा वा विरोधमा ¥याली, जुलुस निकाल्न प्रतिवन्ध लगाइएको बताए ।
आर्थिक प्रलोभन देखाउने जेल
व्यावसायिकरुपमा जुवा खेलाउने काममा सहयोग गर्न प्रस्ताव लिएर जिल्ला प्रहरी कार्यालय चितवन पुगेका एक व्यक्ति जेल परेका छन् । उनले प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरलाई ‘मासिक एक पेटी दिन्छु, जुवा तास खेलाउन सहयोग गर्नुप¥यो’ भन्दै उनकै कार्यकक्षमा प्रस्ताव लिएर पुगेका थिए । राठौरले ती व्यक्तिलाई तत्काल कुनै प्रतिक्रिया नदिएपछि पोल खुल्दै आएका थिए ।
“एसपी राठौरलाई आर्थिक प्रलोभनमा पार्ने भन्दै तत्काल कारबाही प्रक्रिया थाल्यौँ”, प्रहरी उपरीक्षक राठौरले भने, “सार्वजनिक मुद्धा चलाइएको छ । ‘पावर’ देखाउँदै व्यवसाय चलाउने अनुमति लिएका थिए । रोकियो ।” पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१ गणेशस्थान बस्ने वर्ष ४० का बोधबहादुर पौडेल रहेका छन् । प्रहरी उपरीक्षक राठौरले व्यावसायिकरुपमा जुवा तास खेलाउने अन्यको पनि खोजी भइरहेको बताए ।





